मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शनिवार विशेष

पच्चीस वर्षपछि संगीतमा पुनरागमन गरेकी साहित्यकार पद्मावती सिंह

साहित्यकारको संगीत यात्रा

काठमाडौँ– ‘अनायासै आज तिमीसँग भेट्दा

आँधि चल्यो मनभित्र तिमीले हेर्दा

७५ वर्षको उमेरमा यी प्रेमिल शब्दहरुमा सुमधुर स्वर भरेर आख्यानकार पद्मावती सिंहले गीत संगीतमा २५ वर्षपछि पुनरागमन गरेकी छिन् । उनकै शब्द र संगीतकार राजु सिंहको संगीतमा यो गीत हालै मात्र सार्वजनिक गरिएको हो ।

आख्यानकार सिंहको शब्द सिर्जना र सुमधुर स्वरको सबैले खुलेर प्रशंसा गरेका छन् । 

उपन्यास तथा कथा सिर्जनाका माध्यममा आख्यानकारका रुपमा आफूलाई स्थापित गरेकी सिंहको पछिल्लो गीति सिर्जनाले धेरैलाई आश्चर्यमा पारेको छ ।

त्यसो त नेपाली साहित्यमा पद्मावतीको विशिष्ट स्थान छ । उनले रचना गरेका कथा र उपन्यासको साहित्य क्षेत्रमा अतुलनीय योगदान छ । उनले एक दर्जनभन्दा बढी कृति रचना गरेकी छिन् ।

दुई हप्ताअघि पद्मावतीले आधुनिक गीत ‘अनायासै आज’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यो उनको सांगीतिक फाँटमा कमब्याक पनि हो ।

एक त बुढ्यौली उमेरमा पनि कोकिल स्वर । अर्कातिर लेखनमा समेत जमेकी पद्मावतीको संगीत सिर्जना, क्षमता र रुचिबारे धेरैलाई थाहै थिएन । समकालीन स्रष्टा उनका गीति रचना र गायकी क्षमताबारे जानकार भए पनि त्यसपछिका पुस्ताहरुमा उनी कथाकार र उपन्यासकारकै रुपमा साहित्य क्षेत्रमा परिचित थिइन् ।

संगीतकार राजु सिंह समेत उनको स्वर सुनेर एकछिन चकित भएका थिए । राजुले पनि उनलाई साहित्यकारका रुपमा मात्र नजिकबाट नियालेका थिए । शुरुमा गीत रेकर्डमा उनलाई गाह्रो होला कि भन्ने राजुलाई लागेको थियो ।

गीत रेकर्डिङको कुरा चलेपछि मात्र उनले स्वर रेकर्ड गरेर पठाएकी थिइन् । सिंहले त्यसमा धुन भर्ने काम गरे । केहीदिनपछि नै सहजै रुपमा गीत रेकर्ड भयो ।

‘यो उमेरमा पनि उहाँको स्वर सुनेर म त चकित भएँ,’ उनले भने, ‘साहित्यमा उहाँजस्तो प्रसिद्ध मान्छे संगीतमा फेरि आउनुभएको छ, यो संगीत क्षेत्र र अहिलेको जेनेरेसनको लागि ऊर्जा पनि हो ।’

आफ्नो गीत रेकर्ड भएर बाहिर आएपछि आख्यानकार सिंहलाई आनन्दसँगै संगीत क्षेत्रमा आएको ठूलो परिर्वतनले झन चकित पारेको छ । संगीतमा प्रयोग हुने उच्चतम प्रविधिले गीत सिर्जनालाई निकै सहज बनाएको रहेछ भन्ने उनले पत्तो पाइन् ।

चाहिएको ठाउँमा रोकेर पुनः गाउन मिल्ने, नमिलेमा काँटछाँट गरेर थपथाप गर्न मिल्ने र स्वरलाई समेत मिलाउने प्रविधिको विकासले उनलाई आश्चर्यचकित बनायो ।

