मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

लोक दोहोरीमा टीकाको उडान: अथक सङ्घर्षपछि दोहोरी साँझदेखि स्टेजसम्मको यात्रा

‘बाल्यकालमा जातीय विभेदकै कारण हेपाइ सहिन्, अरुको घरमा बसेर काम गरिन्’

काठमाडौँ– लोकप्रिय लोक तथा दोहोरी गायिका टीका सानु  कलाकार बन्ने सपना बोकेर काठमाडौँ आउँदा उनलाई सहयोग गर्ने कोही थिएनन् । आफैँले शब्द सिर्जना गरेर आफ्नै स्वरमा गीत गाउँछु भन्ने सपना बुनेर पहिलोपटक काठमाडौँ टेक्दा उनलाई साथ र हौसला दिनेभन्दा होच्याउनेहरू धेरै थिए ।

सङ्घर्षका शुरुवाती दिनमा उनले धेरैपटक सुन्नुपरेको छ– छ्या कस्ता कस्ता मान्छे आउँछन् स्टुडियोमा । यस्तो आवाजले पनि गायिका बन्ने अरे !

अहिले समयको पर्दाले ढाकिइसकेका ती क्षणहरू स्मरण गर्दा उनलाई कता कता नरमाइलो लाग्छ । नयाँ कलाकारले भोग्नुपरेको पीडालाई उनी आफैले भोगेकाले पनि हुनुपर्छ, आफू स्थापित भएपछि उनले अरु कलाकारलाई गर्ने व्यवहारमा कत्ति पनि रवाफ भेटिँदैन ।

अहिले स्टेजमा जब टीका सानुको आवाज गुन्जन्छ, तब दर्शकले पररर ताली पिट्छन् । सुरिलो आवाज, मौलिकता मिसिएको उनको आवाजलाई दर्शकले मन पराएका छन् ।

सङ्घर्षको त्यो अत्यासलाग्दो बेला

लोक तथा दोहोरी क्षेत्रमा नाम कमाउने सपना बोकेर टीका वि.सं. २०६९ सालमा पहिलोपटक काठमाडौँ प्रवेश गरेकी थिइन् । जतिबेला उनी आफ्नो सिर्जनामा स्वर भर्न काठमाडौँ छिरेकी थिइन्, त्यतिबेला अरूले विश्वास नगरे पनि उनले आफैलाई भने पूर्ण विश्वास गरेकी थिइन् । त्यसैले त उनको अनुशासन, मेहेनत र लगनशीतलाले अब्बल गायिकाका रुपमा स्थापित गरायो ।

टीकाको सिर्जनाजस्तै साधारण जीवनशैली र स्वभाव नै दर्शकका लागि प्रिय छन् । उनी प्राय: कुर्ता सुरुवाल र सारीमै सजिएकी हुन्छिन् । सुरुवाती दिनबाट आजसम्मै पनि न उनको व्यवहार बद्लिएको छ, न पहिरन नै । उनलाई यसैमा गर्व लाग्छ ।

‘मलाई कुर्ता सरुवालले नै सुहाँउछ, सहज पनि यसैमा लाग्छ,’ उनी भन्छिन्, ‘मैले कुर्ता सुरुवाल, सारी लगाएर गाउँदा दर्शकले माया दिइरहनुभएकै छ, किन तडकभडक गनुपर्‍यो र !’

