मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

युद्धले बिथोलियो अभिनय छाडेर राजनीतिमा लागेका जेलेन्स्कीको व्यवस्थित जीवन

काठमाडौँ– दुई वर्षअघि रुसले युक्रेनमाथि आक्रमण ग¥यो । अझै पनि युक्रेनी सेनाले रुसी आक्रमणको डटेर सामना गरिरहेका छन् । र, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यसको नेतृत्व गरिरहेका छन् ।

रुसी सेनाले तत्कालै युक्रेनमाथि नियन्त्रणमा लिइहाल्ने र जेलेन्स्की देश छाडी भाग्ने अनुमानविपरीत उनले अन्तिमसम्म युद्ध लड्ने घोषणा गरे । यसबाट उनको कद अझ उँचो भयो र जेलेन्स्कीको राजनीतिक एवम् सैन्य नेतृत्वको सर्वत्र प्रशंसा भयो ।

जेलेन्स्कीले युक्रेनी राष्ट्रपतिका रुपमा रुसी आक्रमणको डटेर सामना गर्नु त टाढाको कुरा, उनी राष्ट्रपति नै बन्लान् भन्ने पनि सायदै कसैले कल्पना गरेको हुँदो हो ।

सन् २०१९ मा राष्ट्रपति बन्नुभन्दा अघि नै जेलेन्स्की युक्रेनभर परिचित थिए । राजनीतिमा छिर्नुअघि हास्य कलाकारको काम गरेका जेलेन्स्कीको हास्य टेलिश्रृङ्खला ‘सर्भेन्ट अफ दि पिपुल’ युक्रेनी टेलिभिजन उद्योगकै लोकप्रिय कार्यक्रमका रुपमा स्थापित भइसकेको थियो ।

उक्त टेलिश्रृङ्खलामा एक जना निराश शिक्षक कसरी एकाएक राष्ट्रपति बन्छ र राष्ट्रपतिका रुपमा उसले के के गर्छ भन्ने देखाइएको थियो । उनी त्यही शिक्षकबाट राष्ट्रपति बनेका व्यक्तिको पात्रमा थिए । जेलेन्स्कीको कार्यक्रम कहिले टेलिभिजनमा आउला र हेरौँला भनेर लाखौँ युक्रेनी प्रतिक्षारत रहन्थे । राजनीतिमा छिर्नुअघि उनीसँगै सबैथोक थिए । सुखी परिवार थियो, पैसा कमाएकै थिए, ख्याति पनि कमाएकै थिए । कुनै व्यक्तिगत उपलब्धिकै लागि उनी राजनीतिमा आउनुपर्ने वा राष्ट्रपति बन्नुपर्ने कुनै आवश्यकता नै थिएन ।

राजनीतिक पृष्ठभूमिमा बनाइएको हास्य टेलिश्रृङ्खला यति लोकप्रिय भयो कि यसैले उनलाई राष्ट्रपति बनाइदियो ।

खासमा सन् १९७८ जनवरी २५ मा मध्य युक्रेनको क्रिभी रिह शहरमा यहुदी परिवारमा जन्मेका जेलेन्स्कीको रुची सुरुबाट नै कलाकारितातर्फ थियो । ९० को दशकमा उनले केही साथीहरुसँग मिलेर ‘क्भार्तल ९५’ नामक कलाकारहरुको समूह गठन गरेका थिए । जेलेन्स्कीको समूहले आफ्नो नाम क्भार्तल ९५ राख्नुको प्रसंग पनि रोचक छ ।

क्रिभी रिह र अरु शहरका भित्री क्षेत्रहरु त्यसबेला नम्बरका आधारमा छुट्याइएको हुन्थ्यो । जेलेन्स्कीको क्षेत्र नम्बर नै ९५ थियो । त्यही भएर उनीहरुले समूहको नाम नै ‘क्भार्तल ९५’ अर्थात् ‘क्षेत्र ९५’ राखेका थिए ।

पछि यो समूहले ‘इभिनिङ क्भार्तल’ कार्यक्रम चलाउन थाल्यो । सन् २००३ मा उनको ‘क्भार्तल ९५’ समूहले ‘क्भार्तल ९५ स्टुडियो’ नामक मनोरञ्जनात्मक कार्यक्रम उत्पादन कम्पनीको स्थापना गर्छन् । पछि सन् २००९ मा जेलेन्स्कीको सहलेखन र अभिनय रहेकोे रोमान्टिक कमेडी जनराको ‘नो लभ इन द सिटी’ फिल्मले पनि राम्रै चर्चा बटुल्यो । उनलाई चर्चाको शिखरमा पु¥याउने ‘सर्भेन्ट अफ द पिपुल’ टेलिश्रृङ्खला चाहिँ सन् २०१५ मा आएर बल्ल सुरु भएको थियो । छोटो समयमा नै यो युक्रेनभर लोकप्रिय बन्न पुग्यो ।

