मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भाषा र संस्कृति नजान्दाको चोटले ‘मिस तामाङ’ को उपाधि जितेकी रिया

काठमाडौँ– मम्स इन्टरनेशनलको आयोजनामा शनिवार राजधानीमा भएको मिस तामाङ २०२४ को ग्राण्ड फिनाले अन्तर्गत काठमाडौं तारकेश्वरकी २० वर्षीया रिया लामा तामाङले उपाधि जितिन् ।

ताजसहित घरमा पुगेकी उनलाई हजुरबुवा श्याम बहादुर लामाले बधाई दिए ।

बधाई दिँदै हजुरबुवाले भने, ‘स्याबास ! तिमीले त मैले पनि बोल्न नजानेको भाषा बोलेर देखायौ ।’

हजुरबुवाका यी शब्दहरुले साँच्चिकै रिया निकै भावुक बनिन् र गर्वको महसुस गरिन् । उनलाई मिस तामाङको ताज जित्नुभन्दा पनि मञ्चमा परिचयात्मक चरणमा तामाङ भाषामै आफ्नो बारेमा भन्न सक्नु गर्वको कुरा थियो ।

‘मलाई तामाङ भाषा बोल्न आउँदैन, परिवारमा पनि कसैले बोल्नुहुन्न’, उनले भनिन्, ‘हजुरबुवाले त टिबेटियन भाषा बोल्नुहुन्छ, हाम्रोमा कल्चर पनि तामाङको भन्दा शेर्पाहरुसँग मिल्छ ।’

तामाङ समुदायको भए पनि किन फरक संस्कार, भाषा र परम्परा छ भनेर रियाको मनमा प्रश्नहरु उठ्न थाले । त्यही प्रश्नको उत्तर खोज्न उनी मिस तामाङको मैदानमा उत्रिइन् ।

रियाका अनुसार उनका हजुरबुवा, बुवा सबै काठमाडौं स्वयम्भू आपपासमै हुर्के । लामा गुरुहरुको संगतले हजुरबुवाले तामाङभन्दा पनि तिब्बती भाषा सिके । भाषा मात्र होइन, रियाको घरमा संस्कृति र परम्परा पनि तिब्बती नै चल्यो ।

उनको घरमा सोनाम ल्होछार होइन, ग्याल्पो ल्होसार मनाइन्थ्यो । पहिरनमा बख्खु नै लगाइन्थ्यो । जब रिया जात, धर्म र समुदायका बारेमा बुझ्ने भइन्, तब मात्र उनले आफ्नो मौलिक पहिचान के हो भन्नेबारे थाहा पाइन् ।

मिस तामाङको पहिलो अडिसन राउण्डमा नै उनी आमाको विवाहको पहिरन बख्खु लगाएर पुगेकी थिइन् । उनी त्यहाँ भाषाबाट त अलग थिइन् नै मौलिक पहिरनबाट पनि अलग नै भइन् । उनले लगाएको पहिरन तामाङ समुदायको संस्कृतिसँग मेल खाँदैन भन्ने कुराले उनी एकैछिन अलमल्ल परिन् ।

त्यसपछि आफ्नो यथार्थ कुरालाई उनले निर्णायक टोलीलाई ढुक्क भएर सुनाइन् । उनी त्यहाँ तामाङ भाषा र संस्कृतिलाई खोज्न पुगेकी थिइन् । आफू तामाङ हुनुको वास्तविक पहिचानको भोकलाई उनी मिस तामाङको प्लेफर्ममा गएर मेटाउन चाहन्थिन् ।

पछिल्लो समय बसाइसराइ, शहरीकरण र आधुनिकीकरणले युवा पुस्ताहरु आफ्नो मौलिक संस्कृतिबाट टाढा भइरहेका छन् । अभिभावकले भाषा र संस्कृतिबाट सन्तानलाई टाढा बनाइदिँदा रिया जस्तै कैयौं युवाहरु पहिचानको भोका छन् ।

उनीहरु आफ्नो पहिचान, संस्कृति र भाषा सिक्न चाहन्छन् तर उनीहरुलाई सिकाउने समाज छैन । भाषा र पहिचानका लागि भौँतारिरहेका युवापुस्ताको प्रतिनिधि पात्रका रुपमा रिया मिस तामाङको मैदानमा थिइन् ।

उनलाई लाग्छ, शायद आफ्नो पहिचानको खोजलाई बुझेर नै उनलाई अडिसन राउण्डमा छनोट गरियो । अन्ततः उनले ताज नै जितिन् ।

रियाको पहिचान खोजी यात्रा

रिया सानैदेखि कला क्षेत्रमा रुचि राख्थिन् । कलासँगै आफ्नो पहिचानको खोजीमा पनि उनको उत्तिकै खोजी थियो । घरमा चाडपर्व मनाइरहँदा होस् या मौलिक पहिरन लगाउँदा उनी हजुरबुवालाई त्यसबारे सोधीखोजी गर्थिन् । जब उनी हर्किँदै गइन्, तब आफू तामाङ रहेछु भन्ने ज्ञान भयो ।

तामाङ भए पनि उनको घरको संस्कार र अरु तामाङ समुदायमा नितान्त फरक थियो । यसले उनलाई झनै सोचनीय बनायो । मोडलिङ क्षेत्रमा आएपछि बिस्तारै उनले आफ्नो संस्कारबारे अझै बुझ्दै गइन् ।

