मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

गृहिणीलाई कस्ता रोगहरूको जोखिम बढी हुन्छ?

काठमाडौँ– नेपाली समाजमा गृहिणी बन्न सजिलो काम पक्कै होइन । बिहान उठेदेखि साँझ सुत्ने समयसम्म गृहिणीलाई भान्सामा नै भ्याइनभ्याइ हुन्छ । अझ गाउँघरतिर त दाउरा बालेर खाना पकाउने हुँदा त्यसले स्वास्थ्यमा धेरै समस्या निम्त्याउँछ ।

कतिपयले भने घरभित्र बस्दा पनि के समस्या होला र भन्ने सोचेर झनै लापरवाही गरेको समेत पाइन्छ ।

बाहिरी कार्यालयको काम गर्न जाने पुरुषको तुलनामा गृहिणीले अझ बढी स्वास्थ्य समस्याहरुले पीडित हुने गरेको विभिन्न रिपोर्टहरुले देखाएका छन् । गृहिणीले श्रीमान्, छोराछोरी र परिवारका अन्य सबै सदस्यको ख्याल राखिरहेका हुन्छन् । खानपान, सन्तानको पढाइ, वृद्धवृद्धाको औषधिदेखि हरेक कुरामा उनीहरुले ध्यान दिन्छन् । तर आफ्नो स्वास्थ्यको भने उनीहरुले हेक्का पाइरहेका हुँदैनन् ।

यस्तो अवस्थामा उनीहरुलाई विभिन्न रोगको जोखिम हुन्छ । यसकारण घरका पहरेदार गृहिणीहरुलाई कस्ता रोगको जोखिम हुनसक्छ भन्ने सन्दर्भमा फिजिसियन डा.रोशन कुमार झासँग सुस्मिता फुयाँलले गरेको कुराकानीः

गृहिणीलाई कस्ता रोगहरुको जोखिम धेरै हुन्छ ?

गृहिणीहरु जो भान्सामा काम गर्नुहुन्छ । उहाँहरुको भान्साको अवस्था कस्तो छ भन्नेमा भर पर्छ । जस्तो गाउँमा दाउरा, भुस बालेर खाना पकाइने गरिन्छ । यसले दमको समस्या निम्त्याइदिन्छ । मानसिक र शारीरिक रुपमा पनि कष्टदायी नै हुन्छ ।  शहरबजारको भान्सामा काम गर्ने गृहिणीहरुले स्टोपको मट्टितेल, ग्यास चुलोमा खाना पकाउँदा ग्यास जलेर भएर निस्कले ताप र धुवाँले फोक्सोलाई केही हदसम्म प्रभावित पार्छ । जुन भान्सामा भेन्टिलेसन छैन र हावा बाहिर जाने ठाउँ छैन भने यस्तोमा समस्या हुन्छ ।

त्यस्तै गृहिणीको दैनिकीले फोक्सोको समस्या पनि निम्त्याउँछ । गृहिणीले घरमा तरकारी पकाउँदा हामी तेलमा तार्ने गरेको पाइन्छ । त्यस्तो बेला तेलबाट निस्ने धुवाँले फोक्सोलाई ड्यामेज गर्छ । अर्को भनेको निम्न आय भएका परिवारका गृहिणीहरु भान्सामै सुत्ने गर्छन् । यसरी सुत्दा ग्यास पोइजनिङको समस्या हुन्छ । अर्को भान्सामा प्रयोग गर्ने तेलहरुका छिट्टाहरुले छालाको इन्फेक्सन पनि हुनसक्छ । बासी तेलहरुमा पकाउँदा र तताउँदा क्यान्सरको सम्भावना पनि हुन्छ ।

त्यस्तै गृहिणीहरूमा मोटोपनाको समस्या पनि देखिन सक्छ । एकै स्थानमा बिहान, दिउँसो बेलुका काम गर्दा मुभमेन्ट कम हुन्छ । भान्साकै मात्रै काम गर्दा खानाको मात्रा बढ्छ । यसकारण भान्सामा प्रयोग हुने सामान राख्ने स्थान र पकाउने ठाउँको दूरी अलि टाढा नै भएको राम्रो हुन्छ । यसैको माध्यमबाट हिँडाइ मार्फत शारीरिक गतिविधि हुन्छ ।

