मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रङ्गमञ्च

‘कतिपय सामाजिक मुद्दा कवितामा हैन, रङ्गमञ्चमा भन्नुपर्ने खालका हुन्छन्’

काठमाडौँ– राजन मुकारुङ कविता र आख्यान विधामा स्थापित स्रष्टा हुन् । साहित्यमार्फत नै आदिवासी सौन्दर्य र चेतलाई दर्शाउँदै उनले सत्तामाथि ठाडो प्रश्न गरिरहेका छन् । ‘दमिनी भिर’ जस्ता कृतिबाट वि.सं.२०६९ सालमा मदन पुरस्कार विजेता मुकारुङ पछिल्लो समय भने नाटक लेखन र मञ्चनतिर निकै सक्रिय छन् ।

‘घुङ्ग्रिएको कपाल’, ‘हेत्छाकुप्पा’, ‘जोखाना’, ‘खुवालुङ’, ‘दमिनी भिर’ देखि उनी नाटक ‘बाखाम्मा’ सम्म आइपुगेका छन् । उनको लेखन र किरण चाम्लिङको निर्देशन रहेको नाटक ‘बाखाम्मा: मुन्दुममा मान्छे’ वैशाख १४ गतेदेखि थापागाउँस्थित मण्डला थिएटरमा नियमित मञ्चनमा आएको छ ।

नाटकको विषयवस्तु, यसले बोकेको किराँती इतिहास, संस्कृति र सौन्दर्य, लेखक मुकारुङको नाट्य लेखन अनुभवमा आधारित रहेर जोय नेपालका लागि सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:   

बाखाम्मा शीर्षकमा नाटक मञ्चन भइरहेको छ, यो शब्दले खास के अर्थ बुझाउँछ ?

नेपालीमै अर्थ लगाउँदा खरानी र माटोले मुछेको बनाएको मान्छे भन्ने हुन्छ । तर हाम्रो किराँती अर्थको हिसाबले भने जन्मदेखि मृत्युसम्मका कर्महरुमा भन्ने कथाहरु र त्यो कथामा पहिलो मान्छे हो । हाम्रो सृष्टिको कथामा रुमुहाङ, पारुहाङ, सुम्निमा जे भनेपनि उहाँहरु निराकार हुनुहुन्थ्यो । उहाँहरुले बनाउनुभएको पहिलो आकारवाला मान्छे नै ‘बाखाम्मा’ हो ।

नाटकको माध्यमबाट किराँती संस्कृति र संस्कारलाई बुझाउन कत्तिको सहयोग पुर्‍याउला ?

नाटकको माध्यमबाट किराँतीहरुको उत्पत्ति कथा के रहेछ भन्ने एउटा मिथकीय सौन्दर्य प्राप्त गर्छन् । मानवशास्त्रका अध्ययन, अनुसन्धानकर्ताहरुलाई समेत यसले केही न केही सहायता गर्छ । नेपालको किराँतीमा पनि राई समुदायमा पनि भाषाका विविधताका आयामहरु छन् ।

त्यो भाषाको आयाम सँगसँगै उसले एउटै पात्रलाई पनि विभिन्न किसिमले भन्ने गर्छन् । कथाहरु पनि भाषिक समुदाय अनुसार केही फरक जस्तो सुनिन्छ तर कथाको थिम एउटै हुन्छ । यसले गर्दा किराँतीहरुको एउटा साझा सृष्टिकर्ता, साझा विम्बका रुपमा सुम्निमा, पारुहाङलाई यसले स्वीकारिन्छ ।

यद्यपि ठाउँअनुसार र भाषिक सुमदाय अनुसार सुम्निमा, पारुहाङको नाम फरक छ । तर अहिले पछिल्लो समय चाहिँ एउटै साझा रुपमा सुम्निमा, पारुहाङ भनेर लिइन्छ । किराँत राई जातिको जुनसुकै जन्मदेखि मत्युसम्मको कर्ममा मुन्दुमका कथाहरु नभनिकन पूरा हुँदैन । यहाँ हामीले अहिलेको अवस्थामा कुनै कर्म गर्दैछौं भने त्यो कर्म किन गर्नुपर्छ भन्ने मुन्दुमको कथा भन्नुपर्छ । उतिबेला देखि नै यसरी गरिरहेको भएकाले हामीले पनि गर्नुपरेको है भनेर अहिलेको समयमा भन्नुपर्ने हुन्छ ।

यो हाम्रो सांस्कृतिक विषयको निरन्तरता हो । संस्कृतिलाई निरन्तरता दिन पनि हामीलाई त्यो कथाले जोड्छ । त्यसकारण यसको महत्त्व छ । यो कथामा ‘बाखाम्मा’ शीर्षक राखिएपनि ‘बाखाम्मा मुन्दुममा मान्छे’ भनेर हामीले राखेका छौं । यो अहिलेको समयको कथामा त्यो बेलाको कथा भनिएको हो ।

आख्यान र कविता जस्ता विधामा पनि किराँती संस्कार र बिम्बका कुराहरु भनिरहनुभएको थियो । फेरि जोखना, खुवालुङ लगायत नाटकबाट त्यस्तै स्वाद दिइरहनुभएको छ । विधा परिवर्तन गर्न किन जरुरी पर्‍यो ? यतातिर सहज भएर हो र ?

