मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शनिवार विशेष

‘बालबालिकालाई प्रविधिबाट पुस्तकतिर फर्काउनु अहिलेको टड्कारो आवश्यकता हो’

नेपालको परिवेशमा साहित्यिक माहोल राम्रो बन्दै गए पनि बाल साहित्यका क्षेत्रमा त्यति धेरै सक्रियता पाइँदैन । केही दशकयता लेखकले पुस्तकबाटै कमाइ गर्ने अवस्था भए पनि बाल साहित्यको क्षेत्र भने ओझेलमा परेको छ ।

पत्रकार एवम् साहित्यकार प्रमोद प्रधान लामो समयदेखि बाल साहित्यका क्षेत्रमा कलम चलाउँदै आएका छन् । पछिल्लो समय उनी बाल साहित्य सिर्जना, खोज तथा अनुसन्धानमा सक्रिय छन् । उनले बालबालिकाको मनोविज्ञान अनुसारका कृतिहरू सिर्जना गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

साहित्यकार प्रधान पत्रकारिता तथा प्रौढ साहित्यसँगै झण्डै तीन दशकदेखि बाल साहित्यमा पनि उत्तिकै सक्रिय छन् । उनी ‘नेपाल बाल साहित्य समाज’का अध्यक्ष समेत हुन् । साहित्यकार प्रधान सत्ताइस वर्षदेखि सो संस्थामा आबद्ध छन् ।

बाल साहित्यको विकासमा निरन्तर लागिपरेका साहित्यकार प्रधानसँग यो क्षेत्रको पछिल्लो अवस्था, यसको विषयवस्तु र यसले बाल विकासमा पार्ने प्रभावबारे जोय नेपालका लागि सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:

बाल साहित्यको समकालीन सिर्जनालाई कसरी नियालिरहनुभएको छ ?

नेपाली बाल साहित्यको अहिलेको लेखन स्थिति विगतको लेखन परम्पराको आधारशिलामा उभिएर नयाँ–नयाँ विषय, नयाँ विधाहरु र नयाँ शैलीमा लेखिने क्रम शुरु भएको छ । त्यसले गर्दा नेपाली बाल साहित्य परम्परागत ढाँचामै सीमित छ भन्नुभन्दा यो चाहिँ नयाँ बाटोमा अगाडि बढिसकेको छ भन्नु उपयुक्त होला । विषयको हिसाबले धार्मिक तथा लोककथालाई  पुनर्कथन, पुनर्लेखन गर्ने भन्ने हुन्थ्यो, तर अहिले मौलिक सिर्जना प्रशस्त आएका छन् ।

ठ्याक्कै कुन अवधिलाई नेपाली बाल साहित्यको आधुनिक धारका रुपमा लिन सकिन्छ ?

यसलाई २०६० सालपछि नै लिन सकिन्छ । यस समयदेखि नै विशेषगरी विषय, शैली, विधा र उमेरका हिसाबमा पनि ध्यानमा राखेर लेखिन थाल्यो । होइन भने यो भन्दा अगाडि बाल साहित्यलाई यति गम्भीर रुपमा लिइएको थिएन । वि.सं. २०६० सालपछि चाहिँ आमूल परिर्वतन देखिएको छ । 

अहिले भरहेको सिर्जना समकालीन बालबालिका सुहाउँदो छन् त ?

सुहाउँदो भन्दा पनि विषयगत विविधता आएका छन् । हिजो हामी लोककथा र धार्मिक कथाको मात्र पुनर्कथन गथ्र्यौं भने अब हामीले बाल साहित्यमा बालबालिकालाई दिन आवश्यक रहेको अहिलेको जल्दोबल्दो समस्या लिएका छौं । अहिले वातावरणीय कथाहरु, विज्ञानका कुराहरु, बालबालिकालाई सचेतना दिन स्वास्थ्य कथाहरु लेखिन थालेका छन् । बालबालिकालाई दिइने अन्य विषयहरु जुन चाहिँ उनीहरुलाई पाठ्यक्रमबाट अब दिन सकिँदैन । नेपाली संस्कृति, पर्वहरु सम्बन्धी कुराहरु अब चाहिँ बाल साहित्यका माध्यमबाट दिन थालिएको छ । यो चाहिँ अहिलेको सबैभन्दा सकारात्मक कुरा हो ।

अहिलेको समयको बालबालिका पुस्तकभन्दा पनि मोबाइल, ल्यापटक जस्ता डिजिटल प्रविधिमा अभ्यस्त छन्, त्यस्ता बालबालिकाहरुलाई पुस्तकतिर फर्काउन कस्ता बाल सिर्जनाहरु ल्याउनुपर्ला ?

