मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

मेटाभर्सको ‘भर्चुअल’ दुनियाँ: जहाँ तपाईँले घर किन्न, सपिङ गर्न पाउनुहुनेछ

काठमाडौँ– सिनेमा घर या टेलिभिजनमा कुनै थ्रीडी फिल्म हेर्नुभएको छ भने त्यसको अनुभव तपाईंसँग अलिक बेग्लै छ । अझ भीआर (भर्चुअल रियालिटी) ले त झन् यस्तो रोचक दुनियाँमा लैजान्छ कि, तपाईँ उही दुनियाँमा नै छु कि भन्ने अनुभूति गराइदिन्छ ।

अब सोच्नुस्, योभन्दा पनि बेग्लै महसुस हुने कुनै नयाँ प्रविधिको विकास भयो भने त्यसको भविष्य कस्तो होला ?

इन्टरनेटको दुनियाँमा फाइभजीको विकास भएसँगै प्रविधिमा पनि अनेक सम्भावनामाथि अध्ययन र अनुसन्धान भइरहेका छन् ।

वैज्ञानिकहरुले प्रविधिको क्षेत्रमा हामीले कल्पना नै नगरेका कतिपय सोचलाई पनि वास्तविक बनाउने प्रयास गरिरहेका छन्

अहिलेलाई मेटाभर्स सोच मात्र हो । यसको विकासका लागि विश्वका ठूला प्राविधिक कम्पनीहरुले लगानी गरिरहेका छन् ।

खासमा मेटाभर्सको कन्सेप्ट के हो ? र यसले कसरी काम गर्छ त? आज हामीले यो विषयमा कुराकानी गर्नेछौँ ।

मेटाभर्सका बारेमा स्पष्ट धारणा अहिलेसम्म विकास भइसकेको छैन । तर, मेटाभर्सको चर्चा प्रविधिको दुनियाँमा भइरहन्छ । यसमा फेसबूक लगायतका कैयन् कम्पनीले ठूलो मात्रामा लगानी गरिरहेका छन् ।

के हो मेटाभर्स?

मेटाभर्स यस्तो दुनियाँ हो, जहाँ भर्चुअल रुपमा पृथ्वीमा भएका सबैजसो चीज हुन्छन् । जसलाई हामीले डिजिटल विश्व पनि भन्न सक्छौँ ।

पृथ्वीजस्तो कुनै विश्व । त्यस्तै शहर । त्यस्तै जीवनशैली । तर, यो सबै भर्चुअल दुनियाँ ।

अहिले मेटाभर्सको मुख्य कन्सेप्ट यही हो ।

मेटाभर्सको दुनियाँमा तपाईं शारीरिक रुपमा जान सक्नुहुन्न । तपाईं कुनै स्थानमा हुनुहुन्छ तर तपाईंलाई मानसिक रुपमा यस्तो लाग्छ, तपाईं यो दुनियाँमा हुनुहुन्न । तपाईं मेटाभर्सको रंगीन दुनियाँमा हुनुहुन्छ ।

उदाहरणका लागि तपाईँले टिभीमा या सिनेमा घरमा कुनै चलचित्र हेरिरहनुभएको छ तर तपाईँलाई चलचित्र हेरेको जस्तो लाग्दैन । यस्तो लाग्छ कि, तपाईँ त्यही चलचित्रको एउटा पात्र हो । तपाईं स्वयम् त्यहीँ हुनुहुन्छ ।

त्यस्तो अनुभूति भए पनि तपाईंले त्यहाँ केही गर्न सक्नुहुन्न । तर, मेटाभर्सको कन्सेप्टमा तपाईंले विश्वका ठूला कलाकारको कन्सर्ट टिकट काटेर हेर्न सक्नुहुन्छ । अनलाइन डेट गर्न सक्नुहुन्छ । मेटाभर्सको दुनियाँमा घर घडेरी किन्न सक्नुहुन्छ ।

यसरी बुझ्नुस्, जुन काम तपाईंले भौतिक रुपमा गरिरहनुभएको छ, तीमध्ये धेरै काम भर्चुअल दुनियाँमा पनि गर्न सक्नुहुन्छ ।

हुनसक्छ, तपाईंले काठमाडौंको एक गल्लीमा बसेर अमेरिकन गायिका टेलर स्फीटको लाइभ प्रस्तुति हेर्न सक्नुहुन्छ । तर मेटाभर्सको दुनियाँबाट बाहिर निस्किएपछि तपाईं पुनः आफ्नो वास्तविक दुनियाँमा फर्किनु हुन्छ ।

यसलाई अझ विस्तृत रुपमा बुझ्दा मेटाभर्स प्राविधिक जडानमा केन्द्रित थ्रिडी भर्चुअल संसारहरूको एउटा ‘नेटवर्क’ हो । यसको कुनै वास्तविक अस्तित्व छैन तर मोबाइल अथवा कम्प्युटरभित्र हुने काल्पनिक संसारमा तपाईं रमाउन सक्नुहुन्छ ।