नाट्य विधा झन धेरै गाह्रो चिज हो । यसमा कति कुरा शब्दमा भन्दा पनि प्रकाश, ध्वनिको माध्यमबाट भनिदिनुपर्ने हुन्छ । निर्देशकको आफ्नै सौन्दर्यशास्त्र हुन्छ । लेखकले एउटा सौन्दर्य चेतबाट लेखेको हुन्छ भने निर्देशकले अर्को चेतबाट प्रभावकारी हुन्छ कि भनेर सोच्छ ।

नाटकतिर आउनु सजिलो भन्दा बाध्यात्मक परिस्थिति हो । अब लगभग हाम्रा कथा कहानीहरु भन्ने पुस्ता सकिँदै आइसक्यो । अब हामीले केही न केही डकुमेन्ट गरेर त्यसलाई बचाएर राख्नुपर्छ । यो नाटकको क्षेत्रबाट पनि हाम्रो संस्कृति, सौन्दर्यलाई बचाएर राख्नुपर्छ भन्ने हाम्रो खास ध्येय हो । यसका सामाजिक आयामहरु पनि छन् । यो कथाहरु सुनेर समुदाय यसबाट निर्देशित छन् । त्यो समुदायाई अहिले आएका पश्चिमा, विविध धर्म, उपनिवेश विविध आयामहरुबाट बचाउन पनि हामीले मौलिक कुराहरु संग्रह गरेर राख्नैपर्छ ।

पुस्तकका रुपमा गरिएका सङ्ग्रह अझ सुरक्षित होइन र

कतिपय कुराहरुलाई हामीले किताबमा लेखेर र भनेर मात्र बुझाउन सक्दैनौं । कतिपय कुराहरु कला, अभिनयका मार्फत पनि भन्नुपर्ने हुन्छ । हामीले गीत, संगीत, नाटक, सिनेमा बनाएपनि र साहित्य लेखेपनि यो सांस्कृतिक जरालाई खोज्ने हो । जुन रहेको सांस्कृतिक सौन्दर्यलाई बचाउने, संरक्षण र प्रवर्धन गर्ने यो सांस्कृतिक पहिचानको आन्दोलन हो ।

यसले सामाजिक राजनीतिक अर्थशास्त्रसँग जोड्छ । किनकी त्यो सुमदायको संस्कृति यो रहेछ, त्यो संस्कृति अनुरुप संस्कृतिलाई हित हुने कि अहित हुने कानुन हामीले बनाएका छौं भनेर राजनीतिक क्षेत्रले सोच्नुपर्ने हुन्छ । त्यसकारण केही न केही प्रेसर त हामीले विकास गर्नैपर्छ भन्नका लागि पनि फरक विधामा लेखिरहेका छौं ।

चाहे हामीले राईको नाटक बनाऔं, चाहे मगरको ।  चाहे तामाङको मासिन्या नाटक जस्तो बनाओस् त्यसले आफ्नो कुरा भन्छ । मासिन्याले पनि आफ्नो संस्कृतिका कुरा भन्यो । संस्कृतिमाथि राज्यका नीति र कानुनहरु न्यायिक छैन, त्यहाँ पुर्नविचार गर्नुपर्छ है भन्ने मुद्दा त मासिन्याले उठायो त । हामीले हाम्रो कला, साहित्य मार्फत त्यही कुराहरु भन्ने हो जुन कुरा सम्बन्धित निकायहरुलाई थाहा छैन । रा

ज्यले एउटा नीति बनाइदिन्छ र एउटा सोलोडोलो नीतिमा घोलिदिन्छ । त्यसो गर्दा खेरी छुट्टै संस्कृति, भाषा, सभ्यता, भूगोलमा बाँचेर आएको जातिलाई अन्याय पो भएको छ कि भन्ने कुराहरु नीति बनाउनेलाई थाहा हुन्न । उसलाई हामीले सचेत गराउन पनि यस्ता कामहरु गर्नुपर्छ भन्ने ध्येयले हामीले गरिरहेका छौं ।

तपाईँले जसरी नै साहित्यका विविध विधाहरु मार्फत आफू र आफ्ना समुदायका कुराहरु अभिव्यक्त गरिरहनुभएको छ । यति हुँदाहुँदै पनि नबुझेको झै गरिरहेको सम्बन्धित निकायलाई बुझाउन विधा नै परिर्वतन गरेर आइरहनुभएको छ । के अबका पुस्ताले पनि यसैगरी बाटो समाएर आउनुपर्ला ?

