मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

दिनमा कति पटकसम्म पिसाब लाग्नु सामान्य हो ?

एक निरोगी मानिसलाई दिनमा सातदेखि आठपटक पिसाब लाग्नु सामान्य मानिन्छ । तर कतिपयलाई भने छिनछिनमै पिसाब लाग्ने समस्याले सताउने गरेको पाइन्छ । कसैको छिनछिनमा शौचालय जाने बानी नै हुन्छ र कतिपयको भने बाध्यता हुन्छ । कसैकसैलाई सामान्यभन्दा बढी नै पिसाब लागिरहेको हुन्छ । घरमै बसिराख्दा पनि आधा–आधा घण्टामा अथवा पन्ध्र–पन्ध्र मिनेटमा शौचालय छिर्नैपर्ने हुन्छ ।

पानी बढी भएको होला भनेर कम पानी खान थाल्दा पनि पिसाब लागिरहन्छ । यसकारण आज हामी पटक–पटक पिसाब लागिरहने समस्या किन हुन्छ ? यसका जटिलताहरु कस्ता हुन्छन् ? उपचार विधि के–कस्तो छ भन्ने सन्दर्भमा युरोलोजिस्ट डा. विभूषित महतसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

बारम्बार पिसाब लाग्ने समस्या के–कारणले हुन्छ ?

पहिलो त तपाईँलाई युरिन इन्फेक्सन (सङ्क्रमण) छ भने बारम्बार पिसाब लाग्ने समस्या हुन्छ । अर्को भनेको मान्छेको डाइट कोल्ड ड्रिङ्क्स, कफी, अल्कोहल, चिल्लो पिरो खानाको सेवनले पनि हुन्छ । यसैगरी अर्को कारण भनेको अन्य रोगहरु कारणले पत्थरी, ट्युमरको कारण हुन्छ । कसैकसैको जन्मजात अथवा अन्य कारणले बिरामीको पिसाब थैली नै खुम्चिएको हुन्छ ।

यस्तो हुँदा पनि बारम्बार पिसाब लाग्ने गर्छ । पटक–पटक पिसाब आउनुको कारण मुत्रनली वा मुत्राशयको संक्रमण हुनसक्छ । त्यस्तै, मृगौलाको कार्यक्षमता कमजोर भएको अवस्थामा पनि पिसाब रोकिँदैन र पटक–पटक आइरहन्छ । मधुमेहको कारण पनि पटक–पटक पिसाब लाग्छ । रगतमा वा शरीरमा सुगरको मात्रा बढेपछि यस्तो समस्या आउन सक्छ । यदि युरिनरी ट्रयाक्ट इन्फेक्सन छ भने यस्तो समस्या झेल्नुपर्छ । प्रोस्टेट ग्रन्थि बढेमा पनि पटक–पटक पिसाब आउने समस्या हुन्छ । मृगौलामा संक्रमण भएमा पनि धेरै पटक पिसाब आउँछ ।

दिनमा कति पटक पिसाब लाग्नु सामान्य हो ?

दिनमा छ–सात पटक पिसाब आउनु सामान्य हो । तर रातको हकमा भने एकैपटक पिसाब आउनु पनि असामान्य हो । पाँच/छ दिनमा एक रात एकपटक पिसाब फेर्न उठ्नु सामान्य हो तर हरेक राति उही समस्या दोहोरिन्छ भने तुरुन्त चिकित्सकीय परामर्श लिन आवश्यक छ ।

कस्तो अवस्थामा चिकित्सकको परामर्श लिनुपर्छ ?

तपाईँ आफैलाई असहज महसूस भइरहेको छ अथवा छिनछिनमा पिसाब फेर्न गइरहनुपर्छ । पिसाब लागेका बेला च्यापेर बस्न सकिएन, राति निन्द्राबाट उठेर पिसाब फेर्न जानुपर्‍यो, पिसाब फेर्दा फ्लोमा आएन अड्की–अड्की आयो, पिसाब फेर्दा पोल्यो र दुखाइ भयो भने अस्पताल जान जरुरी हुन्छ ।

यसको रोकथाम र उपचार के–कस्तो छ ?

रोकथाम महिला र पुरुषमा अलि फरक हुन सक्छ । रोकथाम भनेको जतिसक्दो धेरै पानीको सेवन गर्नुपर्छ र पर्याप्त पानी पिउनुपर्छ । जसले संक्रमण छ भने पिसाबको माध्यमबाट हटाउन सकिन्छ । फोहोर, अस्वस्थ ठाउँमा पिसाब फेर्न हुँदैन । सामान्यतया हामीले तीनदेखि चार लिटर पानी खानुपर्छ । हामीले साँढे दुईदेखि तीन लिटर पिसाब फेर्नुपर्छ । यो भन्दा कम हुन्छ भने अझ बढी पानी खानुपर्‍यो । समयमै उपचार गर्न जानु अर्को रोकथामको उपाय हो । दही, पालक, तिल, मेथीको सब्जी दिनहुँ प्रयोग गरौं । अंगुरको जुस, गाजर, अंकुरित गेडागुडी पनि फाइदाजनक हुनसक्छ ।

बारम्बार पिसाब आउने समस्याले के–कस्ता जटिलता निम्त्याउन सक्छ ?

यदि पिसाब गरेको समयमा जलन वा दुखाइ महसूस हुन्छ भने यो चिन्ताको विषय हो । यदि सामान्य अवस्थामा पनि पटक–पटक पिसाब लाग्छ भने त्यो समस्या हो । यसरी पटक–पटक पिसाब लाग्नु गम्भीर समस्या पनि हुनसक्छ । यसले पत्थरी, मृगौला रोग आदि निम्त्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?