मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रविधि

एआईको बढ्दो प्रभावले कसरी खोसिँदैछ लाखौँ मानिसका जागीर?

काठमाडौँ– विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनीमध्येको एक गुगलले केही समयअघि मात्र दुई दशकदेखि काम गर्दै आएका सफ्टवेयर इन्जिनियरहरूलाई जागीरबाट हटायो ।

गुगलले विभिन्न कारण देखाउँदै हार्डवयर, कोर इन्जिनियरिङ र गुगल सहायक टोलीतर्फका सयौँ कर्मचारीलाई कटौती गरेको थियो ।

सो कम्पनीले अझै पनि हजारौँ कर्मचारी कटौती गर्ने तयारी गरेको विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । स्वयम् गुगलका सीईओ सुन्दर पिचाईले सन् २०२३ को अन्त्यमा थप कर्मचारी हटाउने बताएका थिए ।

गुगलले सन् २०२४ सम्म एक हजारभन्दा बढी कर्मचारी कटौती गरिसकेको छ । त्यस्तै उसकै स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ साइट युट्युबले पनि सयौँ कर्मचारी कटौती गरिसकेको छ । युट्युबले क्रियटर व्यवस्थापन र अपरेशन टोलीबाट कम्तिमा एक सयभन्दा बढी कर्मचारी कटौती गरेको जनाइन्छ ।

त्यस्तै चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिङको ‘रियोट गेम्स’ ले पनि विश्वभरबाट करीब ११ प्रतिशत कर्मचारी कटौती गरेको छ ।

रियोट गेम्सले आफ्ना कर्मचारीहरुका लागि एक सूचना जारी गर्दै करीब ५ सय ३० रोजगारी कटौती गर्ने बताएको थियो । कम्पनीका सीईओ डेलन जडेजाले कर्मचारीमा लागत बढेकाले कटौती गर्नुपरेको बताएका थिए ।

पछिल्लो समय गुगलसहित मेटा, अमेजन, ट्विच, ह्युमन एआई, युनिटी, डुओलिंगो र टिकटकलगायत टेक तथा अन्य ठूला प्रविधि कम्पनीहरुले आफ्ना विभिन्न तहहरूमा कर्मचारीहरू कटौती गरिसकेका छन् ।

विश्वका ठूला प्राविधिक कम्पनीले कर्मचारी कटौती गर्नुको कारण थप परिष्कृत बनाउन र कोरोना महामारीपछि विश्वभर देखिएको आर्थिक मन्दीलाई कारण बनाइरहेका छन् ।

तर, प्रविधिका कम्पनीले जुनसुकै कारण देखाए पनि पछिल्लो समय बढ्दै गएको आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोगले कर्मचारीको माग नै कम हुँदै गएको विश्लेषकहरूको दाबी छ । एआईले छोटो समयमा धेरै काम गर्न सक्ने भएकाले ठूला कम्पनीहरूले त्यस्ता एआईमा आधारित टूलहरू विकास गर्ने र त्यसका आधारमा विश्लेषण गर्ने अभ्यास थालेका छन् ।

केही समयअघिको एक प्रतिवेदनअनुसार कृत्रिम बौद्धिकता भनिने आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) प्रविधिको विकासले विश्वभरबाट ३० करोडभन्दा बढीको रोजगारी नै विस्थापन हुने देखिएको छ । एआईको प्रयोगले प्रविधि कम्पनीका ठूल्ठूला काम पनि निकै सहजताका साथ गरिरहेको छ ।

सूचना प्रविधिका क्षेत्रमा मात्र नभएर हलिउडका एनिमेटर, डिजाइनर र भिडियो सम्पादकको जागीर समेत धरापमा पर्न सक्ने विभिन्न रिपोर्टले देखाइसकेको छ । केही समयअघि ओपनएआईले ‘टेक्स्ट टु भिडियो’ टूल सोरा सार्वजनिक गरेपछि एनिमेटर, भिडियो सम्पादक र भिडियो गेम डिजाइनरको जागीर निकट भविष्यमै धरापमा पर्ने सक्ने आँकलन गरिएको थियो ।

हुन पनि उक्त टूल ‘सोरा’ शब्द लेखेका आधारमा केही छिनमै भिडियो फुटेज तयार गर्न सक्छ । लामो समय लाग्ने काम एआईले छिनभरमा गर्ने भएपछि यसको लोकप्रियता पनि बढ्दै गइरहेको छ ।

एक रिपोर्टका अनुसार सन् २०२२ मा अमेरिकी प्रविधि क्षेत्रका विभिन्न ठूला कम्पनीहरुले करीब ७३ हजारभन्दा बढी कर्मचारीहरु कटौती गरेका थिए ।

एआई प्रविधिले अमेरिका र युरोपमा कामका क्रियाकलापहरुलाई करीब एक चौथाइसम्मले विस्थापित गरी कामको उत्पादकत्वमा ठूलो वृद्धि गर्ने विश्वास गरिएको छ ।

पछिल्ला केही वर्ष यता प्रविधि कम्पनीहरूले एआईका क्षेत्रमा आफ्नो लगानी बढाइरहेका छन् भने विश्वमा यसका फाइदा र बेफाइदाका बारेमा पनि बहस भइरहेको छ । विश्लेषकहरूले पछिल्लो समय परिष्कृत भएर आएका जेनेरेटिभ एआईले निकट भविष्यमा अझ बढी रोजगारी खोसिने बताउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सबै काममा करीब ४० प्रतिशत प्रभावित गर्न सक्ने विश्लेषण गरेको छ । यस्तै प्रविधिले कम आय भएका देशहरूमा भने मात्र २६ प्रतिशत रोजगारीलाई असर गर्ने आईएमएफले जनाएको छ । एआई प्रविधिले मानिसको दिमागले गर्ने सक्ने भन्दा धेरै छिटो काम गर्न सक्छ ।

मानिसमा जस्तै मेसिनमा पनि बौद्धिकता हुने भएकाले यसले ग्राफिक्स डिजाइन, लेखन, सम्पादन, चिकित्सा, विज्ञान प्रविधि, यातायातका साथै निर्माणका क्षेत्रमा समेत एआईले प्रभाव पारेको छ ।

च्याटजीपीटीका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले आगामी १० वर्षमा जुनसुकै क्षेत्रमा पनि विशेषज्ञका रूपमा काम गर्ने च्याटबटहरू हुने बताएका छन् । उनी भन्छन्, ‘आफूलाई चाहिएको विशेषज्ञ चिकित्सक, शिक्षक, वकिल वा जुनसुकै पेशाको व्यक्तिको सट्टा च्याटबटलाई प्रश्‍न सोध्न सक्नुहुन्छ र तिनले तपाईँले चाहेको काम गरिदिनेछन् ।’

| यो पनि पढ्नुहोस्: मेटाभर्सको ‘भर्चुअल’ दुनियाँ: जहाँ तपाईँले घर किन्न, सपिङ गर्न पाउनुहुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?