स्थापित हास्य कलाकारका रुपमा एकपछि अर्को सफलता हासिल गरिरहेका जेलेन्स्कीलाई सन् २०१५ सम्म पनि राजनीतितर्फ कुनै आकर्षण वा रुची थिएन । सन् २०१४ मा ‘युरोमैदान क्रान्ति’ भनिने युक्रेनी राजनीतिक उथलपुथलका बेला पनि जेलेन्स्कीको राजनीतिक उपस्थिति शून्यप्रायः थियो । त्यस क्रान्तिले रुस समर्थित युक्रेनी सत्ता पतन गरिदिएको थियो भने राष्ट्रपति भिक्टर यानुकोभिच शरण लिन रुसतर्फ भाग्न बाध्य भएका थिए । त्यसो त जेलेन्स्कीले युक्रेनमा व्यवस्था भएअनुसार अनिवार्य सैन्य सेवा पनि गरेका थिएनन् ।

पछि राजनीतिमा प्रवेश गर्ने र आउँदो राष्ट्रपतीय निर्वाचन लड्ने फैसला गरेर सन् २०१८ मा उनले आफ्नो पार्टीको नाम पनि त्यही ‘सर्भेन्ट अफ द पिपुल’ नै राखे । राजनीतिमा प्रवेश गर्दा हास्य कलाकारको पृष्ठिभूमि नै उनका लागि सबैभन्दा ठूलो चुनौती साबित भयो ।
आफू गम्भीरतापूर्वक राजनीतिमा लागेको सन्देश दिन उनले नारा नै अघि सारेका थिए– ‘मैले खेलाँची गरिरहेको छैन ।’
उनको राजनीतिक दर्शन नै युक्रेनी मध्यवादमा आधारित थियो भने उनी बारम्बार युक्रेनमा व्याप्त भ्रष्टाचारविरुद्ध कठोर शब्दमा बयान दिइरहन्थे ।
युक्रेनी पत्रकार शेरी रुडेन्कोले २ सय पृष्ठ लामो जेलेन्स्कीको संक्षिप्त जीवनी लेखेका छन् । रुसी आक्रमणअघि नै प्रकाशित जेलेन्स्कीको जीवनीमा रुडेन्कोले उल्लेख गरेअनुसार राष्ट्रपतीय निर्वाचन अभियानको त्यस क्षणसम्म पनि जेलेन्स्कीका राजनीतिक सल्लाहकारहरु नै चुनाव जित्ने कुनै सम्भावना नरहेको बताउँथे ।

‘उनीहरुले यस्तो होला भनेर सोचेकै थिएनन्, भोलोदिमिर खेलाँची गरिरहेका होलान् भन्ने सोच्थे,’ युक्रेनी राजनीतिक रणनीतिकार एवम् जेलेन्स्कीका साझेदार शेरी हाइदाइ आफ्नो पुस्तकमा लेख्छन् ।

तर, हुनुपर्ने कुरो भएरै छाड्छ भन्छन् नि ! सन् २०१९ को चुनावसम्म आइपुग्दा धेरै युक्रेनी जनता मौलाउँदो भ्रष्टाचार, यथास्थितिवाद र राजनीतिक अनिश्चितताले आजित भइसकेका थिए । उनीहरुलाई नयाँ नेता र नयाँ विकल्प चाहिएको थियो ।

यस्तोमा जेलेन्स्कीले टेलिभिजनमा प्रसारित बहसमा पनि राम्रै प्रदर्शन गरे । विस्तारै उनले युक्रेनी जनताको मन पनि जित्दै गए र आफूलाई गम्भीर एवम् परिपक्व राष्ट्रपतीय उम्मेदवार साबित गरेरै छाडे । फलस्वरुप उनी राष्ट्रपतिमा निर्वाचित पनि भए ।
‘जब उनले जिते, उनीहरु अझ दोधारमा परे । उनीहरुलाई अब के गर्ने भन्ने नै थाहा थिएन । यो कत्रो जिम्मेवारी हो र यससँगै पुरानो जीवन सकिएको उनीहरुले महसुस गरे ।’ जेलेन्स्कीको राष्ट्रपतीय निर्वाचनमा उनका राजनीतिक सल्लाहकारबारे हाइदाइ लेख्छन् ।

