मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बालबालिकालाई सिर्जनशील बनाउन ‘आर्ट क्याम्प’

काठमाडौँ– पाटनढोका चाकुपाटस्थित क्लासिक आर्ट ग्यालरीले बालबालिकाका लागि ‘स्प्रिङ आर्ट क्याम्प’ कला प्रशिक्षण कक्षा सञ्चालन गरिरहेको छ ।

सन् २०१४ देखि सञ्चालित कला कक्षामा बालबालिकाहरुको कला सिर्जनासँगै व्यक्तित्व विकास भइरहेको ग्यालरीकी निर्देशक तथा कलाकार सरिता डंगोल बताउँछिन् ।

ग्यालरीले सामान्य अवस्थाका बालबालिकाहरु मात्र नभएर फरक क्षमता भएकाहरुलाई समेत कलाकै माध्यममा सिर्जनशील बनाइरहेको छ । डंगोलका अनुसार फरक क्षमता भएका बालबालिकाहरुले कलाकै माध्यममा आफ्नो सिर्जना देखाइरहेका छन् ।

क्लासिक मात्र नभएर उपत्यकामा ललितकला क्षेत्रका कलाकारहरुले विद्यालय तथा आफ्नै आर्ट स्टुडियोबाट बालबालिकाहरुलाई कला शिक्षा तथा प्रशिक्षण दिइरहेका छन् । लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीले लामो समयदेखि वयस्कसँगै बालबालिकाहरुलाई कला प्रशिक्षण दिँदै आइरहेको छ ।

ग्यालरीका संस्थापक, कलाकार तथा कला समीक्षक रमेश खनालले विद्यालय तहका बालबालिकाहरुलाई हरेक लक्षित गरेर शनिवार कला ज्ञानसँगै प्रशिक्षण समेत दिइरहेका छन् ।

उनकै ग्यालरीमा प्रशिक्षण लिएका शशी राउत, कोमल श्रेष्ठ, सुन्दरमाला बैठ लगायतका बाल कलाकारहरुले अहिले कला क्षेत्रमा निकै राम्रा सिर्जनाहरु गरिरहेका छन् । खनालका अनुसार बालबालिकाहरुलाई कला सिर्जना केवल कुनै पनि वस्तुको स्केच वा दृश्य उतार्नु मात्र होइन ।

बालबालिकाहरुले आफूलाई व्यक्त गर्ने महत्वपूर्ण माध्यम कला सिर्जनाको क्षेत्र पनि हो । विद्यालयका पाठ्यक्रममा आधारित अध्ययन गर्दागर्दै एकोहोरिएका बालबालिकाहरुलाई सक्रिय र सिर्जनात्मक बनाउन कलाले सघाउ गर्ने कला क्षेत्रका विज्ञहरुको भनाइ छ ।

कला सिर्जनामा प्रयोग हुने रङहरुका माध्यमबाट बालबालिकाहरु स्वतन्त्र रुपमा खुल्न पाउने खनालको मत छ ।

बालबालिकाहरुलाई विद्यालयलाई अध्ययन गर्ने जिज्ञासु बनाउन समेत कला सिर्जनाले मद्दत गर्ने कलाकार तथा कला प्रशिक्षक सम्झना राजभण्डारी सुनाउँछिन् ।

उनले झण्डै ढेड दशकदेखि काठमाडौं बालाजुस्थित ‘शशीज आर्ट स्टुडियो’ मार्फत बालबालिकाहरुलाई चित्र सिर्जना गर्न प्रेरित गरिरहेकी छिन् । उनको स्टुडियोमा स–साना बालबालिकाहरुदेखि ९ कक्षा सम्मका विद्यार्थीहरु कला प्रशिक्षणका लागि आउँछन् ।

अहिले उपत्यकामा विद्यालयहरुको शैक्षिक सत्र समापन भएसँगै बालबालिकाहरु फुर्सदमा छन् । फुर्सदमा बालबालिकाहरुको समय सदुपयोग गर्नका लागि उनले अहिले १० दिने कक्षा सञ्चालनमा जोड दिएकी छिन् ।