पछिल्लो चार/पाँच वर्षदेखि उनी कला क्षेत्रमा आवद्ध छिन् । उनले यस अवधिमा ‘भिमफेदी गाइज’ समूहको ‘चिरबिर गर्ने’, मदन घलानको ‘सोल्टीनीको गाउँ’, राजु लामाको ‘मैच्याङ’ लगायतका म्युजिक भिडियो’मा अभिनय गरेकी छिन् ।

युवाहरुको प्रोत्साहन स्वरुप स्थापना गरिएको संस्था ‘ल्याण्ड आवर फ्युचर’ संस्थाकी उनी सांस्कृतिक राजदूत समेत हुन् । उक्त संस्थाबाट उनको समूहले सांस्कृतिक कार्यक्रमदेखि स्वास्थ्य सेवाका कार्यहरु समेत गर्दै आएको छ ।

यसरी रियाले घरभित्र भन्दा पनि बाहिरी संसारमा तामाङ संस्कारबारे बढी बुझ्ने मौका पाइन् ।

‘आफ्नो भाषा पनि बोल्न नआनेलाई के तामाङ भन्नु ?’ यो प्रश्न  र आलोचनालाई उनले बाहिरी संसारमा धेरै नै झेलिन् । यही आलोचना दोहोरिरहँदा उनको मन खिन्न हुन्थ्यो । यसबारे उनी घरमा पुगेर पनि गुनासो गर्थिन् । कला क्षेत्र समुदायका तामाङ कलाकारसँग सहकार्यमा भने उनले केही बुझ्ने र सिक्ने मौका पाइन् ।

संस्थाको कामकै सिलसिलामा उनले पूर्व मिस तामाङ सफलता तामाङलाई भेटिन् । तामाङले पनि उनलाई ‘मिस तामाङ’को प्लाटफर्मबारे धेरथोर बताएकी थिइन् । त्यसपश्चात् भने उनले मिस तामाङको मैदानमा प्रतियोगीका रुपमा सहभागी भएर केही सिक्ने अठोट गरिन् ।

मिस तामाङ यात्राको सङ्घर्ष

रियालाई मिस तामाङ यात्रामा पहिलो समस्या नै भाषामा थियो । उनलाई त्यहाँ भाषासँगै आफ्नो तामाङ संस्कारलाई नजिकबाट बुझ्न पाइएला भन्ने मनमा लोभ थियो ।

भाषा र संस्कार सिकेर उनीजस्ता कैयन् युवालाई बुझाउनुपर्छ भन्ने उनको दृढ संकल्प थियो । उनको त्यही संकल्पले उनी अडिसन राउण्डबाट अगाडि बढ्न सफल भइन् । प्रस्तुतिदेखि तामाङ बाहेक नेपाली र अंग्रेजी भाषा संवादमा उनको राम्रो थियो ।

साथीभाइसँग घुलमिल र सामुहिक क्रियाकलाप जस्ता सामाजिक उपस्थितिको पाटोमा पनि उनको राम्रै सहभागिता थियो ।

ग्राण्ड फिनालेमा भने सहभागीहरुले अनिवार्य रुपमा मातृभाषा नै आफ्नो परिचय, खुबी र रुचीबारे आम दर्शकलाई सुनाउनुपर्थ्यो । यस क्रममा उनले आफ्ना शब्दलाई नेपाली भाषामा उतारिन् र अन्य प्रतियोगी साथीहरुको सहयोगमा तामाङ भाषामा अनुवाद गरिन् ।

त्यही अनुवादकै आधारमा उनले आफ्नै भाषामा आफ्नो परिचय दिएको जोय नेपालसँगको कुराकानीमा सुनाइन् ।

उनका अनुसार भाषा र संस्कार नजान्नु उनी र उनीजस्ता युवा पुस्ताको कमजोरी होइन । यसमा आफ्नो भाषा र संस्कृतिबाट युवा पुस्तालाई अलग गराइरहेको अग्रज पुस्तालाई उनी दोष दिन्छिन् ।

‘भाषा बोल्न र आफ्नो बारेमा थाहा नहुनुमा हाम्रो के नै गल्ती छ र ?  यो त हाम्रो कमजोरी होइन नि, हामीलाई हाम्रै अभिभावकहरुले किन भाषा र संस्कार सिकाउनु भएन?,’ उनले प्रश्न गरिन् ।

मिस तामाङको ताज शिरमा पहिरिएपछि आफ्नो भाषा  र संस्कारको ठुलो जिम्मेवारी बोकेको उनलाई महसुस भएको छ । तामाङ भाषाको संस्कृति र भाषाबारे उनले केही कुरा बुझिन् । आगामी दिनमा उनलाई अझै बृहत् रुपमा सिक्नु छ र नयाँ पुस्तालाई सिकाउनु छ ।

उनी चाहन्छिन्, उनी जस्तै नयाँ पुस्ता आफ्नै संस्कार र पहिचानबाट अलग हुन नपरोस् । पहिचानविहीन भएर बाँच्दा भोग्नु परेको मानसिक सास्ती अब भोलिको पुस्तामा नपरोस् भन्ने सोच उनको छ ।

कलासँगै तामाङ भाषा र पहिचानकै क्षेत्रलाई अगाडि बढाउने उनको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?