मुख्य कुरा त बालबालिकाहरुलाई प्रविधिबाट पुस्तकतिर फर्काउनु अहिलेको टड्कारो आवश्यकता देखिएको छ । तर यसको लागि बालबालिकाका लागि लेखिएका पुस्तक पनि हो भने अर्को मुख्य कुरा नियन्त्रण पनि हो । बालबालिकालाई चलाउन कति दिने, कति घण्टा दिने र कुन समयमा दिने भन्ने कुरा हामीले निक्र्योल गरेनौं भने मलाई लाग्छ । यसको समाधान छैन ।

बदलिँदो अवस्था अनुसार प्रविधिप्रति वयस्क पनि बढी आकर्षित छन् । त्यसमा बालबालिकाहरु रत्तिनु स्वभाविक हो । यसलाई त नियन्त्रया नै गर्नुपर्छ । यसमा अभिभावक र शिक्षक आफू पनि नियन्त्रित हुनुपर्छ । आफू पनि पढ्ने र केटाकेटीलाई पनि किताब पढ्न लगाउनुपर्छ । पठन संस्कृतिको विकास गर्ने हो भने यसो नगरी हुँदै हुँदैन ।

बाल सिर्जनाका नाममा बालबालिकालाई अर्ती, उपदेश वा आज्ञाकारी बनाउने खालका सिर्जना कतिको उपयुक्त छ ?

वि.सं. २०६० सालभन्दा अगाडि लेखिएका रचनाहरुमा लगभग ७५/८० प्रतिशत त्यस्तै सिर्जना थिए । जुनचाहिँ परम्परागत आधार शिलामा रहेर सिर्जना गरिएका थिए । तर त्यसपछि त्यसको उल्टो भइरहेको छ । हिजो ८० प्रतिशत उपदेश थिए भने अहिले सन्देश दिने बढेको छ । सन्देशसँगै उनीहरुलाई बाल साहित्यका माध्यमबाट उनीहरुलाई ज्ञान, सीप र देशसँग सम्बन्धित जानकारीमूलक कुराहरु दिने परम्परा शुरु भइसकेको छ । एक प्रकारले पाठ्यपुस्तक र पाठ्यक्रमदेखि बाहिर र यसलाई सघाउने खालका दुइटै खालका बाल साहित्य सिर्जनाहरु लेखिन थालेका छन् । तर पनि २०÷२५ प्रतिशत चाहिँ अझै पनि औपदेशिक छन् । ठ्याक्कै हुँदै नभएको चाहिँ होइन । 

बाल साहित्य सिर्जनामा बालबालिकाको भन्दा पनि ठूला मानिसहरुको विचार हावी बढी भयो भनिन्छ नि । यसमा तपाईको धारणा के छ ?

हामीले लेखेका रचनाहरुमा धेरै लेखकहरुमा अहिले बाल साहित्य भनेको छुट्टै विधा हो भन्ने ज्ञात भएको छ । यसमा लेख्नका लागि यो प्राविधिक कुरा पनि हो । प्रौढ साहित्य जस्तो लेखकको मनमा जे आयो, त्यही लेखेर यसमा हुँदैन । प्रौढ साहित्यमा जे आफ्नो मनमा आयो, त्यही लेखिन्छ । बाल साहित्य चाहिँ पाठक केन्द्रित हो । पाठक समूहमा पनि कुन उमेर समूह हो भन्ने हुन्छ । त्यो उमेर समूहमा बालबालिकाको विषयगत, भाषिक क्षमता लगायतका कुराहरुलाई दृष्टिकोणमा राखेर लेख्नुपर्ने छ । यो कुरा पछिल्लो चरणमा आएका नयाँ लेखकहरुले बुझेका छन् । तर हिजोदेखि नै लेखिरहेका लेखकहरुले चाहिँ यस्ता कुरामा त्यति गम्भीर देखिएका छैनन् । 

एउटा बाल सिर्जना गर्ने सर्जक कति र के कुरामा सजक हुन जरुरी छ ?