परिवर्तनभन्दा पनि कला, साहित्य, संस्कृति, संगीत यी सबै क्षेत्रहरु हाम्रो सांस्कृतिक आयामहरु हुन् । यो सबै विधाबाट हामीले भन्यौं । यही क्षेत्रमा निरन्तर लागेका मानिसहरुले यो काम गरिदिउन् भन्ने आम मान्छेको चाहना हुन्छ । जुन क्षेत्रमा मानिसहरुको राम्रो आगमन र बाक्लो उपस्थिति छ तर त्यो क्षेत्रमा सांस्कृतिक चेतसहित काम भएको छैन । सांस्कृतिक चेत सहित काम गर्न डराइहरेका छन् । त्यसले गर्दा खेरी उनीहरुलाई उत्प्रेरित र ऊर्जाशील बनाउनका लागि हामीले त्यो क्षेत्रका लागि सहभागिता जनाइदिनुपर्छ । मे

रो मूल उद्देश्य भनेको म नाटक विधामै गर्ने भन्दा पनि यो क्षेत्रमा लागेर आइरहेका नयाँ पुस्ता जसले आफ्नो सांस्कृतिक सचेतता पूर्वक कामहरु गरुन् भन्ने हो । ऊर्जा र उत्प्रेरणा मिलोस् भन्ने मेरो मूल ध्येय हुन्छ । तर आम रुपमा हेर्दाखेरी त्यो सांस्कृतिक सचेतासहित काम एकदमै कम भएको छ । नाटककै सन्दर्भमा भन्नुपर्दा यसलाई अभिनय सिक्ने थलोको रुपमा मात्रै धेरैले लिएको पाइन्छ ।

नाटकमा केही प्रभावकारी काम देखाएपछि सिनेमातिर छलाङ मार्न पाइन्छ कि भन्ने ध्येय छ । त्यो सांस्कृतिक सचेतताभन्दा पनि आफ्नो व्यक्तिगत सपना र आकाङ्क्षालाई पूरा गर्ने धेरै ध्येय अहिलेको पुस्तामा छ । त्यसकारण हामीले काम गर्दा नेपाली समाजका विविध आयामहरु छन् ।

संस्कृति, भाषीहरु, समुदाय, उनीहरुको आ–आफ्नै सभ्यताका कथाहरु, व्यथाहरु छन्, तिनलाई हामीले उनीहरुकै जीवनशैली अनुरुपको साहित्य, कला मार्फत भन्न सक्यौँ भने नेपाली मौलिकतासहित र रैथाने कला साहित्य हुन्छ । त्यो साहित्य लिएर हामी अगाडि गयौं भने मात्र विश्वसामु गएर तिमीहरुभन्दा यसकारण हामी फरक, नवीन छौं भन्न सकिन्छ ।

हामीले हाम्रो मौलिकता बचाएर ल्याएका छौं भनेर गर्व गर्न समेत सक्छौं । पृथ्वीको यो भूगोलको एउटा ठाउँमा नेपाल भन्ने देश र त्यो देशको पनि यो भूगोलमा चाहिँ यो विशेष जातिको बसोबास छ र लामो समयदेखि आफ्नो सभ्यता विकास गरेको छ भन्ने कुरा समेत हामी भन्न सक्छौं ।

संस्कृति, भाषालाई बचाएर राखेको एउटा समुदाय छ । तर ऊ राज्यको नीति अथावा विश्व साम्राज्यवाद, आन्तरिक उपनिवेश यी सबै वादहरुबाट कहीकहीँ प्रताडित छ उसलाई न्यायको जरुरी छ भन्ने कुरा पनि हामीले भन्न सक्छौं ।

कुनै पनि कुरा मौखिक रुपमा र सिर्जना मार्फत् भन्नु कुन चाहिँ प्रभावकारी हुने रहेछ ?