‘मैले त रिहर्सल नै नगरिकन सिधै गएर गाएँ, खासै गाह्रो भएन, अहिले त बिग्रे पनि पछि मिलाउन मिल्ने रहेछ, आधा गाएर अल्छि लागे भोलि गएर रेकर्ड गर्न पनि मिल्ने, अहिले त पहिलेभन्दा धेरै सजिलो भएछ’, उनले गीत रेकर्डिङको अनुभव सुनाइन् ।

यसअघि वि.सं. २०३३ सालमा रेडियो नेपालमा स्वर परीक्षणको त्यो समय अझै उनको स्मरणमा ताजै छ ।

वाद्यवादनसँगै गाउनुपर्ने, एक ठाउँमा बिग्रेमा पुन: दोहोर्‍याएर शुरुदेखि गाउनुपर्ने र एउटा गीतलाई लामो समयसम्म ‘रिहर्सल’ गर्नुपर्ने ती दिनहरुलाई उनले सम्झिइन् ।

शिवशंकर, नातीकाजी जस्ता संगीतका हस्तिहरुका अगाडि बाजाको तालमा पहिलोपटक गाउँदा केही हडबडाए पनि उनी स्वर परीक्षामा उत्तीर्ण भएकी थिइन् । त्यसपछि लगत्तै उनकै शब्दमा ज्ञानबहादुर श्रेष्ठको संगीतमा ‘थाहा नभएको होइन मलाई’ बोलको गीत रेडियो नेपालबाटै रेकर्ड भयो ।

रेडियो नेपालको सञ्चार विभाग अधिकृतमा जागीरे जीवनकै समयमा तत्कालीन कार्यक्रम सञ्चालक दामोदर अधिकारीले नै उनलाई स्वर परीक्षाको चाँजोपाँजो मिलाइदिएका थिए ।

त्यतिबेला उनी साहित्यमा जमिसकेकी थिइन् । खासमा बाल्यकालदेखि नै नृत्य र संगीतमा उनको विशेष रुचि थियो । नृत्यको सौखलाई छोडे पनि संगीतलाई भने उनले छोड्न सकिनन् ।

वि.सं. २०३३ सालदेखि संगीतमा गायिकाको पहिचान बनाएकी पद्मावती संगीतमा भन्दा साहित्य सिर्जनातिर बढी लागिन् । साहित्यतिर नै उनको बलियो पहिचान स्थापित भयो । २०३३ सालदेखि २०५५ सालसम्ममा उनले दुईवटा गीति एल्बम ‘जीन्दगीका गीतहरु’ र ‘धेरै दिनपछि’ सार्वजनिक गरिन् ।

यी दुई एल्बममा उनका झण्डै २५ गीत समावेश थिए । आधुनिक र भजन गीत गरी झण्डै ४० को हारहारीमा गीतहरु गाएको उनी सुनाउँछिन् । ‘धेरै दिनपछि’ एल्बममा समावेश ‘धेरै दिनपछि तिमी याद आयौ’ बोलको गीत गोठालो फिल्ममा दीपा झा र बाबुल सुप्रियोले स्वर दिएका छन् ।

यसले पनि उनलाई संगीतमा चिनाउने काम गर्‍यो । उनको ‘साउन आयो रिमझिम गरी परदेशी आएन’ बोलको गीतले पनि निकै चर्चा पाएको उनी स्मरण गर्छिन् । गीतमा कवि दैवज्ञराज न्यौपानेको शब्द र राम थापाको संगीत समावेश थियो । 

वि.सं. २०५५ सालपछि भने लेखनमा अझै उनी अभ्यस्त भइन् । विभिन्न परियोजनामा जागीरे जीवन र साहित्य सिर्जनाले उनको सांगीतिक पाटो ओझेल पर्‍यो । ६० को दशकपछि संगीत क्षेत्रमा प्रविधिले फड्कोले संगीत सिर्जना खर्चिलो विधामा परिणत भयो ।