दोहोरी गीत प्रतियोगिताले मोडिएको टीकाको यात्रा

खासमा टीका समाजसेवी बन्न चाहन्थिन् । सारीमा चट्ट परेर झोला बोकी गाउँ–गाउँमा मानिसहरुको समस्या बुझ्दै र त्ससको समाधान गर्छु भन्ने उनको प्रण थियो । जब उनी तीन कक्षामा पढ्दै थिइन्, त्यसबखत विद्यालयमा दोहोरी गीत प्रतियोगिता आयोजना गरिएको थियो । त्यतिबेलासम्म उनको संगीतमा खासै रुचि थिएन । प्रतियोगितामा भाग लिने निर्णयसँगै उनी यतातिर मोडिइन् ।

दाङको तुल्सीपुरमा चार जना दिदीबहिनीमध्ये माइली छोरीका रुपमा जन्मिएकी टीकाको परिवार नै सांगीतिक माहोलमा रमाउने खालका छन् । उनका बुवा पनि दोहोरी गाउन निकै अब्बल छन् भने उनकी बहिनी हुमा पनि दोहोरी गायिका नै हुन् । उनकी आमा, जेठी दिदी र कान्छी बहिनी सबैजना गीतमा पोख्त छन् ।

‘हाम्रो परिवारमा बुबा पनि दोहोरी गाउन निकै माहिर हुनुहुन्छ, उहाँले पनि निकै मीठो गीत गाउनुहुन्छ,’ टीका भन्छिन् ।

संगीतमा रमाउन चाहने परिवारका लागि त्यसैमा रुमलिने परिपस्थिति थिएन । घरको आर्थिक अवस्थाकै कारण उनकी आमा वैदेशिक रोजगारीमा थिइन् । उनका बुवा राम्ररी कान सुन्दैनथे ।

‘घरमा समस्या भएकै कारण मैले कक्षा ६ मा पढ्दासम्म अरुको घरमा बसेर काम गरेँ । समाजमा निकै तिरस्कृत भएर मेरो बाल्यकाल बित्यो’, उनले आफ्नो बाल्यकाल स्मरण गरिन् ।

उनका अनुसार कक्षा आठमा पढ्दा नै उनले एफएम र गाउँकै स्थानीय स्थानीय टेलिभिजनमा कार्यक्रम चलाउने अवसर पाइन् । जातकै कारण उनले समाजमा हेला र निकै अपहेलना सहनुपरेको तीतो यथार्थ पनि टीकाले बेलाबेलामा सम्झिरहन्छिन् ।

संगीतमा टीकाको सङ्घर्ष

‘एउटा चिठ्ठी लेख्न मन लाछ’, ‘जुन मायाले धरधरी रुवायो उइ मायालाई देख्न मन लाछ’ बोलका गीतहरु टीकाका लागि विशेष छन् ।

यही बोलको गीतको भाकामा शब्द सिर्जना गरेर उनले दोहोरी प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । पहिलो प्रयासमा नै तृतीय भएर पुरस्कार जित्न सफल भएपछि उनलाई यो क्षेत्रमा केही गर्ने हुटहुटी जाग्यो ।

यसैबाट उनको लोकसंगीतमा औपचारिक यात्रा तय भयो ।

काठमाडौंमा भने उनी दोहोरी साँझबाट आफ्नो सांगीतिक यात्रा शुरु गरिन् । शुरुवाती चरणमा राम्रो कलाकार बनाइदिन्छु भनेर प्रलोभन देखाउने र नकारात्मक दृष्टिले हेर्ने व्यक्तिहरू पनि उनको सम्पर्कमा नआएका होइनन् । तर पनि उनी अडिग भएर आफ्नै मेहनत र सङ्घर्षले कलाकार बन्छु भन्ने सिद्धान्त बोकेर आफ्नै लयमा अघि बढिरहिन् ।

प्रिज्मा रेकर्डिङ स्टुडियोमा उनको पहिलो रेकर्डिङको त्यो समय अझै पनि उनको स्मरणमा ताजै छ । गाउँबाट सपना बोकेर आएको चङ्गाजस्तो मन रातभरी गाडीको यात्राले थाकेको लखतरान शरीर लिएर उनी गीत रेकर्ड गर्न स्टुडियो पुगेकी थिइन् । थकान र मनमा पलाएको केही भयले उनको स्वर चाहेजति खुलेको थिएन । त्यतिबेला रेकर्डिस्टले उनलाई त्यत्तिकै फर्काइदिए ।

