मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

गर्भ रहन नदिने निलोकन ह्वाइट चक्की कति सुरक्षित छ?

काठमाडौँ– सन्तानको योजना नबनाएका दम्पतीलाई अनिच्छित गर्भ रहने भयले उनीहरुको यौन जीवन नै खल्लो बनाइदिन्छ । यद्यपि अहिले त्यस्ता थुप्रै सुविधा छन्, जसले अनिच्छित गर्भ रहनबाट जोगाउँछ ।

यसमा पनि धेरै प्रचलितमा गर्भनिरोधक चक्की छन् । बजारमा गर्भनिरोधका विभिन्न औषधि र साधनहरु पाइन्छन् । कुन साधन आफ्ना लागि उपयुक्त हुन्छ भनेर निर्णय गर्ने कुरा दम्पत्तिको हो ।

गर्भनिरोधक औषधि तथा अन्य साधनहरु प्रयोग गर्दा स्वास्थ्यमा असर पर्ने पछि सन्तान नहुने समस्या हुने कुरा हामीले सुनिरहेका हुन्छौं । यसकारण गर्भनिरोधकको सरल, सहज र उत्तम विकल्पको रुपमा कुन औषधि प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा भेनस हस्पिटलमा कार्यरत गाइनोकोलोजिस्ट डा. अनुपमा सुवाल गुरुङसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश:

गर्भनिरोधक निलोकन ह्वाइट चक्की कस्तो चक्की हो ?

गर्भनिरोधक साधनमध्ये यो चक्की सरल, सहज, सुपथ र प्रभावकारी छ । यो चक्कीको सेवनले प्रजनन स्वास्थ्य र महिनावारीमा असर पर्दैन । साइड इफेक्टहरु अन्य गर्भनिरोधक औषधि र साधनहरुको तुलनामा निकै कम हुन्छ । यो औषधिमा आइरन चक्की पनि समावेश गरीएको हुन्छ । यो नवविवाहित जोडी जसले तत्काल सन्तानको योजना बनाएका छैनन, उनीहरूको लागि सबैभन्दा प्रभावकारी गर्भनिरोधक उपाय हो । किनकि यो चक्की सेवन गर्न छोड्ने बित्तिकै गर्भ रहन्छ । यस्तो चक्की सही समयमा नियमित सेवन गर्दा यसले शतप्रतिशत गर्भ रोक्छ । यो ९९ प्रतिशत प्रभावकारी हुन्छ ।

यसको सेवन गर्ने विधि र तालिकाको बारेमा प्रष्ट बनाइदिनुहोस् न ?

महिनावारी भएको दोस्रो दिनबाट नै यो चक्कीको सेवन शुरु गर्‍यो भने काम गर्न थालिहाल्छ । लगातार २१ दिन यो चक्कीको सेवन गर्नुपर्छ । सात दिनका लागि सोही औषधिमा आइरन चक्की समावेश भएको हुन्छ । तर आइरन चक्की भने अनिवार्य खानैपर्छ भन्ने छैन । सेवन गर्दा राम्रो हो । कतिपयले मनलाग्दी रुपमा महिनावारी भएको पाँचौँ, दशौं, पन्ध्रौं दिनबाट पनि यसको प्रयोग गर्नुहुन्छ । यसो गर्दा चक्कीले राम्ररी काम गदैन र गर्भ रहने सम्भावना हुन्छ ।

यो चक्की कुनै दिन सेवन गर्न बिर्सियो भने के हुन्छ ?

दैनिक सेवन गर्नुपर्ने यो चक्की सकेसम्म छुटाउनु हुँदैन । महिनावारीको पहिलो या दोस्रो दिनबाट औषधि सेवन गरेको छ र पहिलो हप्तामा कुनै दिन औषधि छुट्यो भने अर्को दिन दुईवटा चक्की सेवन गर्दा हुन्छ । पहिलो हप्तामा नै दुईवटा चक्की छुट्यो भने दुई दिन दुई–दुईवटा चक्की सेवन गर्नुपर्छ ।

तेस्रो हप्तामा दुई दिनभन्दा बढी औषधि छुट्यो भने औषधिसँगै अन्य गर्भनिरोधक उपाय पनि अपनाउनुपर्छ । लगातार सात चक्की छुट्यो भने औषधि सेवन नै बन्द गरेर फेरि अन्य उपाय अपनाउनुपर्छ । अर्को पटक महिनावारीपछि पुनः खान थाल्नुपर्छ । यसकारण औषधि नियमित सेवन गरिएन भने गर्भ रहन सक्छ ।

कस्ता व्यक्तिले यसको सेवन गर्नुहुँदैन?

टाउको दुख्ने, छातीमा मासु पलाएको, मोटोपन, उच्च रक्तचाप, मधुमेह, हाइपो कोलेस्टेरोल, मुटुको समस्या र ३५ वर्षभन्दा माथिका महिलालाई यो औषधि सेवन नगर्ने सल्लाह दिइन्छ । क्यान्सरको जोखिम भएकाले भन जाँच गरेर मात्र यस्तो चक्कीको सेवन गर्नुपर्छ ।

स्वास्थ्य सामान्य अवस्थामा भएका महिलाले पनि यसको सेवन अघि चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ । कुनै–कुनै एन्टिबायोटिकको सेवन गरिरहेको बेलामा पनि यो चक्की खान मिल्दैन । आफू खुसी यो औषधि सेवन गर्ने अनि केही साइड इफेक्ट देखियो भने सेवन गर्न छाडेर गर्भ रह्यो भन्ने समस्या लिएर धेरै अस्पताल आउने गरेका छन् ।

कस्ता दम्पतिहरुलाई यो चक्कीको सेवन गर्न सुझाव दिनुहुन्छ ?

नवविवाहित दम्पति जो छोटो समयका लागि सन्तान जन्माउने योजना बनाइरहेका छैनन, उनीहरुका लागि यो निकै सहज र सरल विधि हुनसक्छ । लामो समय सन्तानको योजनामा हुनुहुन्न भने अन्य विधिहरु पनि छन् ।

यस्ता औषधिहरुको सेवन गर्दा प्रजनन स्वास्थ्यमा असर गर्छ, अथवा अन्य साइड इफेक्ट पनि हुन्छ भनिन्छ । यसमा कतिको सत्यता छ ?

अन्य औषधिहरुको तुलनामा यो औषधिले निकै कम साइड इफेक्ट गर्छ । प्रजनन स्वास्थ्यमा असर पर्छ भन्ने कुरा गलत र भ्रम हो । यसले सामान्य टाउको दुख्ने, बान्ता आउला जस्तो हुने हुन्छ ।  यो हर्मोनल चक्की भएकोले पाठेघरको लेयरमा काम गर्ने हो । महिनावारीको बीचमा पनि रगत जाने, मोटोपन, लगायत साइड इफेक्ट हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?