बाल साहित्य सिर्जना गरेका स्रष्टाले कुन उमेर समूहका लागि लेखिरहेको छ, त्यसमा पहिला ध्यान दिन जरुरी छ । कुन उमेर समूह र त्यो उमेर समूहले कुन विषय बुझ्छ र कुन विषय उसलाई आवश्यक छ भन्ने कुरा बुझ्नुपर्छ ।

उसको वरिपरिको उसले बुझ्ने संसार के हो, त्यो शुरुमा ध्यान दिनुपर्छ । ग्रामीण या शहरी जुन क्षेत्रका लागि लेखेपनि मुख्य कुरा हेर्ने उमेर समूह नै हो । काखमा हुने बच्चाहरुलाई पनि विदेशतिर बाल साहित्य देखाइन्छ । साना बच्चाहरुलाई पनि अक्षर हुँदैन तर चित्र र रङ मात्र चिनाइन्छ ।

त्यसमा पशु, चराचुरुङ्गी तथा फलफूलहरु देखाएर चिनाइन्छ । वास्तवमा त्यहीबाट बाल सिर्जनाहरु पढाउन शुरु गरिन्छ । यसकारण विदेशतिर पठन संस्कृति राम्रो छ । हामीकहाँ कोर्सको किताब पढ्नु मात्र पठन संस्कृति मान्यौं । हामीले औपचारिक परीक्षामा सफल हुनु नै जीवनको सफलता मान्यौं । पाठ्क्रम पढेपछि परीक्षा दिने, परीक्षापछि त्यसमा अत्यधिक अंक ल्याएर उत्तीर्ण हुन सक्यौं भने सफल भयौं भन्ने भ्रममा हामी छौं ।

यो भ्रमचाहिँ शिक्षक, अभिभावक सबैमा छ । यसले हामीलाई सीमित बनाइदियो । यसमा सरकार पनि गम्भीर देखिएन । त्यसैले यसमा समस्या भएको हो । तर पनि यसमा बिस्तारै परिवर्तन आउँछ कि भन्ने लाग्छ ।

आजको हाम्रो सिर्जनामा विश्व परिवेश अनुसार बालबालिकालाई आधुनिकता र मौलिकताको दुवै पक्षमा कसरी एकसाथ लैजान सकिन्छ ?

अहिले हामी विश्व परिवेशबाट अलग भएर रहन सम्भव नै छैन । ग्लोबलाइजेसनले विश्व नै एउटा गाउँजस्तो भएको छ । अमेरिकामा भएको कुनै कुरा हामी घरको एउटा कोठामा बसेर थाहा पाउन सक्ने अवस्था छ । तर, यसलाई मात्र अंगालेर हामी अगाडि बढ्यौं भने एकलकाँटे हुन्छौं ।

त्यसकारण हामीले दुई वटालाई नै समानान्तर रुपमा लैजानुपर्छ । बाल साहित्यको माध्यमबाट नै हामीले देशलाई चिनाउनुपर्ने आवश्यकता पनि छ । देश, हाम्रो भौगोलिक, सांस्कृतिक, भाषिक, जैविक विविधता लगायतका कुराहरु, बुद्ध, सगरमाथा, हिमाल, संस्कृतिका कुराहरु पनि हामीले बाल साहित्यको माध्यमबाट दिनुपर्छ ।

अर्को हामीले आजको आवश्यकता जस्तैः सरसफाई, वातावरणका कुरा पनि दिनुपर्छ । आज वातावरणका कुरा पनि ठूलो मुद्दा भइसकेको छ । प्लास्टिकको प्रयोगले हाम्रो खेत उब्जनीमो असर परिरहेको छ । यही कुरा हामीले आज दियौं भने बिस्तारै बिस्तारै उसले भोलि आमाबाबु र अरुलाई भन्न सक्ने अवस्था हुन्छ ।

नयाँ पुस्तालाई चाहिँ हामीले यो कुरा सिकाउन जरुरी छ । विश्व बजारमा सार्वभौम कुराहरु पनि छन् । समानता, सचेतना, भातृत्व जस्ता कुराहरु छन् । यी सबैलाई समान रुपमा लानुपर्छ ।

बाल विकासमा बाल साहित्य कति जरुरी छ ?