जेलेन्स्कीको जितसँगै युक्रेनी राजनीतिमा नयाँ नयाँ नेताहरुको उदय भयो । बिहेको फोटो खिच्ने र रेस्टुरेन्ट चलाएर जीविका चलाउनेहरु जनप्रतिनिधि बने । तर, जेलेन्स्कीसँग कुनै ठोस राजनीतिक दर्शन र राज्य सञ्चालनको योजना नभएको हुँदा राष्ट्रपतिको जिम्मेवारी सम्हालेको शुरुवाती चरणमा भने हण्डर खानुपर्‍यो ।

भरपर्दा राजनीतिक सल्लाहकार र साझेदार नहुँदा आफ्नै साथीहरुलाई उनले ठूला पदमा पु¥याए । तीमध्ये केही साथीहरु घुस लिँदालिँदै फेला परे भने केही साथीहरु चाहिँ संसद भवनमा ‘डेटिङ एप’ चलाइरहेको अवस्थामा भेटिए ।

‘आफूले के गर्नुपर्ने हो भन्ने उसले तुरुन्तै बुझ्नुपर्ने हो ।’ हाइदाइ लेख्छन्, ‘तर, स्थानीय र केन्द्रीय तहमा कसरी काम गर्ने हो उनले अझै बुझेजस्तो मलाई लाग्दैन । उनी प्रणालीकै बन्दी बन्न पुगे ।’

आफ्नो राष्ट्रपतीय कार्यकालको शुरुवाती चरणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय कूटनीतिक वार्ता गरे पनि रुससँग कायम तिक्ततापूर्ण सम्बन्ध सुल्झिन्छ भन्ने जेलेन्स्कीको विश्वास थियो । तर, समय बित्दै गयो, रुससँगको सम्बन्ध सुध्रेन । फेब्रुअरी २०२२ सम्म आइपुग्दा युक्रेनमाथि रुसी सेना नै जाइलागे ।

रुसी आक्रमणको पाँच सातासम्म जेलेन्स्की बंकरमै बस्थे । द गार्जियजनका अनुसार युद्धको समयमा उनी केबल दैनिक दुई घण्टा सुत्थे । अरुभन्दा पनि आफ्ना केटाकेटी र श्रीमतीको सुरक्षाप्रति उनी चिन्तित हुन्थे । अझै पनि उनी युक्रेनी जनताको सुरक्षाप्रति उत्तिकै चिन्तित हुन्छन् ।

राजधानी किभको बानकोभा मार्गमा राष्ट्रपतीय भवन छ । जेलेन्स्की र उनकी पत्नी त्यहीँ बस्छन् । केही समयअघि टाइम म्यागजिनका पत्रकारहरुको टिम त्यहाँ पुग्दा सबै सामान्य नै थियो । जेलेन्स्कीकी पत्नी बारम्बार हँसिमजाक गर्थिन् भने त्यहाँ सुरक्षार्थ खटिएका सैनिकबाहेक युद्धको कुनै संकेत देखिएको थिएन ।

हास्य कलाकारबाट राष्ट्रपति बनेका जेलेन्स्कीलाई युद्धले बदलिदिएको छ । उनी अहिले छिट्टै रिसाउँछन् । उनी जोखिमसँग डराउन छाडेका छन् । मरेका मान्छेको फोटो देख्दा अझै पनि उनको आङ जिरिङ्ग हुन्छ । तर, उनको हास्यचेत भने अझै उस्तै छ । आफ्नो देशमा युद्ध चलिरहे पनि उनले हास्न भने छाडेका छैनन् ।

राष्ट्रपति बन्नुअघि नै जेलेन्स्कीको दैनिकी व्यवस्थित थियो । युद्ध शुरु भएसँगै उनको दैनिकी सबै भताभुङ्ग भयो । यद्यपि अझै पनि राष्ट्रपति जेलेन्स्की आफ्नो निश्चित दैनिक कार्यसूची अनुसार काम गर्न मन पराउँछन् ।

अहिले युद्ध चलिरहेको अवस्थामा जेलेन्स्कीको दैनिकीलाई गोप्य राखिएको छ । उनी बस्ने राष्ट्रपतीय भवन र बङ्करबारे कुनै पनि विवरण विस्तृतमा खुलाइएको छैन ।

जेलेन्स्कीसँगै राष्ट्रपतीय भवन र बङ्करमा बस्नेहरुलाई समेत यसबारे विवरण गोप्य राख्ने प्रतिबद्धतासहितको कागज गराइएको छ । उनको दैनिकी यतिसम्म गोप्य राखिएको छ कि उनी के खान्छन्, कहाँ जान्छन् भन्नेबारे उनको परिवार र युक्रेनी राष्ट्रपति कार्यालयका अधिकारी र अरु निकटस्थ व्यक्तिहरुलाई मात्रै जानकारी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?