उनले भनिन्, ‘उहाँले मैले गीत गाउन सक्दिनँ भनेर इन्सल्ट (अपमान) गर्नुभयो । त्यसपछि  मेरो मनोबल निकै कमजोर भयो । म गाउन नसक्ने रैछु भनेर मन भारी बनाउँदै घर फर्किएँ ।’

त्यसपछि जसले उनलाई गीत गाउन काठमाडौँ ल्याएका थिए, उनै व्यक्ति सम्पर्कविहीन भए । यही घटनासँगै टीका पनि केही समय हराइन् ।

केही समयको अन्तरालमा उनको शब्द सिर्जना रहेको ‘डालीको फुल नफुल्दै ओइलिएर झर्ला’,‘स्वार्थी छ यो दुनियाँ घाती छन् या मनहरु चोखो माया पाउन त अब गाह्रै पर्ला’ बोलका गीतहरु उनको अङ्कल पर्ने खिम विश्वकर्मा र चर्चित लोक गायिका लक्ष्मी न्यौपानेको स्वरमा रेकर्ड भयो ।

यो गीतले राम्रै चर्चा कमायो ।

त्यसपछि ‘हे कति राम्री रैछौ नि सानी, बसमा भेट भो कहाँसम्म हो जानी’ बोलको गीतमा टीकाले भने पहिलोपटक आफ्नो आवाज भरेकी थिइन् । यही गीतमा स्वर दिनका लागि आठ हजार रुपैयाँ रकम बुझाएकी थिइन् ।

दुःखको कुरा, उनले आवाज भरेको उक्त गीत रेकर्डिङ तर सार्वजनिक भएन । अहिले उनलाई लाग्छ, त्यतिबेला आफूमाथि अन्याय भएको रहेछ । किनकि, उनले आफ्नै गीत सिर्जनामा आफैं रकम तिरेकी थिइन् ।

त्यसपछि उनको यात्रा म्युजिक स्टार नेपालमा लाइभ दोहोरीतिर अगाडि बढ्यो । शुरुवाती चरणमा सहायक कलाकारका रुपमा प्रवेश पाएकी उनले त्यहाँ तीन दिनपछि भने मात्र मुख्य कलाकार भएर गाउने अवसर पाइन् । दर्शकले उनको स्वरलाई रुचाएपछि उनको यात्रा कृष्ण कँडेलको लोक दोहोरी कार्यक्रम ईन्द्रेणीमा सम्म पुग्यो । पहिलो दिनमा नै सञ्चालक कडेलसँग गाउने अवसर पाएकी उनले त्यसपश्चात् आफ्नो सांगीतिक यात्रा अझै फराकिलो बनाइन् ।

यस क्रममा उनले दर्जनौं लाइभ दोहोरी गाएकी छिन् । सयौँ गीतहरुमा आवाज भरेकी छिन् । उनी दर्शक/स्रोतामाझ निकै लोकप्रिय छिन् । पछिल्लो समय टेलिसिरियल, लाइभ दोहोरीमा आफूलाई स्थापित गरेकी छिन् ।

अहिले उनलाई आफ्नो विगतको नमीठो भोगाइभन्दा वर्तमानको सफलताप्रति गर्व लाग्छ ।

उनलाई लाग्छ, ‘मौलिक सिर्जनाले पनि एउटा सर्जक आम दर्शक/स्रोताको मनमा बाँच्न सक्छ । यसका लागि आधुनिक रवाफ र जीवनशैली झल्काउनुपर्छ भन्ने छैन ।’

पछिल्लो समयमा प्रस्तुतिका नाममा कलाकारले स्टेजमा देखाएको प्रवृत्ति र व्यवहार उनलाई त्यति सकारात्मक लाग्दैन । त्यही भीडमा अलग देखिएकी टीकाले सिर्जनाबाट नै दर्शकलाई आफ्नो बनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?