मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साहित्य

‘महिला जति सहनशील भयो त्यति राम्रो हुन्छ भन्ने भाष्य निर्माण गरिएको छ’

काठमाडौँ– नेपाली महिला साहित्यमा कथा, कविता र समालोचना विधा लेखनमा डा. विन्दु शर्माको नाम अग्रपङ्तिमा आउँछ । लेखन मार्फत नै महिला उत्पीडन र विभेदविरुद्ध आवाज उठाउने उनले साहित्यकार पारिजातको विचार धारालाई आत्मसात गर्दै आएकी छिन् ।

पारिजातको ३१ औं स्मृति दिवसको अवसरमा राजधानीको राष्ट्रिय सभागृहमा महिला लेखकका पुस्तक प्रदर्शनीमा राखिएको छ । यसै सन्दर्भमा साहित्यमा महिला लेखन, हालको अवस्था र अब अगाडि बढ्नुपर्ने विषयमा आधारित रहेर साहित्यकार तथा समालोचक डा. शर्मासँग जोय नेपालका लागि सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:

महिलाहरु लेखनमा किन आउनुपर्छ ?

सबैभन्दा पहिला त महिलाहरु लेखनमा आफ्नो अनुभूति व्यक्त गर्न आउनुपर्छ । महिला माथि हुने उत्पीडन, उनीहरूले गर्नुपरेका संघर्षलाई पुरुषको आँखाले हेरेर मात्र पुग्दैन । अर्को मुख्य कुरा लेखन पठन भनेको चेतना अभिवृद्धिको महत्वपूर्ण पाटो हो । यो मानव विकासको महत्वपूर्ण अंग पनि हो ।

मानव विकासलाई अगाडि बढाउन महिलाहरुले पुरुष सरह कदममा कदम मिलाउन आवश्यक छ । त्यसैले लेखनमा महिला, पुरुष, दलित, जनजाति जो छन् नागरिकहरु सबैका अनुभवहरु, सबैका भोगाइहरु र दृष्टिकोणहरु साहित्यमार्फत आउनुपर्छ । सबैजना लेखनमा आउनुपर्छ भन्दा पनि सबैका अनुभूतिहरु आउनुपर्छ भन्ने मुख्य अभिप्राय हो ।

पछिल्लो महिला लेखनको अवस्थालाई कसरी नियालिरहनु भएको छ ?

अहिले हेर्दा महिला लेखन सन्तोषजनक नै छ । सामाजिक, राजनीतिक, मनोवैज्ञानिक सबै मुद्दाहरु लेखनमा उठाइएका छन् । यसमा बहुआयामिक मुद्दाहरु आएका छन् । राजनीतिक लेखनमा पनि निकै सङ्घर्ष गरेर आएका महिलाहरु, त्यसैगरी सैद्धान्तिक र दार्शनिक लेखनमा पनि महिलाहरु उदाइरहेको अवस्था छ । पछिल्लो ६० को दशकपछि महिला लेखनलाई हेर्दा महिला र पुरुषको साक्षरता दरमा तुलानात्मक रुपमा हेर्दा महिला लेखन धेरै अगाडि आएको छ ।

गुणात्मक र संख्यात्मक दुवै रुपमा महिला लेखन उत्साहजनक रुपमा आएको छ । अझै पनि यसले फड्को मार्न सक्ने सम्भावना देखिएको छ । वर्षमा उत्कृष्ट दश कृति छनोट गर्दा झण्डै पाँच कृतिहरु महिलाका पर्छन् । पुरुषको तुलनामा लेखनमा महिला कम देखिए पनि गुणात्मक कृतिहरुमा महिला अगाडि छन् ।

महिलाका विषय केन्द्रित भएर लेख्ने साहित्यमा स्थापित पुरुष लेखक पनि हुनुहुन्छ । यसलाई समालोचक र लेखकको नाताले तपाईँले कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?

यो पनि नकारात्मक लेखन होइन । तर त्यति हुँदाहुँदै पनि कतिपय कुरा कहाँ–कहाँ चुक्दो रहेछ । माछाको पीडा पानीमै पौडिने जातलाई मात्र थाहा हुन्छ । बाहिरबाट हेरर अरुले त्यो पीडा अभिव्यक्त गर्न सक्दैन । त्यसैगरी सबैको जीवन्त अनुभूति लेख्न सम्बन्धित समुदाय, वर्ग, जात र लिङ्गले मात्र सक्छ ।

महिलाको मात्र होइन पुरुषको भोगाइलाई पनि महिलाहरुले जीवन्त लेख्न सक्दैनन् । पुरुषका भोगाइहरु आफ्नो ठाउँमा छन् । उनीहरु पनि पितृसत्तात्मक संरचनाबाट पीडित छन् । तर, उनीहरुको पीडालाई पनि महिलाले भन्दा पुरुषले लेख्दा त्यसमा जीवन्तता भेटिन्छ ।

तपाईँ आफै कथा, कविता तथा समालोचना लेखन क्षेत्रमा सक्रिय हुनुहुन्छ । लेखनमा भावनाहरु पोखिँदाको अनुभूति कस्तो हुने रहेछ ?