आफ्नो काल्पनिक संसार आफ्नै आँखाले हेर्न सक्नुहुन्छ ।

पछिल्लो समय मेटाभर्समा फेसबूक संस्थापक मार्क जुकरबर्ग लगायत कैयन् प्रविधिका दिग्गजले करोडौँ डलर लगानी गरिरहेका छन् । फेसबूकले त अझ आफ्नो कम्पनीको नाम रिब्राण्ड गर्दै ‘मेटा’ राखेको छ ।

मेटाभर्समा हरेक कुरा डिजिटल हुनेछ । वास्तविक संसारमा देख्ने सबै कुराहरु यसमा डिजिटल हुनेछन् । चाहे त्यो घर, गाडी, किताब ,पेन्सिल, हिमाल, जनावर, मान्छे नै किन नहोस् । तपाईंको आफ्नै भर्चुअल अवतार हुनेछ र तपाईंको साथीको पनि आफ्नै अवतार हुनेछ ।

एक प्रकारले तपाईंले डिजिटल स्पेस बनाउन सक्नुहुनेछ । यदि मेटाभर्समा तपाईंलाई केही सामान खरिद गर्नुपर्‍यो भने त्यो वास्तविक पैसा त हुँदैन । तर त्यहाँ एनएफटी हुन्छ र किनबेच पनि एनएफटीबाट गरिन्छ । एनएफटीलाई सरल भाषमा एक प्रकारको टोकन अथवा पैसा जसरी जसरी बुझ्न सकिन्छ ।

सन् १९९२ मा प्रकाशित साइन्स फिक्सन उपन्यास ‘स्नो क्रयास’ मा पहिलोपटक मेटाभर्सको कन्सेप्ट उठाइएको थियो ।

उपन्यासमा लेखकले एउटा यस्तो दुनियाँको बारेमा कुरा गर्छन्, जहाँ वास्तविक दुनियाँ नष्ट भइसकेको र बाहिरी दुनियाँ मानिसका लागि बाँच्नलायक नभएका कारण जो कोही पनि भवनहरुका भित्र आफ्नो कोठामा बसेर एउटा भर्चुअल संसारमा जिन्दगी बिताउँछन् ।

तर, यो सामान्य मानिससम्म पुग्न भने अझै दशक लाग्ने अनुमान गरिएको छ ।

मेटाभर्सको दुनियाँ वास्तवमै सफल हुन्छ कि हुँदैन भन्ने पनि हालसम्म यकिनसाथ भन्न सकिने अवस्था छैन । तर, यसको विकासका लागि ठूला कम्पनीहरुले लगानी गरिरहेका छन् । अबको एक दशकमा मेटाभर्स पूर्ण रुपमा प्रयोगमा आउने उनीहरुको दाबी छ ।

कतिपयले त यसलाई इन्टरनेटको विकल्पका रुपमा पनि व्याख्या गर्दै आएका छन् ।

मेटाभर्स बनाउन चाहिने प्रविधिहरु बेग्लाबेग्लै भए पनि मेटाभर्स निर्माणका लागि भने लामो समय लाग्नेछ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार मेटाभर्सको मुख्य फिचर्सहरु मुलधारको हिस्सा बन्न कम्तिमा ५ देखि १० वर्ष लाग्नेछ । तर यो प्रविधि कस्तो हुनेछ भन्ने अहिले नै अनुमान लगाउन सकिँदैन ।

मेटाभर्सबाट आम्दानी पनि गर्न सकिन्छ

अहिलेलाई मेटाभर्स एउटा सीमित कल्पना मात्र भए पनि यसमा बृहत् काम भइरहेको छ ।

मेटाभर्स निर्माताहरुले यसबाट राम्रो आम्दानी गर्न सकिने तर्क गरेका छन् । तर, त्यो कमाइ डिजिटल हुनेछ ।

यदि तपाईं कलाकार हो भने तपाईंले कुनै कन्सर्ट गर्न सक्नुहुन्छ । उक्त कन्सर्ट हेर्न अहिलेको भौतिक दुनियाँमा जस्तो टिकट काटेर दर्शकले कन्सर्ट हेर्न सक्छन् ।

यस्तै कुनै खेल प्रतियोगिता, विभिन्न मोडलका पोशाकहरु विक्री गरेर पनि कमाइ गर्न सकिन्छ ।

हामीले अघि नै भनेजस्तो मेटाभर्सको दुनियाँमा कुनै ठूलो शहरमा घर किन्न, कतै जग्गा किनबेच गर्न पनि सकिन्छ ।

यद्यपि अहिले यो सबै कल्पनामै सीमित भए पनि मेटाभर्सको आयु कति लामो हुन्छ, त्यो भने अहिले नै भविष्यवाणी गर्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?