मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बालबालिकामा देखिने ‘अटिजम’ को समस्या, समयमा ध्यान दिए निको हुन्छ

काठमाडौँ– बालबालिकाको मस्तिष्क र स्नायु कोषहरूको स्वाभाविक विकास क्रममा हुने असमानताको रूप नै ‘अटिजम’ हो ।

यदि कुनै बालबालिका १८ महिना पूरा भइसक्दा पनि अन्य बालबालिका सरह बोल्न, हिँडडुल गर्न सक्दैनन् भने अटिजम भएको हुनसक्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका प्रत्येक एक सय जना बालबालिकामा एक जनामा यो समस्या देखिने गरेको पाइएको छ ।

अटिजमका कारण कतिपय बालबालिकामा अन्य क्रियाकलापमा पनि सुस्तता देखिने गर्छ । नेपालमा ४ हजारभन्दा बढी बालबालिकामा अटिजम भएको चिकित्सकहरू बताउँछन् ।

अटिजम के हो, कसरी यस्तो हुन्छ लगायतका विविध विषयमा डा. सुनिता अमात्यसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी :

बालबालिकामा अटिजम भएको कसरी थाहा पाउने ?
बालबालिका हुर्किँदै जाँदा उनीहरूको मस्तिष्क विकासमा असमानता देखिन थाल्छ । त्यसको प्रभावले उनीहरू ढिला बोल्ने, कम सुन्ने, टोलाउने जस्ता समस्या देखिन्छ । यदि बालबालिका अन्य बालबालिकाको तुलनामा कम सक्रिय छन् भने अटिजमको लक्षण हुनसक्छ ।

अटिजम के कारणले हुन्छ ?
हालसम्मको अध्ययन अनुसार अटिजम ठ्याक्कै यही कारणले हुन्छ भनेर अझै पनि यकिन साथ भन्न सकिने अवस्था छैन । विभिन्न अध्ययन अनुसार वंशाणुगत कारण, अथवा कुनै रोगका कारण बालबालिकामा यस्तो समस्या देखिन सक्छ ।

कतिपय अवस्थामा ढिला बच्चा जन्मिँदा पनि यो समस्या देखिन सक्छ । यस्तै परिवारका कुनै सदस्यमा अटिजमको समस्या छ भने आउँदो पुस्तामा पनि यो समस्या देखिन सक्छ ।

अटिजम भएका बालबालिका पूर्ण रूपमा ठिक हुने सम्भावना कति हुन्छ ?
अटिजम भएका बालबालिका पूर्ण रूपमा ठिक हुन कठिन छ तर निको नै नहुने भन्ने होइन । यदि समयमै उपचार गराउन सकियो भने सामान्य सुधार भने हुनसक्छ । यसका लागि थेरापी गराउन सकिन्छ ।

समयमा नै रोगको पहिचान गर्न सकियो भने निको हुँदै नहुने भन्ने होइन । त्यसैले सानै उमेरमा पहिचान गरेर यसको उपचारतर्फ लाग्नुपर्छ ।

धेरै समयपछि अटिजम भएको पहिचान भएमा पनि उनीहरूलाई गर्ने व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । त्यसो गरिएन भने झन् समस्या बल्झिन सक्छ ।

त्यसो भए कस्ता बालबालिकामा अटिजमको समस्या देखिन्छ त ?
उमेर ढल्किएका महिलाहरूले ढिला सन्तान जन्माउँदा त्यस्ता बालबालिकामा पनि अटिजमको समस्या देखिन सक्छ । कतिपय अवस्थामा ९ महिना नपुगी जन्मिएका बालबालिकामा पनि यो समस्या देखिने गरेको पाइएको छ ।

यस्ता बालबालिकाहरूको उपचार कसरी गर्ने ?
यदि कुनै बालबालिकामा अटिजमको समस्या छ भने उनीहरूलाई गर्ने व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । यस्ता बालबालिकालाई थप माया गर्नुपर्छ र उनीहरूले गर्ने व्यवहारलाई सहज रूपमा स्वीकार गर्नुपर्छ । 
घर परिवार तथा समाजले अटिजमको समस्यालाई बुझेर त्यसअनुसार व्यवहार गर्न सक्यो भने बालबालिकाको मस्तिष्कमा सकारात्मक प्रभाव पर्छ ।

यसले बिस्तारै यो समस्याबाट बालबालिकालाई छुटकारा दिलाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
यस्तै थेरापी गरेर, शिक्षकहरूको टिम र अभिभावकको संयुक्त प्रयासले उनीहरूको व्यवहारमा परिवर्तन गरेर मात्र बालबालिकामा सुधार र परिवर्तन ल्याउन सकिन्छ ।

अटिजम भएका बालबालिकाहरूलाई अन्य बालबालिकालाई भन्दा बढी माया र सद्भावको खाँचो हुन्छ । यस कारण पनि अभिभावकहरूले उनीहरूको रुचि र चाहनालाई बुझेर साथ दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?