मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

‘सास गन्हाउने समस्या सामान्य नहुन पनि सक्छ’

मानिसलाई सुन्दर देखाउन दाँतको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । सेतो र चम्किलो दाँत सबैले रुचाउँछन् ।

कतिपय मानिस भने जति ख्याल गरे पनि सास गन्हाउने समस्याबाट ग्रसित हुन्छन् । जसले गर्दा दाँत देखाउन पनि उनीहरूलाई समस्या हुन्छ । कतिपयलाई सास गन्हाउने समस्या लज्जाको विषय नै बन्छ । तर, किन सासमा दुर्गन्ध आएको छ भन्नेमा उनीहरू जानकार हुँदैनन् । यो समस्याले व्यक्तिको आत्मविश्वास समेत घटाइदिन्छ ।

कतिपयले यो समस्याबाट छुटकारा पाउन माउथ फ्रेसरको समेत प्रयोग गर्ने गरेको पाइन्छ । अझ कतिले त औषधि सेवन नै गर्ने गर्छन् । तर, त्यसरी औषधि सेवन गर्दा सास गन्हाउने समस्या दीर्घ रुपमा हट्दैन ।

सास गन्हाउने समस्या के कारणले हुन्छ ? यस्तो समस्याबाट कसरी उन्मुक्क्ति पाउने सकिन्छ ? लगायतका विषयमा केन्द्रित भएर दन्तरोग विशेषज्ञ डा.सुवास घिमिरेसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

सास गन्हाउने समस्या के कारणले हुन्छ ?

सामान्यतया मुखभित्र फोहोर जम्मा भयो भने सास गन्हाउने समस्या हुन्छ । फोहोर भनेको हामीले दाँत र मुखलाई बिहान बेलुका राम्रोसँग सफा गर्न सकेनौं भने ब्याक्टेरियाहरुले एउटा प्लक जम्मा गर्छ । त्यो प्लक जम्मा भयो भने ब्याक्टेरियाले सल्फर कम्पाउन्ड जम्मा गर्छ र यसैले गर्दा सास गन्हाउने समस्या हुन्छ ।

प्लक भनेको ब्याक्टेरियाहरु रहेको स्थान हो । जहाँ दन्ते लेउ जम्मा हुन्छ । अर्को भनेको पेट, मृगौला, फोक्सोको रोग र डायबेटिज अन्कन्ट्रोल छ भने पनि यस्तो समस्या हुन्छ । मुख धेरै गन्हाउने छ भने क्यान्सर समेत भएको हुनसक्छ यसकारण ध्यान दिनुपर्छ ।

यस्तो समस्याबाट कसरी छुटकारा पाउने ?

पहिलो कुरा भनेको हामीले दाँतलाई राम्रोसँग सफा गर्दैनौँ । केही भाग सफा गर्छौं । यसकारण दन्त लेउ गएर दुईटा दाँतको बीचमा बस्छ । दुई वटा दाँतको बीचमा सफा गर्दैनौं र जिब्रो पनि सफा नगरी बस्छौं । कतिपयले आर्टिफिसियल दाँतहरु क्राउन पनि लगाउनुभएको हुन्छ र यसो हुँदा पनि दाँत राम्ररी सफा हुँदैन र समस्या हुने गर्छ । यसकारण राम्ररी दाँत सफा राखेर ६–६ महिनामा चिकित्सककहाँ जानुपर्छ । केही रोगहरु जस्तै टन्सिल, साइनस छ भने पनि सास गन्हाउने हुनसक्छ । यसर्थ हामी चेकजाँचका कुरामा निकै चनाखो हुनुपर्छ ।

कतिपयको बिहानबेलुका गरी दिनमा दुईपटक नै दाँत माझ्दा पनि सास गन्हाउने समस्या हुन्छ । यस्तो चाहि किन हुन्छ ?

यस्तो हुने भनेको दाँत माझ्ने विधि नजानेर हो या अन्य रोगहरुको कारणले पनि हुनसक्छ । हामीले दाँतको पाँचै भाग राम्ररी सफा गर्‍यौं भने यस्तो समस्या हुँदैन । यदि दैनिक यसरी सफा गर्दा पनि सास गन्हाउँछ भने चिकित्सकीय परामर्श लिन जरुरी हुन्छ ।

के सास गन्हाउने समस्या खानपिनका कारणले पनि हुने गर्दछ ?

हो, खानेकुरा नै दन्त स्वास्थ्यको लागि मुख्य ब्रस हो । यसकारण सकेसम्म प्राकृतिक चीज नै खानुहोस् । प्याकेजिङ गरिएका खानेकुरा र जंक फुडहरुको सेवन नगर्नु नै राम्रो हुन्छ । यो न त स्वस्थवद्र्धक हुन्छ, न तपाईको श्वास नै स्वच्छ राख्छ । यसैगरी प्याज, मुलाको सेवन गर्दा पनि यस्तो समस्या हुन्छ ।

दोस्रो भनेको साइकोलोजिकल फिटनेस पनि हो । अहिले कस्तो छ भने डिजिटल ग्याजेटमा मान्छे लिप्त छन् । यसले गर्दा स्ट्रेस पैदा हुन्छ र मान्छे सुतेर मोबाइल स्क्रिन हेर्ने गर्दछन् । यसले गर्दा राती दारा किट्ने, बर्बराउने समस्याले पनि सासमा समस्या हुन्छ । तेस्रो कुरा भनेको व्यायाम पनि आवश्यक छ । मुखकै व्यायाम गर्नुपर्छ भन्ने छैन । अन्य शारीरिक व्यायामले पनि दन्त स्वास्थ्यमा फाइदा पुर्‍याउँछ ।

यो समस्याबाट राहत पाउने घरेलु उपायहरु के–कस्ता छन् ?

यसका लागि आफ्नो भान्सामा पाउने सुकुमेल, ल्वाङ जस्ता मसलाहरु मुखमा राखियो भने यसले पनि धेरथोर मात्रामा राहत दिन्छ । अर्को भनेको त पानी प्रशस्त मात्रामा पिउनु नै हो ।

अन्त्यमा, के सुझाव दिन चाहनुहुन्छ ?

दन्त स्वास्थ्य सफा र स्वच्छ बनाउन मुख्य कुरा भनेको दिनमा दुईपटक बिहान र बेलुका दाँत माझ्ने र पानी प्रशस्त मात्रामा पिउनुहोस् । अति प्रशोधित बजारीया प्याकेजिङ खानेकुरा खान बन्द गर्दा राम्रो हो । मसालेदार खानेकुरा खाएपछि मुख कुल्ला गर्न बिर्सनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?