यसले बालबालिकाहरुलाई कला सिर्जनामार्फत अध्ययनमा समेत लगाउन सकिने उनको दाबी छ ।

‘आर्ट कक्षाले आर्ट मात्र नभएर बच्चाहरुलाई अरुमा पनि निकै मद्दत हुन्छ,’ उनले भनिन्, ‘साइन्स र सामाजिक शिक्षा जस्ता विषयमा रेखाहरुको सीप, आर्ट स्केच र नक्साहरु रेखाङ्कनमा समेत सजिलो बनाउँछ ।’

उनका अनुसार उनको आर्ट कक्षामा १० दिनमा सामान्य ढंगमा प्रारम्भिक तहबाट रेखाचित्रहरु कोर्न सिकाइन्छ ।

रेखाहरुकै माध्यममा कसरी सामान्य ढंगबाट वस्तुको दृश्य सिर्जना गर्ने भन्नेबारे ज्ञान दिइन्छ । यसले बालबालिकाहरुलाई कला सिर्जनासँगै रङहरुमा खेल्ने वातावरणतिर पनि आकर्षिक गर्ने उनको बुझाइ छ ।

अहिले व्यस्त अभिभावक र प्रविधिको लतमा फसेका बालबालिकाहरुलाई कला सिर्जनातिर लगाउनु उत्तम विकल्प रहेको उनले सुनाइन् ।

‘अभिभावकहरु बच्चाहरुलाई मोबाइल फोनबाट केही समय टाढा राख्न पनि यहाँ ल्याउनुहुन्छ । उहाँहरू दुई घण्टासम्म नै कुरेर बस्नुहुन्छ । बच्चाहरु रङ र ब्रससँग खेलेको देखेर दङ्ग पर्नुहुन्छ,’ उनले भनिन् ।

अहिले अधिकांश विद्यालयहरुमा समेत आर्ट कक्षाहरु अनिवार्य जस्तै बनाइएको पाइन्छ । विद्यालयहरुले अन्य विषयमा जस्तै कला शिक्षकहरु अध्ययनका लागि नियुक्त गरेको पाइन्छ । यसलाई निकै सकारात्मक रुपमा लिन्छन्, कलाकार सुन्दर लामा ।

उनले हाल बानेश्वर, थापागाउँस्थित पाठशाला विद्यालयमा कला विषय नै पढाइरहेका छन् । विद्यालय र अभिभावकमा बालबालिकाहरुलाई अतिरिक्त मात्र नभएर कला शिक्षामा विशेष प्राथमिकता दिनुपर्छ भन्ने चेतना आएको उनले सुनाए ।

उनले भने,‘बच्चाहरुले कति कुरा कलामा देखाइरहेको हुन्छ । उनीहरुले प्रयोग गर्ने रङ र बनाउने चित्रहरुबाट हामीले उनीहरुको मानसिक अवस्था र व्यवहार बुझिरहेका हुन्छौं ।’

उनका अनुसार बालबालिकाहरुको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि समेत कला सिर्जनाको पाटो जरुरी छ ।

विद्यालयहरुमा पढेका र सिकेका कुराहरुले नपुग्ने बालबालिकाहरुका लागि छुट्टै सञ्चालित कला कक्षाहरुले सघाउ पुर्‍याउने राजभण्डारीको तर्क छ । उनका अनुसार कुनै बालबालिकाहरुमा कलाप्रति निकै लगाव हुन्छ ।

त्यस्ता लगाव भएका बालबालिकाहरुलाई विद्यालयमा दिइने कला शिक्षा तथा प्रशिक्षणले नपुग्ने उनले बताइन् ।

बालबालिकाहरुको सर्वाङ्गिण व्यक्तित्व विकासदेखि लिएर अध्ययन र समाजिक जीवनमा सक्रिय बनाउन कलाको जरुरी रहेकोले उनीहरुलाई कला सिर्जनामा लगाउन सम्पूर्ण अभिभावकहरुमा कला विज्ञहरुको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?