यसले गर्दा पनि उनको सांगीतिक सिर्जना धीमा गतिमा अगाडि बढ्दै ठ्याक्कै रोकियो ।

रेडियो नेपालमा गीत रेकर्डिङ गर्दा गाउनेको खर्च हुँदैन थियो । गाए बापत केही रुपैयाँ रकम समेत गायकगायिकाले पाउँथे । अहिले एउटा गीत सामान्य रुपमा बाहिर ल्याउन पनि कम्तिमा एक लाख रुपैयाँ लाग्ने उनको भनाइ छ ।

भिडियोसहित ल्याउनैपर्ने संगीत बजारको बाध्यताले रहर हुँदाहुँदै पनि गीत सार्वजनिक गर्न नसकिरहेको उनले बताइन् ।

‘म संगीतबाट कहिल्यै टाढा भएको छैन । लेखन र काममा बढी व्यस्त भएँ । सिर्जनामा नदेखिएपनि मेरो मनबाट संगीत हटेको थिएन,’ उनले सुनाइन् ।

अहिले प्रत्येक दिनजसो सिंह हिन्दी तथा नेपाली गीतहरु गुनगुनाउँदै सामाजिक सञ्जालमा शेयर गर्छिन् । खासमा सामाजिक सञ्जालमा उनको स्वर सुन्नेहरुले नै उनलाई पछिल्लो गीत रेकर्ड गर्न हौसाएका थिए ।

करेसाबारी र फूलबारीमा गुनगुनाउँदै अहिले उनको समय बितिरहेको छ । उनी अधिकांश सर्जकका गीतहरु सुन्छिन् । राम्रो लाग्ने बित्तिकै सामाजिक सञ्जालमार्फत अरुलाई पनि सुनाउँछिन् ।

प्रविधिले जति सजिलो बनाएको छ, त्यति नै संगीतमा साधनाको कमी हुन सक्ने उनको ठहर छ । संगीत होस् या हरेक क्षेत्रमा साधना अनिवार्य हुने उनको मत छ ।

अब एकल सांगीतिक साँझ गर्ने उनको रहर छ ।

‘मेरो स्वर अझै बिग्रिएको छैन । एकल सांगीतिक साँझ गर्ने रहर छ तर खर्च धेरै लाग्ने रहेछ । थुप्रो रहर मात्र बोकेर के गर्ने ? कोहीसँग मिलेर गर्न पाए सजिलै हुन्थ्यो होला,’ उनले आफ्नो रहर  सपनाको पोको खोलिन् ।

उनकै गीत सुनेर अन्य अग्रज साहित्यकार समेत गीत संगीततर्फ आउन हौसिएको संगीतकार सिंहले सुनाए । आख्यानकार सिंहको रहर र सपनाले यो समयको सांगीतिक क्षेत्रमा समेत साधनामा ठूलो उत्प्रेरणा मिलेको उनको मत छ । 

लेखनमा अझै सक्रिय

वि.सं. २०२२ सालमा आरती साप्ताहिकमा ‘पत्थरको हृदय’ कथा प्रकाशित भएपछि उनी नेपाली साहित्यमा सक्रिय भइन् । लेखनमा मात्र नभएर ‘गुञ्जन’ जस्ता थुप्रै साहित्यिक संस्थाहरुमा समेत उनी अझै आवद्ध छिन् । वि.सं. २०५४ सालमा स्थापना भएको ‘गुञ्जन’ साहित्यिक संस्थाकी उनी संस्थापक अध्यक्ष समेत हुन् ।

‘कथादि’, ‘कथायाम’, ‘कथाकार’, ‘पद्मावतीका कथाहरु’, मौन स्वीकृति, ‘समय–दंश’, ‘एक झुल्को घाम’ र ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरु’ गरी आठ वटा कथासंग्रहहरु प्रकाशित छन् ।

