मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूचना प्रविधि

यसरी शुरु भयो इन्टरनेट युग

इन्टरनेटले कसरी काम गर्छ ?

काठमाडौँ– विश्वव्यापीकरणको आजको यो युगमा पूरै विश्वलाई जोड्ने प्रभावकारी माध्यम बनेको छ, इन्टरनेट । इन्टरनेटले हाम्रो दैनिक जीवनयापन अझ सहज बनाइदिएको छ ।

इन्टरनेटका माध्यमबाट भिडियो गेम खेल्न, समाचारहरू हेर्न, गीत सुन्न, सिनेमाहरू हेर्न र आफन्त तथा साथीभाइलाई सन्देश पठाउन समेत इन्टरनेटको व्यापक प्रयोग हुन थालेको छ ।

इन्टरनेटको माध्यमबाट देशविदेशमा भइरहेका घटना परिघटनाबारे तत्कालै जानकारी  प्राप्त गर्न सकिने भएकाले पनि इन्टरनेटको प्रयोग झनै धेरै बढिरहेको छ ।

अर्कोतर्फ इन्टरनेटमा पनि नयाँ प्रविधिहरूको विकास हुँदै अझ स्तरीय र निकै द्रुत गतिमा डाटा सार्न मिल्ने सुविधाहरू उपलब्ध हुँदै आइरहेका छन् ।

मेटाभर्सदेखि एआईको विकासमा समेत इन्टरनेटको अहम् भूमिका छ । निकै कम स्पिडमा फाइल शेयर गर्न मिल्ने इन्टरनेट पछिल्लो समय अझ अपग्रेड हुँदै तीव्र गतिमा डाटा शेयर गर्न मिल्ने गरी विकास भइरहेको छ ।

कालान्तरमा यसको विकल्प नआउला भन्न सकिने अवस्था नरहे पनि अहिलेका लागि इन्टरनेटलाई नै आधार मानेर झनै धेरै प्रयोगहरू हुनेमा वैज्ञानिकहरू विश्वस्त छन् ।

केही वर्षयता त झन् पैसा पनि इन्टरनेट केन्द्रित भएर ‘भर्चुअल क्वाइन’ को अवधारणामा अगाडि बढिरहेको छ । आज हामी अहिलेको युगमा अपरिहार्य नै बनिसकेको इन्टरनेटको विकास कसरी भएको थियो भन्नेबारेमा तपाईँलाई यो सामग्रीमार्फत बुझाउने प्रयास गर्दैछौँ ।

यसरी भएको थियो इन्टरनेटको उदय

सन्१९३९ देखि १९४५ सम्म चलेकोदोस्रो विश्वयुद्धपछि एकातिर पुँजीवादी राष्ट्र अमेरिका र अर्कोतिर साम्यवादी सोभियत संघ गरी दुई ध्रुवमा बाँडियो । सन् १९६० को दशकसम्म आइपुग्दा दुवै शक्ति राष्ट्रहरु आणविक शक्ति सम्पन्न भइसकेका थिए । यस्तो अवस्थामा परमाणु हमला र अन्य यस्तै भवितव्य आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै अमेरिकी रक्षा मन्त्रालयले तीव्र गतिमा सूचना प्रवाह गर्ने उपायबारे शोध तीव्र बनायो ।

यसका लागि एडभान्स रिसर्च प्रोजेक्ट एजेन्सी (एआरपीए–अर्पा) नेटवर्कको स्थापना गरियो । जसको उद्देश्य सम्भावित युद्धको समयमा भरपर्दो र सुरक्षित तरिकाले सूचनाको प्रवाह गर्नु थियो । यसलाई ‘अर्पानेट’ समेत भनिन्छ । ‘अर्पानेट’को स्थापनासँगै विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुले तीव्र गतिमा सूचना प्रवाह गर्ने अवधारणालाई मूर्त रूप दिने प्रयास गरियो ।

