मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

गर्मीमा ‘लू’ लागे के गर्ने ? कसरी जोगिने?

पछिल्लो केही दिनयता नेपालमा गर्मीले जनजीवन कष्टकर बन्दै गइरहेको छ । अझ तराई क्षेत्रमा अत्यधिक तातो हावा चल्दा जनजीवन कष्टकर बन्दै गएका विवरणहरू सार्वजनिक भएका छन् ।

मौसमविदका अनुसार अहिले तराईमा तातो हावा चले पनि यसलाई लू भन्न नसकिने अवस्था रहेको बताउँछन् ।

अत्यधिक तातो हावा चल्यो भने त्यसलाई लू भन्ने गरिन्छ । यसले मानिसमा विभिन्न रोगहरू निम्त्याउने गर्छ । लूबाट जोगिनका लागि चर्किँदो घामबाट जोगिनुपर्ने चिकित्सकहरू बताउँछन्

चिकित्सकहरूले ‘लू’ बाट बच्न विशेष शतर्कता अपनाउनुपर्ने बताउँछन् । कतिपय स्थानमा लू लाई लापरवाही गर्दा ज्यान समेत जाने गरेको पाइन्छ । ‘लू’ कस्तो रोग हो ? यस्तो समस्या के कारणले हुने गर्दछ ? यसबाट बच्न के गर्ने जस्ता विषयमा केन्द्रित भएर जनरल फिजिसियन डा. रमेश ढकालसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

लू’ कस्तो रोग हो? गर्मी मौसममा मात्रै यो रोग फैलनुको कारण के हो ?

गर्मी महिनामा अत्यधिक मात्रामा तापक्रम बढ्दै गएपछि तातो हावा बहन थाल्छ । हावामा पानीको मात्रा कम हुन्छ र यस्तो अवस्थामा श्वासप्रश्वास गर्दा सकस हुने, डिहाइड्रेसन (शरीरमा पानीको मात्रा कम हुनु) हुने गर्छ र ‘लू’ लाग्छ । तातोपन अत्यधिक भएर सास फेर्न समस्या हुने र दिमाखमा समस्या आएर मान्छेलाई रिङ्गटा लाग्ने समेत हुन्छ ।

यसैलाई ‘लू’ लागेको भनिन्छ । यो तातो हावाका कारण लाग्ने भएकाले गर्मी मौसममा मात्रै हुन्छ ।

कस्ता लक्षणहरु के–कस्ता देखा पर्दछन् ?

यसका लक्षणहरु खासै देखिँदैनन् । एक्कासी खलखली पसिना आउने, मान्छे बेहोस हुने हुन्छ । पसिना आउने, टाउको दुख्ने मुटुको धड्कन एक्कासी बढ्ने, बारम्बार प्यास लागिरहने, अनुहार रातो हुने, बिरामीमा छटपटी र उदासीनताको भाव देखिने गर्छ ।

यसबाट बच्न हामीले कस्तो सतर्कता अपनाउन सक्छौँ ?

सकेसम्म पूरै बाहुला भएको कपडा लगाउने, दिउँसो मध्य घाममा बाहिर ननिस्कने, ९ बजेपछि २ बज्नुभन्दा अगावै तापक्रम बढ्दै जाने हुन्छ । यसकारण बिहानैको समयमा वा दिनमा २ बजेपछि घामको तपक्रम बिस्तारै घट्दै जाने भएकाले यो समयमा काम गर्न निस्कने गर्नुपर्छ ।

बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी धेरै पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ पिउनु हुँदैन ।

लू लागेमा कसरी रोकथाम गर्ने, कस्ता खानेकुराहरुको सेवन गर्नुपर्छ ?

‘लू’ लागेर मान्छे ढलिसकेपछि तुरुन्तै अस्पताल पुर्‍याउनुपर्छ । ‘लू’ को प्रथम उपचार भनेको शरीरको तापक्रम कम गर्नु हो । यसबाट पीडित व्यक्तिलाई शितल, स्वच्छ हावा र वातावरण चिसो भएको राम्रो ठाउँमा सुताउनु पर्छ ।

यदि ‘लू’ लाग्यो भने नजिकको चिकित्सकबाट तुरुन्त प्राथमिक उपचार गराउनुपर्छ । जसका कारण समयमा नै सबै कुरा नियन्त्रण हुन्छ । ‘लू’ लागेको बिरामीले आफ्नो जीवन रक्षाका लागि घोल नुन, चिनी, कागती र पानीको घोल समय–समयमा पिइरहनु पर्छ ।

‘लू’ लागेपछि स्पञ्जलाई पानीमा भिजाएर बिरामीको निधार, हात, खुट्टामा दल्नुपर्छ । यसका साथै निधारमा बरफको पट्टी राख्नुपर्छ । दही र मौसमी फलफूल जस्तै सुन्तला, अंगुर, खरबुजा र मौसमको रस ‘लू’ ग्रस्त बिरामीलाई पिउन दिनुपर्छ ।

पुदिनाको सर्बत पिउनाले पनि यसबाट राहत प्राप्त हुन्छ । ‘लू’का बिरामीलाई तरल पदार्थ पिउन दिनुपर्छ ।

यो समस्याबाट कस्ता व्यक्तिहरु बढी प्रभावित हुन्छन् ?

यो समस्याबाट उमेर पाका भएका बुढाबुढी, बालबालिका गर्भवती र अन्य दीर्घरोगीहरु फेला पर्न सक्छन् ।

यसले कस्तो जटिलताहरु निम्त्याउन सक्छ ?

यस्तो समस्या सिर्जित हुँदा समयमा उपचारको पहुँचमा पुर्‍याउन सकिएन भने ज्यानै समेत जान सक्छ ।

अन्त्यमा, के सुझाव दिन चाहनुहुन्छ ?

थोरैमात्र लापरवाहीले पनि तपाईंलाई ‘लू’ ले आफ्नो सिकार बनाउन सक्छ । त्यसैले हरेक सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्छ । यदि तपाई एसी अथवा कुलरको अगाडि बस्नुभएको छ भने कहिले पनि अत्यधिक घाम अथवा हावामा नजानु होला ।

एसीमा बस्दा रक्तनलिहरु संकुचित हुन्छन् । अचानक एसीबाट सोझै चर्को घाममा जानाले शरीरको तापमान अचानक परिवर्तन हुन्छ । जसबाट खुम्चिएको रक्त नलीहरु अचानक फैलिन थाल्छ र ब्लड प्रेसर बढ्छ ।

यो स्थितिमा कुनै पनि व्यक्ति ‘लू’को सिकार बन्न सक्छ । यसकारण पानी प्रशस्त मात्रामा पिउने, चर्को घाममा अत्यावश्यक काम बाहेक बाहिर ननिस्केकै राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?