उनका प्रकाशित उपन्यासहरुमा ‘मौन अक्षर’, ‘समानान्तर आकाश’ र ‘निःशब्द यात्रा’ छन् । अहिले उनी चेपाङ समुदायको यथार्थ कथालाई आफ्नो उपन्यासमा ल्याउने जोशमा छिन् । समुदायमा पुगेर अध्ययन र अनुसन्धान गरिसकेकी उनी लेखनलाई शुभारम्भ गर्ने तयारीमा जुटेकी छिन् ।

काठमाडौंको ओम बहालमा जन्मिएकी उनले ग्रामिण परिवेश र दुःखलाई नजिकैबाट देख्न र भोगिनन् । उनको हजुरबुवा र बुवा समेत दरवारसँग नजिक थिए । बुवा दरवारको बडा सुब्बादेखि मन्त्रि समेत भए ।

यद्यपि ‘समानान्तर आकाश’ जस्तो चर्चित कृतिमा उनले ग्रामिण समाजको दुःख र महिलाको अवस्थालाई उतारेकी छिन् । अहिले चेपाङ बस्तीको दुःखलाई उतार्ने सुरमा छिन् । उनलाई लाग्छ, नेपाल भनेको काठमाडौं मात्र होइन ।

जागीरकै सिलसिलामा उनी परिवार नियोजन संघमा एक दशकभन्दा लामो समय ‘नियोजन’ पत्रिकामा सम्पादकको भूमिमा रहिन् । यसबाट उनले धेरेथोर समाज बुझिन् ।

‘सेभ द चिल्ड्रेन’मा प्रोजेक्ट म्यानेजर भएर काम गर्दा उनी थुप्रै गाउँ–गाउँमा पुगिन् । त्यहाँ उनले यथार्थ नेपाल देखिन् । महिलाको दुःख, पीडालाई उनले कामसँगै आफ्नो साहित्य सिर्जनामा समेत उतारिन् ।

उनका अनुसार प्रोजेक्ट कार्यको क्रममा गोरखा पुग्दा देखेको दृश्यहरुले उनको उपन्यास ‘समानान्तर आकाश’ जन्मिएको हो । त्यसमा ग्रामिण भेगका महिलाको अवस्था र उपन्यासको मुख्य पात्र यथार्थ भएको उनले सुनाइन् ।

‘मेरो लेखनमा हाम्रै समाजमा भएको यथार्थ कथाहरु नै छन्, हाम्रै समाज र मानिसहरुको कथा नै मैले लेखेकी छु’, उनले भनिन् ।

‘आइमाई पनि मान्छे हो र’ भन्ने शब्द उनले ग्रामीण भेगमा सुनिन् । त्यही शब्द र दृश्यलाई उनले उपन्यासमा उतारेकी छिन् । तामाङ, चेपाङ, गुरुङ, मगर, राई, ब्राह्मण, क्षेत्री प्रत्येक समुदायमा भएका फरक संस्कृति र परम्पराहरु लेखनमा आउनुपर्ने उनको भनाइ छ ।

साहित्य सिर्जना नै भएपनि कल्पनामा नभएर सत्यतथ्यमा आधारित भएर लेख्नुपर्नेमा उनको जोड छ । पछिल्लो समय लेखक भन्दा पाठक विज्ञ भएको सुनाउँदै उनले लेख्ने सर्जकहरुलाई शोध र अध्ययनका आधारमा लेख्न सुझाइन् ।

समाजको यथार्थतालाई समाएर लेखेमात्र पाठकले आफ्नै कथाका रुपमा स्वीकार गर्छन् भन्ने उनलाई लाग्छ ।

त्यसैले त उनी बुढ्यौली उमेरमा पनि चेपाङ बस्तीको कथालाई अध्ययन अनुसन्धान गरेर जोश र जाँगरका साथ लेख्ने तयारी अवस्थामा छिन् । सकेसम्म यो वर्षभरिमा नै उपन्यास सकाउने उनको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?