मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लामो सङ्घर्षपछि सफलताको शिखर चुमेका अमेजनका संस्थापक बेजोस

काठमाडौँ– सन् १९९४ मा अमेजन कम्पनी शुरु गर्नुअघि जेफ बेजोसको नाम शायदै कसैले सुनेको हुनुपर्छ ।

विश्वकै धनाड्य व्यक्तिमध्ये एक जेफ बेजोसले शुरुमा अनलाइनमार्फत् किताब बेच्ने उद्देश्यले ‘अमेजन’ कम्पनीको स्थापना गरेका थिए । यो कम्पनी अहिले अनलाइनमा सामान किन्ने विश्वकै लोकप्रिय अनलाइन साइट बनेको छ ।

शुरुमा किताब मात्र बेच्न खोलिए पनि पछि अमेजनले अनलाइनमार्फत् किताबमात्रै नभएर सबै किसिमका खुद्रा सामान बेच्न थाल्यो ।

इन्टरनेटको विस्तार र सर्वसुलभ पहुँचसँगै विस्तारै अमेजनका प्रयोगकर्ता पनि बढ्दै गए । अहिले अमेजन अनलाइन किनमेलको सबैभन्दा ठूलो र भरपर्दो साइट बन्न पुगेको छ भने यसले विश्वभर लाखौँ मानिसहरुलाई रोजगारी पनि दिएको छ । फलस्वरुप जेफ बेजोस विश्वकै धनाढ्यको सूचीमा पनि शीर्ष स्थानमा पुग्न सफल भए ।

अहिले जेफ बेजोसको कुल सम्पत्ति १ सय ७७ बिलियन डलर छ । फोर्ब्स पत्रिकाका अनुसार अहिले उनी धनाढ्यको सूचीमा तेस्रो स्थानमा अटाएका छन् ।

जेफरी प्रेस्टन जोर्गेनसनको जन्म सन् १९६४ मा अमेरिकाको न्यू मेक्सिकोमा भएको थियो । उच्च शिक्षाका लागि विद्यालयमा पढ्दै गर्दा नै विद्यार्थीहरुमा आलोचनात्मक सोच विकास गर्न ‘ड्रिम इन्स्टिच्युट’ नामक संस्थाको विकास गरेका थिए । उच्च शिक्षा अध्ययनका क्रममा उनी दिउँसो खाजा समयमा म्याक्डोनाल्डमा काम गर्न थालेका थिए ।

उच्च शिक्षा अध्ययनकै क्रममा उनमा कम्प्युटर इन्जिनियरिप्रति चासो बढ्दै गयो । सन् १९८६ मा प्रिन्सटन विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ र कम्प्युटर साइन्समा डिग्री पाइसकेपछि उनी विभिन्न संस्थामा आबद्ध भएर काम गरे ।

पछि सन् १९९० मा उनी उनी न्यूयोर्कमा रहेको लगानी बैंक डी.ई.श एण्ड कम्पनीमा आबद्ध भए । छोटो समयमा नै उनी सो कम्पनीको उपाध्यक्ष पनि बने ।

त्यहाँ उनको काम त्यसबेला तीव्र गतिमा विकास भइरहेको इन्टरनेटमा लगानीको सम्भावनाको अध्ययन गर्नु थियो । त्यहीँबाट नै बेजोसलाई निकट भविष्यमा नै इन्टरनेटका माध्यमबाट हुने व्यवसायबाट ठूलो प्रतिफल पाउन सकिने आत्मविश्वास जागिसकेको थियो ।

हुन पनि त्यसबेला इन्टरनेटको प्रयोगकर्ताको सङ्ख्या हरेक वर्ष २ हजार प्रतिशतको हाराहारीमा विस्तार भइरहेको थियो ।

सन् १९९४ मा उनले बैंकको जागिर त्यागे, र वाशिङ्टन राज्यको सियाटलमा गएर अनलाइनबाट किताब बिक्री गर्ने उद्देश्यले दक्षिण अमेरिकामा रहेको विशाल नदीको नामबाट अमेजन कम्पनीको स्थापना गरे । एउटा सामान्य ग्यारेजमा खोलिएको अमेजनका लागि कोड लेख्ने काम बेजोस आफैँले गर्थे ।

धेरै मिहिनेतपछि सन् १९९५ को जुलाइ महिनामा बल्ल अमेजनले पहिलो पुस्तक बेचेको थियो । २४ सै घण्टा उपलब्ध हुने र प्रयोकर्ताको सहजतालाई मध्यनजर गर्दै निर्माण गरिएको इन्टरफेस अनि ग्राहकले मगाएका पुस्तक घरैमा आइपुग्ने भएकाले छोटो समयमा नै अमेजनका प्रयोगकर्ता पनि बढ्दै गए ।

