मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

वर्ष २०८० मा सर्वाधिक ‘हिट’ गीत दिने गायिका शान्ति श्री परियार

काठमाडौँ– पछिल्लो समय लोकगीतलाई सम्झने बित्तिकै लोकगायिका शान्ति श्री परियार अग्रपंक्तिमा पर्छिन् । उनले आवाज भरेका अधिकांश गीतहरु युट्युबको ट्रेन्डिङमा पर्छन् ।

यस वर्षको सबैभन्दा धेरै भ्युज पाउने लोकप्रिय गीत ‘अरेली काँडैले मलाई च्वास्सै–च्वास्सै’ अझै पनि उतिकै गुञ्जिरहेको छ । यो गीत तीज ताका सार्वजनिक भएको थियो ।

पछिल्लो समय उनको आवाज दर्शक तथा स्रोताले अत्यधिक रुचाइरहेका छन् भने उनको क्रेज पनि बाक्लो छ । वि.सं. २०८० सालमा मात्रै उनको आवाजमा अरेली काँडासहित ‘तिमी र म जाम माया,’ ‘गोर्खे खुकुरी,’ ‘डाँडैको टुनी’ ‘दमाई महाराज’ जस्ता गीतहरु करोड क्लब र यस वर्षकै सर्वाधिक धेरै भ्युज पाउने गीतमा परेका छन् ।

यतिबेला उनको सुमधुर आवाजले लोक संगीतमा छलाङ नै मारिरहेको छ ।

पाँच वर्षअघि गायक तथा अभिनेता प्रकाश सपूतले बजारमा ल्याएको गीत ‘बोल माया’ एकाएक हिट भएपछि सो गीतमा समेत स्वर दिएकी शान्तिश्री त्यसपछि निरन्तर चर्चाको शिखरमा रहिन् । पछिल्लो समय उनले फिल्मका गीतमा समेत स्वर दिएकी छिन् ।

विकट गाउँमा जन्मिएकी कसरी बनिन् चर्चित गायिका?

शान्ति श्री परियारको जन्म रोल्पा जिल्लाको विकट गाउँ ह्वाँमा भएको थियो । उनको सात वर्ष सम्मको बाल्यकाल त्यहीँ बित्यो । त्यसपछि उनी रोल्पाको सदरमुकाम लिवाङ झरिन् ।

उनले लिवाङमा रहेको बालकल्याण उच्च माविबाट औपचारिक शिक्षा हासिल गरेकी थिइन् । सानै उमेरदेखि गीत संगीतमा निकै नै लगाव राख्ने शान्ति श्री आफ्नो विद्यालयमा तथा रोल्पामा हुने सांस्कृतिक कार्यक्रममा गीत गाउने गर्थिन् ।

गाउँमै स्टेजहरूमा गीत गाएर सबैको मन जितेकी उनले अहिले रोल्पालीहरूकी तारा बन्न पुगिन् । उनी आफ्नो पढाइ पूरा नहुँदै सानै उमेरमा काठमाडौँ आइन् र दोहोरी साँझमा गाउन थालिन् ।

सानो उमेरमा निकै दुःख–कष्ट गर्दै उनले पहिलो एल्बम ‘घर छ तीन तले’ मा स्वर दिइन् । गीत धेरै राम्रो भए पनि त्यस गीतले बजारमा त्यति राम्रो सफलता भने हात पार्न सकेन ।

त्यसपछि दुःख कष्ट गर्दै जाँदा उनले ‘एकतर्फी माया’ बोलको गीतमा स्वर दिने मौका पाइन् । जुन गीत उनको लागि कोसे ढुङ्गो साबित भयो ।

यो गीतले नेपाली सांगीतिक बजार बेस्सरी तताएको थियो ।

अनि लगत्तै उनले तेस्रो गीत मिलन लामासँगको ‘गाईलाई दाम्लो माछीलाई फुरुलुङ्ग’ मा स्वर दिइन् र त्यो गीत पनि नेपाली लोक दोहोरी क्षेत्रमा निकै नै चल्यो ।

त्यसपछि उनले धेरै गीतहरूमा आवाज दिने अवसर पाउँदै गइन् र गाउँदै गइन् । यस्तै उनले पशुपति शर्मासँग ‘बाँसको टुप्पो हल्लिएर’ बोलको गीतमा पनि स्वर दिइन् ।

जुन गीत पनि शान्तिश्रीका लागि निकै राम्रो लाभदायक बन्यो । उनले लोक तथा दोहोरी गीत मात्र नभएर आधुनिक गीत पनि गाउने गर्दछिन् ।

साथै चर्चित तीज गीत ‘बुहारी सुत्केरी भइछ’मा उनले स्वर तथा मोडलिङ पनि गरेकी छिन् । उनले वि.सं. २०७४ सालमा सर्वाधिक चर्चित गीत प्रकाश सपुतको शब्द, निर्देशनमा रहेको ‘बोल माया’मा स्वर दिएकी थिइन् ।

यो गीतले उनलाई नेपाली लोक दोहोरी क्षेत्रमा अझ निकै चर्चित बनायो । यसपछि भने उनलाई पछाडि फर्केर हेर्नै परेन ।

‘जाले रुमाल फाट्यो’, ‘घर कता हो बैनीको’, ‘छुट्नाई पो रैछ क्यारे,’ ‘एउटा फोटो पठाइदेउ नौजा’ले जस्ता उनले आवाज भरेका धेरै गीतहरु लोकप्रिय बनेका छन् । कलाकारिताको शुरुवाती चरणदेखि आजको समयसम्म आइपुग्दा गायिका विष्णु माझी सरह नै उनले आफ्नो क्रेज बनाउन सफल भएकी छिन् ।

अहिले उनलाई गीत रेकर्डिङ गर्न, देश तथा विदेशका स्टेज कार्यक्रमहरु प्रस्तुति दिन भ्याइनभ्याइ नै छ ।

सायद कलाकार चल्नुमा उनको शालीनता, सक्रियता र मेहनतले पनि निकै महत्वपुर्ण भूमिका खेल्दछ । यसैको एक उदाहरण हुन्, गायिका शान्ति श्री । यसले गर्दा नै उनको उचाइ बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?