फलस्वरुप धेरै शोध, अनुसन्धान र परीक्षणपछि धेरै कम्प्युटरहरुलाई एउटै सञ्जालमा जोडेर एकअर्कामा सूचना प्रवाह गर्न अर्पानेट सक्षम भयो ।

सर्वप्रथम इन्टरनेटको शुरुवात सन् १९८३ जनवरी १ मा भएको विश्वास गरिँदै आएको छ । तर, इन्टरनेटको विकास गर्न खोज तथा अनुसन्धान भने त्योभन्दा धेरै पहिलेदेखि नै हुँदै आएको मानिन्छ ।

हिस्ट्री डटकमका अनुसार एकजना वैज्ञानिक वा इन्जिनियरले मात्रै इन्टरनेटको विकास गरेका होइनन् । यसको विकास गर्न धेरै वैज्ञानिक, इन्जिनियर र प्राविधिकहरूको अहम् भूमिका थियो ।

उन्नाइसौँ शताब्दीको शुरुमै आविष्कारक तथा वैज्ञानिक निकोला टेस्लाले ‘विश्व वायरलेस सिस्टम’बारे अवधारणा अघि सारेका थिए । यद्यपि आधुनिक इन्टरनेट विकासको श्रेय भने रोबर्ट कान र भिन्ट सेर्फ नामक दुई अमेरिकी वैज्ञानिकलाई दिने गरिन्छ ।

उक्त रिपोर्टका अनुसार इन्टरनेटका लागि पहिलो योजना सन् १९६० को दशकमा नै शुरु भएको थियो । त्यसबेला वैज्ञानिक जोसेफ कार्ल रोबनेट लिक्लाइडरले सञ्चारका लागि कम्प्युटर नेटवर्कको उपयोग गर्ने अवधारणा प्रस्तुत गरेका थिए ।

त्यसभन्दा पहिले कम्प्युटरलाई धेरै ठूलो सङ्ख्याहरुको गणना गर्नका लागि गणितीय उपकरणका रुपमा मात्रै हेरिने गरिन्थ्यो ।

त्यसको केही समयपछि वैज्ञानिकहरुले इलेक्ट्रोनिक डाटा सञ्चार गर्ने एक उपकरण निर्माण गरे । जसलाई ‘पकेट स्वीचिङ्ग’ भनिन्थ्यो । यसलाई नै इन्टरनेट आविष्कारका लागि महत्त्वपूर्ण उपलब्धि मान्न सकिने हिष्ट्री डटकमले उल्लेख गरेको छ । 

इन्टरनेटले कसरी काम गर्छ ?

इन्टरनेटले इन्टरनेट प्रोटोकल (आइपी) र ट्रान्सपोर्ट कन्ट्रोल प्रोटोकल (टीसीपी) लाई पछ्याउने प्याकेट रूटिङ नेटवर्कमा आधारित रहेर काम गर्छ ।

यदि तपाईँ कुनै इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) वा लोकल एरिया नेटवर्क ‘एलएएन’सँग जोडिनुभएको छ भने तपाईँलाई आईपी ठेगाना (आईपी एड्रेस) प्रदान गरिएको हुन्छ । यही ठेगानामार्फत इन्टरनेटसँग जोडिएका अन्य सबै कम्प्युटरसँग तपाईँको कम्प्युटर जोडिन्छ ।

इन्टरनेटमा पठाइने कुनै पनि डाटालाई ‘म्यासेज’ भनिन्छ । जुन इन्टरनेटमा पठाइनुभन्दा पहिले स–साना टुक्रामा विभाजन हुन्छन्, जसलाई पकेट भनिन्छ ।

