मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

महिनावारी रोक्ने औषधिको जथाभावी सेवन गर्दा स्वास्थ्यमा कस्तो असर पर्छ ?

महिलामा हुने महिनावारी एक प्राकृतिक प्रक्रिया हो । जुन हरेक महिनामा हुने गर्छ । हिन्दु धर्मावलम्बीमध्ये कतिपयले महिनावारी हुनुलाई अछूत मान्ने गरेको पाइन्छ । यही मान्यताका कारण महिनावारी भएको अवस्थामा महिलाहरू पूजापाठ, चाडपर्व मान्नबाट वञ्चित हुने गरेका छन् ।

विशेष चाडपर्वहरू दशैं, तिहार, पूजापाठबाट वञ्चित हुने डरले महिनावारी हुने समय भएको अवस्थामा कतिपय महिलाहरूले महिनावारीको समय पछाडि सार्न अथवा अगाडि सार्नका लागि औषधि सेवन गरेको पाइन्छ ।

त्यस्तै कतै यात्रामा निस्किनुपर्दा पनि महिनावारी नहोस् भनेर औषधिको सेवन गरेको पाइन्छ । यसरी जथाभावी औषधि सेवन गर्दा स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा स्त्रीरोग विशेषज्ञ डा. सुमी मुनंकर्मीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

महिनावारी पछि सार्न महिलाहरूले औषधि खाने गर्छन् यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ या गर्दैन ?

महिनावारी पछि सार्ने औषधिहरु भनेको हर्मोन हो । एक महिलामा महिनावारी नियमित रुपमा हुनका लागि हर्मोनहरु आफै शरीरबाट निस्कने गर्छ । जब हाम्रो शरीरमा हर्मोन सकिन्छ । यसको असर पाठेघरमा पर्ने हुन्छ र महिनावारी हुने गर्छ ।

हामीले प्रयोग गर्ने औषधिले सकिन लागेको हर्मोनलाई यथावत राख्छ र महिनावारी पर सार्छ । महिनावारी पर सार्ने औषधिले खासगरी महिलाको हर्मोन असन्तुलित बनाउन सक्छ । यस कारण औषधि सेवनपछि रक्तस्राव बढी हुने जोखिम हुन्छ । महिनावारी गडबड हुनसक्छ । जिउ समेत दुख्न सक्छ ।

त्यसो भए महिनावारी रोक्ने औषधि कति मात्रामा खान सकिन्छ ?

अत्यावश्यक अवस्थामा बाहेक यस्ता औषधिको सेवन गर्नु हुँदैन । यदि हामीले बारम्बार यी औषधि सेवन गर्‍यौँ भने लामो समयसम्म महिनावारी नहुने र अनियमित रक्तश्राव हुने गर्छ ।

जथाभावी औषधिको प्रयोगले कस्ता समस्या आउन सक्ने जोखिम हुन्छ ?

हरेक औषधिको साइड इफेक्ट हुन्छ । उदाहरणका लागि सामान्य औषधि पारासिटामोल नै हामीले धेरै मात्रामा सेवन गर्‍यौं भने यसले असर गर्छ । यसकारण हामीले कुनै पनि औषधिको सेवन गर्दा कहिले र कति मात्रामा सेवन गर्ने हो यसमा ध्यान दिन आवश्यक छ ।

यो औषधि सेवन गरेर महिनावारी रोकिन्छ तर खान छोडे लगत्तै महिनावारी हुन्छ कि हुँदैन ?

यस्ता महिनावारी रोक्ने औषधिहरुले विशेषत: हर्मोनको मात्रा बढाएर महिनावारी नगराउने हो । यो औषधिको सेवन गर्न छोडे पश्चात् स्वत: हर्मोन घट्छ र केही दिनपछि महिनावारी पक्रिया शुरु हुन्छ । यो प्रक्रिया गर्भवती नभएको अवस्थामा मात्र लागु हुन्छ । 

बजारमा यससम्बन्धी धेरै प्रकारका औषधिहरु पाइन्छन्, वास्तवमा प्रभावकारी र महिलाले सेवन गर्नुपर्ने औषधि कुन हो ?

एकै समस्याका लागि बजारमा अनेकथरी औषधिहरु उपलब्ध हुन्छन् । फार्मेसीमा विक्रीका लागि राखिएका औषधि कुन सेवन गर्न हुने र कुन नहुने भन्ने त हुँदैन तर पनि ‘प्रोजोस्टोन पिल्स’ नामक हर्मोन बढाउने औषधि सेवन गर्नु प्रभावकारी र सुरक्षित हुन्छ ।

यो औषधि प्रयोग गर्ने प्रक्रिया कस्तो छ ? महिनावारी हुनुभन्दा कति दिनअघि यो औषधि खानुपर्छ ?

यो कुरा पनि व्यक्ति विशेषमा भर पर्छ । मुख्य कुरा महिलाको महिनावारी तालिका कस्तो छ । समयमै महिनावारी हुन्छ कि हुँदैन भन्ने कुरा पनि मुख्य रहन्छ । यदि कुनै महिलामा नियमित महिनावारी हुन्छ भने हुनुभन्दा ५ देखि ७ दिनअघि यसको सेवन गर्नुपर्छ ।

यो औषधिका साइड इफेक्टहरु हुन्छन् ?

जुन तरिकाबाट हामीले औषधि सेवन गर्ने हो त्यसरी गरिएन भने वा निरन्तर धेरै मात्रामा सेवन गरियो भने महिनावारीमा रक्तश्राव नसकिँदै पुन महिनावारी हुने, महिनावारीको सात दिन पूरा भएपछि पनि बीच बीचमा ब्लिडिङ हुने समस्याहरु देखिन्छन् ।

कस्ता महिलाहरुले यस्ता औषधिको सेवन गर्नुहुँदैन ?

रगत बाक्लो हुने रोग, मोटोपन, उच्च रक्तचाप, माइग्रेन भएकाहरुले सकेसम्म यस्ता औषधिको सेवन नगरेकै राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?