हामी आमाबाबुहरु बालबालिकाको शारीरिक विकासमा मात्र ध्यान दिन्छौं । खाँदाखेरी अनेक तरिकाले फकाएर अझ अहिले त मोबाइल देखाएर खुवाउन थालेको देखिन्छ । खाना खुवाउन चाहिँ हामी त्यति सचेत छौं । तर, मानसिक रुपमा हामी त्यस्तो छैनौं । मानसिक स्वास्थ्यलाई हामीले स्वास्थ्य नै ठानेनौं । मानसिक स्वास्थ्यका लागि बाल साहित्य महत्वपूर्ण कुरा हो ।

उसको शैक्षिक, संवेगात्मक, सिर्जनात्मक विकासका लागि बाल साहित्यबिना त हुँदै हुँदैन । यो कुरामा चाहिँ हामी सचेत छैनौं । यो नै सबैभन्दा हाम्रो दूर्भाग्यपूर्ण अवस्था हो ।

बाल साहित्यको फैलावटका लागि अहिले भैरहेका अभ्यासलाई कसरी लिनुहुन्छ ? यसको फैलावटका लागि कस्ता पहलहरु हुन जरुरी छन् ?

बालबालिकाहरुसम्म बाल साहित्य पुर्‍याउन पनि यस्ता संघ–संस्थाहरु हुन जरुरी छ । बालबालिकाहरुको पक्षमा पैरवी गर्ने संघ–संस्थाहरु कहाँ छन् त ? औंलामा गन्न सकिने दुई/चार वटा संस्थाहरु छन् ।

जनसंख्याको हिसाबले बालबालिकाहरु संख्या ठूलो छ । तर बालबालिकालाई हेर्ने संस्था चाहिँ दुई/चार वटा छन् । जनसंख्याको ठूलो क्षेत्रलाई हामीले उपेक्षा गरेर राष्ट्र निर्माण र समृद्धिका कुराहरु गरिहेका छौं । अनि कहाँबाट सम्भव होला त ?

वि.सं. २०४५ सालमा स्थापना भएको यही ‘नेपाल बाल साहित्य समाज’ले पनि अहिलेसम्म सरकारबाट आर्थिक सहयोग पाएको छैन । आईबीबीवाई (इन्टरनेसनल बोर्ड अन बुक्स फर योट्ग पिपुल) भन्ने संस्थाको हामी सदस्य छौं ।

सो संस्थाले हामीले पठाएको प्रपोजलको आधारमा प्रोजेक्ट दिन्छ । त्यही प्रोजेक्टलाई आएको पैसा र संस्थाले बेहोरेको आधारमा हाम्रो आफ्नो श्रमले चलिरहेको छ । त्यो प्रोजेक्ट पनि सधैं हुँदैन । वार्षिक सम्मेलन पनि हामी आफैं पैसा उठाएर गर्ने गरेका छौं ।

मुख्य कुरा चाहिँ बाल साहित्यलाई नेपाल सरकारको सम्बन्धित निकायले जसरी प्राथमिकतामा राखेर हेर्नुपर्थ्यो । त्यसरी राखिएको छैन ।

यसले गर्दा बाल साहित्य विकासका लागि अनवरत सक्रिय ‘नेपाल बालसाहित्य समाज’ जस्ता संस्थालाई पनि सरकारबाट अनुदान पाउने अवस्था छैन । यो नै सबैभन्दा समस्याको रुपमा छ । बाल साहित्यको आधिकारिक यस्ता संस्थालाई सरकारले आर्थिक तथा भौतिक रुपमा बलियो बनाएर सरकारसँगसँगै हिँडाउने वातावरण बनाउनुपर्छ । हामी एक्लाएक्लैले गरेर सम्भव नै छैन । तर पनि हामीले गरि नै रहेका छौं ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?