मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कलामा रसुवाको प्राकृतिक सौन्दर्य

काठमाडौँ– ललितकलाका कलाकारहरुले कलामा रसुवाको सौन्दर्यलाई उतारेका छन् ।

‘आमाछोदिङमो आर्ट क्याम्प’ शीर्षकमा कलाकारहरुले कला सिर्जना गरेका हुन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग र वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको सहकार्य तथा आमाछोदिङमो गाउँपालिका, रसुवाको आयोजनामा चैत ९ गतेदेखि १३ गतेसम्म रसुवामा आर्ट क्याम्प गरिएको थियो ।

सोही कलाकृतिहरु प्रतिष्ठानमा मङ्गलवारदेखि प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको शुरुवात रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, गाउँपालिका अध्यक्ष बुचुङ तामाङ लगायतको सहभागितामा गरिएको हो ।

प्रतिनिधिसभा सदस्य आचार्यले नेपाली सभ्यता, संस्कृति अत्यन्तै सवल भएको र यो नै हाम्रो मुख्य शक्ति भएको बताए । गाउँपालिकामा पुगेर कलाकारले बनाएका कलाकृतिले त्यहाँको परिचय दिएको समेत सुनाए । ‘हामी जुन परिस्थितिमा बसेका छौं एक अर्कामा माया, प्रेम, सद्भाव छ यसलाई जोगाउन जरुरी छ’, उनले भने ।

प्रतिष्ठानका कुलपति हार्तम्छालीले क्याम्पमा अहोरात्र खटेर कला सिर्जना गर्नुहुने कलाकारहरूप्रति आभार व्यक्त गर्दै यसले पालिकामा पर्यटनको विकासका साथै खोज अनुसन्धानमा थप टेवा पुर्‍याउने धारणा व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष तामाङले रसुवा कला, संस्कृति धनी क्षेत्र भएको बताउँदै पर्यटनलाई कुन माध्यमबाट अगाडि बढाउने भन्ने सन्दर्भमा यस कार्यशाला अगाडि बढेको र त्यसअनुरुपका कलाकृति बनेको बताए । उनले भने, ‘युवालाई आर्थिक

आयआर्जनको पाठसँगै बालबालिकाहरुलाई कला सिक्नका लागि पनि यस कार्यक्रमले प्रेरित गरेको छ ।’ प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले यस्ता कार्यक्रमले सबैलाई उत्साहित बनाएको भन्दै सहभागी कलाकारलाई धन्यवाद दिए ।

वैशाख ३१ गतेसम्म चल्ने यस प्रदर्शनीमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू प्रदिप अधिकारी, दिनेश्वर महतो, संजय वान्तवा राई, प्राज्ञसभा सदस्य जुपिटर प्रधान, कलाकारहरू आशुराम खाइजु, भीम श्रेष्ठ, डिबी गुरुङ, जुनुमाया तामाङ, किशोर नकर्मी, मनरा प्रजापति, नरबहादुर बिके, सुनिता राणाका कलाकृति राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?