बासी राखेका खानाहरु तताउँदा यसको विकार पदार्थले थाइराइडको समस्या समेत निम्त्याउन सक्छ । बढी चिल्लो मसालेदार खानेकुराहरु बनाउँदा, सेवन गर्दा र बासी तेलका बाफहरुले थाइराइड गराउन सक्छ ।

यस्तै कतिपय महिलामा खुट्टा सुन्निने समस्या पनि देखा परेको पाइएको छ । भान्सामा लामो समय उभिएर काम गर्दा यस्तो समस्या आउँछ । यसकारण टुलमा बसेर पकाउने र अथवा समय–समयमा खुट्टालाई मिच्ने, टुलमाथि राख्ने गर्नुपर्दछ ।  खाली खुट्टा भान्सामा काम गर्दा पनि यस्तो समस्या हुन्छ ।

गृहिणी महिलालाई डिप्रेसनको जोखिम भएको पनि विभिन्न अध्ययनले देखाएका छन् । गृहिणीमा हरेक दिन पूरै समय काम गर्नुपर्ने, शारीरिक व्यायामको कमी र असन्तुलित खानपान, शरीरमा पानीको कमी लगायतका कारणले उदासी अर्थात् डिप्रेसनको समस्या समेत हुनसक्छ । अफिसमा काम गर्नेलाई शनिवार एक दिन भएपनि विदा हुन्छ तर गृहिणीलाई बिरामी हुँदा पनि कामबाट छुट्टी हुँदैन । जसकारण जीवनसँग वाक्कदिक्क हुने, एक्लोपन महसूस गर्ने र जीवनप्रति उत्साह कम भइ डिप्रेसनले सताउन सक्छ ।

यस्ता रोगहरु लाग्न नदिन कस्तो संयमता अपनाउने ?

त्यसका लागि भान्सा र सुत्ने कोठा अलग्गै बनाउनुपर्छ भने क्रस भेन्टिलेसन अनिवार्य बनाउनुपर्छ । यस्तै भान्सामा आगो सल्किने चीजहरू पनि राख्नु हुँदैन । यदि भान्सामा धुवाँ हुने सम्भावना धेरै छ भने केलाउने, धुलो उडाउने चीजहरु भान्साबाहिर बनाउने गर्नुपर्छ । कौसीमा आँगनमा ल्याएर केलाउने गर्नुपर्छ ।

त्यस्तै भान्सामा हुने धुवाँबाट बच्न भान्सा फराकिलो बनाउने, लामो समय उभिएर काम नगर्ने र बेलाबखतमा बस्दै काम गर्ने गर्नुपर्छ ।

हामीले हाम्रो भान्सा कसरी स्वस्थकर बनाउने ?

त्यसका लागि सबै प्रकारका खानेकुरा तरकारी एउटै फ्रिजमा राख्नु हुँदैन । हामीले पकाएका तरकारी, बजारबाट किनेर ल्याएका सब्जी, दूध, दही सबै एकै ठाउँमा राख्ने गर्छौं । यस्तो हुँदा बाहिरबाट ल्याएका तरकारीहरुको ब्याक्टेरिया फ्रिजमा भएका अन्य चीजहरुमा पनि सर्छ । एकपटक पकाएको खाना पटक–पटक तताउने गर्नुहुँदैन । बासी तेलमा तरकारी पकाउनु हुँदैन ।

अन्त्यमा के सुझाव दिन चाहनुहुन्छ ?

भान्सामा सकेसम्म साजी खाना पकाउने गर्नुपर्छ । एकपटक तताएर राखेको तेल पुन प्रयोग नगर्नुहोस् । फ्रिजमा कुन–कुन खानेकुरा राख्ने र कस्ता खानेकुरा नराख्ने भन्नेबारे जानकार रहनुहोस् । धेरै चिल्लो र मसालेदार खाना दैनिक रुपमा नखाँदा स्वास्थ्यलाई राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?