मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुमारीको चित्र विवाद

नेवा सम्पदा अभियन्ता भन्छन्, ‘कुमारी’ देवीलाई भित्तामा कोरिनु असंवेदनशील कार्य हो

काठमाडौँ– केही दिनदेखि काठमाडौंस्थित सुन्धाराका भित्तामा कोरिएका भित्तेचित्रको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ । यसलाई काठमाडौँ महानगरले गरेको रचनात्मक कार्यका रुपमा व्याख्या गरिएको छ ।

ती कलात्मक चित्रमध्ये एक चित्रको मुहारका केही भागमा रातो रङ छिटा देखिने ‘कुमारी’ देवीको स्वरुपले भने धेरैको ध्यान खिचेको छ ।

जीवित देवी भनिने कुमारीको स्वरुप उतारिएको उक्त चित्रलाई लिएर नेवा सम्पदा संरक्षण अभियन्ताहरुले विरोध जनाएका छन् ।

अहिले उक्त चित्रको मुहारको स्वरुपमा केही परिर्वतन गरिए पनि नेवा सम्पदा संरक्षण अभियन्ताहरूले महानगरका भित्तामा कुमारीको चित्र कोर्न नहुने भन्दै विरोध जनाएका हुन् ।

सो चित्रलाई लिएर विरोध भएपछि भित्तेचित्र सिर्जना टोलीका संयोजक तथा कलाकार डीबी भण्डारीले चित्र बनाउँदै गरेको अपूरो अवस्थाको चित्र सामाजिक सञ्जाल तथा मिडियामा सार्वजनिक भएको बताएका छन् ।

‘अहिले फाइनल देखिएको चित्र नै महानगरबाट स्वीकृत भएको चित्र हो,’ उनले भने, ‘मिडियामा आएको कुमारीको चित्र हामीले बनाइरहेकै अपूरो काम हो, त्यसमा फाइनल टच आउनै बाँकी छ ।’

जीवित देवीका रुपमा पूजा गरिने कुमारीमाथिको आस्थालाई बिगार्ने कलाकारहरुको मनोसाय नभएको उनले प्रस्ट पारे ।

काठमाडौँलाई सुन्दर बनाउने अभियानमा काठमाडौं महानगरपालिकाले शहरका भित्ताहरु रङ्गाउने अभियान झण्डै दुई सातादेखि थालेको छ । जेठ मसान्तसम्ममा पूरा गरिने भनिएको परियोजनामा महानगरपालिकासँग नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेको छ ।

प्रतिष्ठानले कलाकार छनोट र भित्तेकला रङ्गाउने कार्य थालनी गरेको हो । शुरुवाती चरणमा सुन्धारा क्षेत्रबाट कार्य शुभारम्भ गरिएको थियो ।

सुन्धारा क्षेत्रमा अहिले विशेषत नेवा संस्कृति, सम्पदा र जनजीवनलाई झल्काउने चित्रहरु कोरिएका छन् । जहाँ काठमाडौंका मन्दिर, खर्पनमा तरकारी बोकिरहेको, तानमा बत्ती काटिरहेकी र नेवा परम्परात पहिरनमा सजिएकी महिलाहरुको चित्रण गरिएको देखिन्छ ।

काठमाडौं क्षेत्रको सांस्कृतिक तथा धार्मिक सम्पदालाई चित्रण गर्ने क्रममा महानगरले कुमारीको चित्र सिर्जना परियोजनामा राखेको कलाकार भण्डारीले सुनाए ।

यद्यपि ‘काठमाडौंको सम्पदा जोगाऔं’ भन्ने अभियानमा सक्रिय नेवा सम्पदा अभियन्ताहरुले भने ‘कुमारी’ देवीलाई कुनै भित्तामा कलाका रुपमा चित्रण गर्न नहुने धारणा राखेका छन् ।

कुमारीका रुपमा रथ या कुमारी घरलाई प्रतिकात्मक रुपमा राखेपनि सिधै कुमारीलाई जथाभावी भित्ताहरुमा चित्र बनाएर राख्न नहुने ‘सेभ नेवा भ्याली’का अभियन्ता तथा गजलकार शैलेश शाक्य भिक्षुको भनाइ छ ।