अमेजनले ग्राहकलाई छुट सुविधा, ग्राहकका लागि पुस्तकको सिफारिसजस्ता सुविधा पनि ल्याएको थियो ।

सन् १९९७ मा अमेजन सार्वजनिक कम्पनीका रुपमा दर्ता भयो । त्यसबेला अमेरिकी लगानीकर्तामाझ इन्टरनेटमा आधारित कम्पनीमा लगानी गर्ने होडबाजी नै चलेको थियो । डट कम बबलका बेला २ डलर ५० सेन्ट रहेको अमेजनको शेयर मूल्य दुई वर्षमा अनपेक्षित बढेर १ सय ७ डलरसम्म पुगेको थियो ।

डट कम बबल विस्फोट भएको समयमा अरु प्राविधिक कम्पनीहरु धराशायी भए पनि नवीन प्रविधि र व्यवसायिक विविधीकरणमा ध्यान दिएका कारण अमेजन भने जोगियो ।

बेजोसले सन् १९९९ मा आफ्नो व्यवसायलाई विविधीकरण गरेर पुस्तकमात्रै नभई सीडी चक्का विक्री गर्ने व्यवस्था पनि शुरु गरे । त्यही वर्ष टाइम म्याग्जिनले उनलाई ‘वर्ष व्यक्तित्व’ (टाइम पर्सन अफ द इयर) मा समेत समावेश गर्‍यो ।

व्यावसायिक विविधीकरणसँगै छोटो समयमा नै अमेजनको लोकप्रियता बढ्दै गयो भने अर्कोतिर अमेजनको देखासिकी गर्दै सामान बेच्ने अरु अनलाइन प्लेटफर्महरु पनि बजारमा आउन थाले ।

इन्टरनेटको बजारमा प्रतिस्पर्धा बढेसँगै सन् २००५ मा उनले एउटा ठूलो साहसिक निर्णय लिए । अमेजनले अब किताब र सीडीसँगै उपभोक्ताका लागि विद्युतीय सामान, पहिरन हार्डवेयरजस्ता सामानहरु पनि बेच्ने भयो ।

त्यसको एक वर्षपछि अमेजनले क्लाउड कम्प्युटिङका लागि अमेजन वेब सर्भिस पनि थप्यो । सन् २००६ मै अमेजनले ‘अनबक्स’ का नाममा भिडियो स्ट्रिमिङ सेवा पनि ल्याएको थियो । कालान्तरमा गएर यही ‘अनबक्स’ नै अमेजन प्राइमका रुपमा विकसित भयो ।

सन् २००७ मा अमेजनले डिजिटल किताब पढ्नका लागि किन्डल नामक विद्युतीय उपकरण पनि ल्यायो । यस उपकरणमा पाठकले आफूले चाहेको पुस्तक किन्न, डाउनलोड गर्न र पढ्ने सुविधा थियो ।

सन् २०१० सम्म आइपुग्दा हार्डकभर किताबभन्दा किन्डलमा बिक्री हुने किताबको सङ्ख्या अधिक भइसकेको थियो । त्यही वर्ष अमेजनले मनोरञ्जनको क्षेत्रमा पनि हात हाल्दै अमेजन स्टुडियो पनि खोल्यो ।

यसरी एकपछि अर्को सफलता हासिल गर्दै आएको अमेजनको कमाइ पनि विस्तारै बढ्दै गयो । स्थापना भएको वर्ष सन् १९९५ मा अमेजनको खुद बिक्री ५ लाख १० हजार डलर थियो ।

जुन सन् १९९८ मा बढेर ६० करोड डलर पुग्यो । सन् २००८ मा १९ अर्ब १० करोड र त्यसको १० वर्षपछि सन् २०१८ मा २ खर्ब ३३ अर्ब डलर पुग्यो । सन् २०२० मा कोरोना भाइरसको महामारीसँगै विश्वभर लागू भएको लकडाउनका कारण अमेजनको आम्दानी र मुनाफा पनि ह्वात्तै बढ्यो । सन् २०२१ को जुलाई महिनामा अमेजनको कुल बजार मूल्य १८ खर्ब ८० अर्ब डलरसम्म पुगेको थियो ।

उनले वाशिङ्टन पोस्ट अखबारलाई सन् २०१३ मा २५ करोड अमेरिकी डलर नगदमै खरिद गरे । उनको पहलमा परम्परागत अखबारको शैलीमा प्रकाशित हुँदै आएको वाशिङ्टन पोस्ट अझ परिष्कृत तथा भविष्यमुखी डिजिटल छापा माध्यमका रुपमा आफ्नो पहिचान स्थापित गरिसकेको छ ।

आफ्नो विशिष्ट भिजन, मिहिनेत र संघर्षबाट सफलता पाएका जेफ बेजोसको सफलताले विश्वभरका युवाहरुलाई उर्जा र प्रोत्साहन दिँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?