पकेट एप्लिकेसनपछि उक्त म्यासेज ट्रान्सपोर्ट कन्ट्रोल प्रोटोकल (टीसीपी) मा पुग्छ । जहाँ हरेक पकेटले एउटा अंकको स्वरुप प्राप्त गर्छ । टीसीपीपछि पकेटहरु ‘इन्टरनेट प्रोटोकल (आईपी) तिर अघि बढ्छन् । जहाँ प्रत्येक पकेटहरुले आईपी नम्बर समेत प्राप्त गरेपछि इन्टरनेटमा पठाइन्छन् ।

त्यसपछि पकेटहरु आईएसपी अर्थात् इन्टरनेट सर्भिस प्रोभाइडर (इन्टरनेट सेवा प्रदायक) कहाँ पुग्छन् । र, आईएसपीले तिनको सही गन्तव्यतिर अर्थात् ग्राहकको राउटरसम्म ती पकेटहरूलाई पठाउँछ । र, हाम्रो कम्प्युटरले उक्त सन्देश जस्ताको तस्तै प्राप्त गर्छ ।

इन्टरनेटमा पहिलोपटक पठाइएको सन्देश

इन्टरनेटको विकासक्रममा अर्पानेटले सन् १९६९ को २९ अक्टोबरमा अमेरिकाको लस एन्जिल्सस्थित क्यालिर्फोनिया विश्वविद्यालयमा रहेको कम्प्युटरबाट अमेरिकाकै स्ट्यानफोर्डस्थित अर्को कम्प्युटरमा सन्देश पठाउन सक्षम भएको थियो ।

जसमा साधारण सन्देश ‘लगइन’ पठाइएको थियो । तर अर्को कम्प्युटरसम्म भने पहिलो दुई अक्षर अर्थात् एलओ मात्र पुगेको थियो ।

पछि सन् १९७० को दशकमा रोबर्ट कान र भिन्ट सेर्फ दुई अमेरिकी वैज्ञानिकले एउटा सञ्चार मोडेल तयार पारे । जस अनुसार डाटालाई धेरै नेटवर्किङहरुमा प्रसारण गर्न सकिन्थ्यो । सन् १९८३ मा अर्पानेटले यसलाई अपनाएपछि आधुनिक इन्टरनेटको जन्म भएको विश्वास गरिन्छ ।

इन्साइक्लोपेडिया ब्रिटानिकाका अनुसार, पछि सन् १९९० मा टिम बर्नस लीले इन्टरनेटमा सञ्चारलाई सरल बनाउन ब्राउजर, पृष्ठहरू र लिङ्कहरू प्रयोग गरेर वर्ल्ड वाइड वेब (डब्लूडब्लूडब्लू) निर्माण गरे ।

जसलाई हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल भनेर नाम दिइएको थियो ।

कसरी फैलिएको छ संसारभर इन्टरनेटको सञ्जाल?

इन्टरनेटको आविष्कार भएको धेरै समय भएको छैन । इन्टरनेटको सञ्जाल धेरै फाइबर अप्टिक केबलहरू मिलेर बनेको हुन्छ ।

जसले धेरै साना नेटवर्कहरूलाई एकसाथ जोड्दछ । यी केबलहरूले अप्टिकल सिग्नलहरूको रूपमा एक नेटवर्कबाट अर्को नेटवर्कमा डेटा बोक्छन् । विश्वमा रहेको अन्टार्कटिका बाहेक पृथ्वीको सबै भागलाई इन्टरनेट केबलहरूले ढाकिएको छ ।

विश्वभर नै इन्टरनेट चलाउनका लागि समुद्र भित्र केबलहरू विछ्याइएका हुन्छन् । विश्वको ९९ प्रतिशत सञ्चार र डाटा ट्रान्सफर समुद्रमुनि राखिएका यिनै सञ्चार केबलहरूबाट हुने गर्छ ।

पनडुब्बी अप्टिकल फाइबर केबलहरू स्याटलाइट (उपग्रह) प्रणालीहरू भन्दा डाटा स्थानान्तरणको लागि धेरै सस्तो र नेटवर्कको तीव्रता पनि धेरै हुने विभिन्न अनुसन्धानहरुले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?