यसरी कुमारीलाई जथाभावी राख्दा देशले मान्ने देवी र नेवा परम्परामाथि नै आँच आउने उनले बताए ।

जोय नेपालसँगको कुराकानीमा उनले भने, ‘कुमारी राष्ट्रले मान्ने देवी हो । भित्तामा लेख्ने काम नगरौं भन्ने हाम्रो अनुरोध छ । कुमारीको रुपै बिगार्ने गरी कलाकारहरुले मनेमानी गर्न पाइँदैन भन्ने हाम्रो भनाइ हो ।’

उनले यसलाई मेटेर कुमारीको धार्मिक आस्था तथा जात्राहरुबारे चित्र सिर्जना गर्न महानगर र कलाकारहरुलाई आग्रह गरेका छन् ।

भित्तामा कुमारीको चित्र बनेदेखि नै समाजिक सञ्जालमार्फत नियमित यस विरुद्धमा आवाज उठान गरे पनि सम्बन्धित पक्षले बेवास्ता गरेको उनको आरोप छ ।

काठमाडौंको सौन्दर्य बढाउन चित्रहरु कोर्नु निकै राम्रो पहल भए पनि धार्मिक आस्था र परम्परामाथि आँच पुग्ने कुरामा कलाकार तथा महानगर संवेदनशील बन्नुपर्ने अर्का अभियन्ता आलोकसिद्धि तुलाधरको भनाइ छ ।

काठमाडौंको अनुपम कला, संस्कृति र धार्मिक पाटोमा महानगर असंवेदनशील बन्दै आएको उनको आरोप छ ।

‘अहिले कुमारी देवी मात्र होइन, काठमाडौंको सम्पदा मास्न यो भन्दा अघि पनि प्रयासहरु भएका छन् । काठमाडौँको सम्पदा कलाको दृष्टिमा मात्र होइन अति संवेदनशील छ भन्ने कुरामा महानगरको दृष्टि पुगेको छैन,’ उनले भने ।

मौलिक तथा परम्परागत सम्पदा र संस्कृतिको पाटोमा सम्बन्धित निकायहरुले आफूखुसी भन्दा पनि सम्पदा विज्ञहरुको सल्लाह सुझावमा कार्ययोजना अगाडि बढाउनुपर्ने उनको ठम्याइ छ ।

आम मानिसले खोट देखाएपछि गल्ती सच्याउने बाटो देखाउनुको सट्टा धैर्य भएर काम गर्नुपर्ने उनको सुझाव छ ।

चित्र सिर्जनाको पाटोमा ललितकला प्रतिष्ठानले नै जिम्मेवारी लिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

उनले भने, ‘कुमारीको मुहारमा रातो छिटाको विषयमा असन्तुष्टिका धारणाहरु आएकाले त्यसमा सच्चाइसकेको छ । हामीले देश र जनताका लागि काम गरेका हौं । यसमा चित्त बुझ्दैन भने सच्याउन सकिन्छ ।’

कुमारीको भित्ते चित्र मेट्ने वा सच्याउने भन्ने विषयमा प्रत्यक्ष रुपमा निर्देशन सम्बन्धित पक्षबाट नआएको उनले सुनाए ।

अपूरो कुमारीको चित्रबारे नै केही असन्तुष्टि देखिएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले बताए ।

चित्र निर्माण क्रममा देखिएजस्तो हालको चित्रमा नभएको उनको भनाइ छ । यसमा विरोधै जनाउनुपर्ने अवस्था नभएको उनको बुझाइ छ ।

भित्तेचित्र कोर्ने समूहमा हाल विक्रम तामाङ, जीवन लामा लगायतका कलाकारहरु छन् । यही टोलीले त्रिपुरेश्वर दशरथ रंगशालामा खेलकुद र पर्यटकलाई केन्द्रित गरेर एयरपोर्टमा देश झल्कने चित्रहरु कोर्नेछन् ।

त्यस्तै माइतीघर, भृकुटीमण्डपस्थित प्रदर्शनी मार्ग, लैनचौर, मीनभवन मार्गमा भित्ते कला सिर्जना गर्दै जाने संयोजक भण्डारीले सुनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?