मेरो अनुभूति र केही मुद्दामा लेखिरहेको महिलाहरुलाई हेर्दा मलाई लाग्छ, हामी यहाँ रहरले आएको जस्तो मलाई लाग्दैन । रहर र एकदमै रोमान्टिक मुडमा आएर मैले अहिलेसम्म साहित्य लेखेको छैन । जब समसामयिक घटनाहरु र सामाजिक वेथितिहरु हुन्छन्, त्यसले बोल्नै पर्ने बाध्यता बनाउँछ । यसले उकुसमुकुस हुन्छ । एक्लै कहाँ चिच्याएर बोल्ने ? आफ्नो असन्तुष्टिलाई, सत्ता, समाज, संस्कार, राजनीतिक प्रणाली, देशका हरेक संरचनाप्रतिको असन्तुष्टि, विभेद त्यसलाई अलिकति विम्बात्मक ढंगले अभिव्यक्त माध्यम साहित्यकारहरुले बनाएका छन् । यसले गर्दा यस्ता लेखनहरु झनै आउनुपर्छ । किनभने यो समाज विकासको एउटा आधार हो ।  

सीमान्तकृत वर्गका पीडाहरु त्यही समुदायबाट जीवन्त रुपमा अक्षरमा ल्याउन त कठिन नै छ नि होइन ?

पहिला लेखन लोक साहित्यमा आउँथ्यो । लोक साहित्यमा आउँदा महिलाहरुले आफ्ने पीडा अभिव्यक्त गर्थे । अहिले पनि हाम्रा बुढी आमाहरु आफ्ना गीतहरु आफै बनाएर गाउनुहुन्छ । उहाँहरु साक्षर नभए पनि लोक साहित्यको परम्परा मौखिक रुपमा थियो । त्यसले पीडै बोकेको हुन्थ्यो ।

अहिले जसरी हामी सामाजिक उथलपुथलबाट कसलाई भनुँ, कहाँ पोखुँ भएर साहित्य लेखिरहेका हुन्छौं । त्यसको वेथितिको आलोचना गरेर त्यससँग संघर्ष गरेर समाप्त गर्नुपर्छ भन्ने अहिले जुन लेखन छ, त्यो त पहिला पनि लोक साहित्यमा आएको हो नि । उहाँहरुको त्यो मौखिक रुपमा थियो ।

अब यही परम्परामा लिखित रुपमा आउँदा त न्यूनतम रुपमा पनि त्यो वर्गका महिलाहरु हात जोड्ने, श्रम गर्नेबाट माथि उठ्नुभयो । आफू र आफ्नो बच्चालाई चोखोमिठो खुवाउने, विद्यालय पढ्न पठाउने अवस्थापछि मात्र लेखन पठनमा आउनु हुने हो । यसको आधार भयो भने उहाँहरु लेखनमा आउनुहुन्छ । जो आउनुभएको छ, यहाँहरु अत्यधिक असन्तुष्टि र नबोली नहुने अवस्था भएपछि आउनुभएको छ ।

हामीले विश्व साहित्यमा हेर्ने हो भने श्रमिक वर्गबाट साहित्यकार अत्यन्तै न्यून छन् । श्रम गर्नेहरुलाई किताब किन्न र पढ्न कठिन हुन्छ । उहाँहरुको पीडा गीतमा हुन्छ । किनभने श्रम गर्दै गीत सुन्न सकिन्छ । त्यसपछि उहाँहरुले आफ्नै लोकभाका बनाएर प्रस्तुत गर्नुहुन्छ । त्यसकारण यी सबैको अभिलेखीकरण गर्नका लागि महिला लेखन अथवा सीमान्तकृत लेखनहरु आवश्यक छ ।

अब यी प्रदर्शनहरुले चाहिँ कस्ता लेखन आएका छन्, कसरी आएका छन् भनेर समीक्षा गर्ने भएका महिलाका किताबहरु पाठक माझ पुर्‍याइदिन सहायता गर्छ ।

तपाईँकै लेखन अनुभवलाई आधार मानेर हेर्नुहुन्छ भने लेखन क्षेत्रले महिला सशक्तिकरण अर्थात् महिलाको आत्मबल बढाउन कस्तो भूमिकामा खेल्न सक्छ ?

लेखनले महिलालाई अत्यधिक साहस दिन्छ । हामीले पारिजातलाई नै हेर्दा उहाँकै स्कुलिङबाट पम्फा भुषाल, हिसिला यमी जस्ता धेरै महिला राजनीतिकर्मीहरु, शान्ति राईहरु आउनुभएको छ । हाम्रा समाजमा कस्ता पात्र छन्, महिलाहरु कसरी संघर्षसँग जुधिरहेका छन् भन्ने कुराहरु पारिजात जस्ता स्रष्टाले ल्याउनुभयो र चेतना अभिवृद्धि भयो ।

हामीमा गौरा प्रसाईको संस्मरण, उमा भुजेलको गोर्खा जेल ब्रेक गरेको, सिता बिकको जनयुद्धको संस्मरण पढ्दाखेरी भावविभोरसँगै साहस आउँछ । त्यो बेला त्यो वर्गका महिलाहरुले लडिदिनुभएको थियो र अहिले हामी महिला पुस्तक प्रदर्शनी स्थितिसम्म आइपुगेका छौं । मञ्चहरुमा हामी आफ्नो स्वर ठूलो गरेर बोल्न सक्ने भएका छौं ।

हामीलाई यिनै लेखनले नै साहस दिएको हो । राजनीतिक चेनता दिने काम हामीलाई साहित्यले गर्‍यो । हामी एकैचोटी सिद्धान्तका कुरा पढेर राजनीतिमा आउने होइन । पाठकलाई नजानिँदो पाराले साहित्यका रचना, गीत सुनाएर बोधै नगरीकन चेतनशील बनाउने विधा साहित्य हो ।

यसले मनोञ्जन दिँदै चेतना र आफ्नो हक अधिकारप्रति सचेत बनाउँछ । यो काम योगमाया, पारिजातदेखि अहिलेसम्म भइरहकै छ ।

लेखनमा आउन चाहने नयाँ महिला लेखकहरुले अब कस्तो बाटो बनाउनुपर्ला ?   

नयाँ आउने महिला लेखकहरुले अहिले जिम्मेवार भएर लेख्नुपर्छ । कतिपय लेखनहरुले पुरानै पितृसत्तात्मक भाष्यलाई परिभाषित गरेका छन् । अहिले पनि कतिपय लेखकहरुले आदर्श बुहारी, छोरी, आज्ञाकारी पत्नी भनेर लेखिरहनुभएको छ ।

महिला जति सहनशील भयो त्यति राम्रो हुन्छ भन्ने भाष्य निर्माण गरिएको छ । पुरुषको प्रताडनालाई सहने महिला चाहिँ महान हो र त्यो सहेर महिलाले जोगाउनुपर्छ भन्ने लेखन पनि महिला लेखकहरुबाट आइरहेका छन् । यो चाहिँ दूर्भाग्यपूर्ण हो । लक्ष्मीप्रसाद देवकोटा, भिमनिधि तिवारी, माधवप्रसाद घिमिरे, गुरुप्रसाद मैनाली जस्ता अग्रज लेखकहरुले त्यो खालले महिलाहरुलाई उभ्याइदिनुभयो । बालकृष्ण समको मुकुन्द इन्दिरामा ‘पतिभक्त त मर्दैन पापी पति भएपनि’ भनेर अहिले पनि विश्वविद्यालयको नाटकमा पढाइरहेका छौं ।

जतिसुकै पापी, अत्याचारी र निरङ्कुश भएपनि त्यो पतिको चाहिँ पत्नीले सेवा गरिरहनुपर्छ भन्ने खालको सन्देश जसरी पितृसत्तात्मक लेखन इतिहासले स्थापित गरेको छ, महिला लेखन पनि त्यही हौवामा लागेर लेखनलाई प्रोत्साहन गरिरहेको अवस्था छ ।

त्यसबाट चाहिँ मुक्त हुन सक्नुपर्छ । महिलाले आफ्ना कुरा, आफ्ना कथाव्यथा, आफ्ना वर्ग र जातका कुरा लेख्ने हो । हामीले आफूलाई समृद्ध बनाउन लेख्ने हो । हामी समृद्ध भयौं भने हाम्रो राष्ट्र समृद्ध हुने हो । हामी नै भएनौं भने के को राष्ट्र, के को सभ्यता र के को संस्कृति ? संस्कृति धान्नलाई महिला बलिदान हुनुपर्छ भने त्यो संस्कृति चाहिँदैन ।

त्यो खालको संस्कृति जोगाउन लेखिरहनुपर्दैन । नयाँ संस्कृति, मौलिक समाजशास्त्र धान्न हामी अग्रसर हुनुपर्छ । यसैमा योगमायादेखि पारिजातहरु अग्रसर हुनुभयो । महिलाहरुलाई यसैमा अग्रसर हुन अनुरोध गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?