मौखिक रुपमा भन्दा कति जनालाई भनेर सक्नु । दुईचार जना चिया पसल वा कुनै उत्सवमा भनौंला त्यसले दुईचार जनालाई बुझाउन सकिएला । एउटा नाटककै उदाहरण दिँदा त्यसमा ठूलो संगठन चाहिन्छ । त्यसमा लेखक, निर्देशक र खेल्ने कलाकारहरु मात्र भएर हुँदैन । त्यो नाटकका लागि फेरि ठूलो अर्थशक्ति चाहिन्छ । त्यसलाई फेरि कसले हेर्ने अर्को टिम हुन्छ । नाटक बनाउने सबैको जोस र जाँगर आयो कसरी गर्ने भन्ने फेरि अर्को पाटो चाहियो ।

यी सबै कुरा एकीकृत हुँदा एउटा ठूलो संगठन निर्माण भइसक्छ । थिएटरमा काम गर्नु भनेको एउटा सिर्जनात्मक प्रक्रिया पनि हो । एउटा किताब लेख्नु भनेको एउटा लेखक, एउटा कापीको पाना र प्रकाशक यति भएपछि लगभग पुग्यो । त्यसपछाडि पाठकहरुमा कसरी पुर्‍याउने भन्ने कुरा त्यो आफ्नो ठाउँमा छ । तर नाटक र सिनेमा कला मार्फत दिने काम सांगठनिक काम हो । त्यसकारण नाटकको काम गरिरहँदा मलाई चाहिँ म एउटा ठूलो संगठनमा प्रवेश गरिरहेको छु भन्ने लाग्छ । त्यो संगठनमार्फत साझा एउटा केही न केही मुद्दा हामी बोलिरहेका छौं र साझा संगठनमार्फत हामी आम मानिसहरुलाई बुझाइ रहेका छौं भन्ने महसूस हुन्छ । यसकारण पनि म यो क्षेत्रमा छु  र यसैमा प्रभावकारी छ ।

अझ हामीले नेपाली नाटक बनाउँदै गर्दा हामीसँग थुप्रै कुराहरु अपुग छन् । जस्तो एउटा लेखकले जति कल्पना गरेर दृश्यहरु, पात्रहरु निर्माण गर्छ अझ त्यसमा निर्देशकले अझ सुन्दर बनाउने प्रयत्न गर्छ, त्यो परिकल्पना अनुसार हाम्रो स्टेज हुँदैन । त्यो स्टेजलाई कभर गर्न अडियन्स आइपुग्छ कि आइपुग्दैन यी आदि थुप्रै पाटाहरुले खुम्चिनुपर्छ ।

नाट्य क्षेत्र नै भनेर थुप्रै युवाहरु आउनुभएको छ । उहाँहरुलाई यसै क्षेत्रमा व्यावसायिक रुपमै लगेर उहाँहरुको उपयोग कसरी गर्न सकिएला ?

धेरैजना यो क्षेत्रमा लागेर आइसक्नुभएको छ । यसलाई व्यावसायिक बनाउनुपर्ने छ । यसमा निकै मेहनत गर्नुपर्ने हुन्छ । जस्तो ‘बाखाम्मा’मा ‘केन्द्र मोसन पिक्चर्स’ निर्माताको रुपमा आउनुभयो । नाटकमा पहिलोचोटी आउनुभएको छ । उहाँहरुको आगमन नै सुन्दर कुरा हो । जुन इच्छाशक्ति लिएर उहाँहरु जोडिनुभएको छ, त्यसरी नै अरु जोडिने वातावरण बन्नुपर्छ । अनि मात्र यो क्षेत्र व्यावसायिक हुन्छ ।

नाटकलाई स्पोन्सर (विज्ञापनदाता) हरु पाउन गाह्रो छ । जो व्यापारिक क्षेत्रमा छ, जसले विज्ञापन दिन सक्छ त्यो क्षेत्रसम्म नाट्यकर्मीहरु पुग्न सकेको छैन । यसलाई यो निश्चित समयमा प्रदर्शन गरेर डिजिटाइजेसन गर्न जरुरी छ । यसलाई उच्चतम प्रविधिबाट डिजिटल गर्न सक्यौं भने त्यसले अर्को तहको व्यापार गर्न सक्छ । यसले यो क्षेत्रमा आउनेहरुलाई केही राहत र सकारात्मक सन्देश दिन सक्छ ।

हामीले विज्ञापनदाताहरु र स्पोन्सरहरुका लागि प्रविधिमा नगइकन सहज रुपले प्राप्त गर्न सक्दैनौं । होइन भने हलमा दुई सय जना अडियन्सका लागि किन विज्ञापन दिने भन्ने विज्ञापन दाताहरु पनि होला । विज्ञापन एजेन्सीसम्म पुग्ने थिएटरको ठूलो चुनौती छ । उनीहरुसँग जोडिन उचित वातावरण बनाइदिने काम राज्यको हो । तिमीहरुले यति प्रतिशत चाहिँ थिएटरलाई छुटाउनुपर्छ भनिदिएमा त्यसबाट पनि राहत हुन्छ ।

तपाईको पछिल्लो सिर्जना नाटक ‘बाखाम्मा’बाट कस्तो अपेक्षा राख्नुभएको छ । आम नाट्यप्रेमीहरुलाई के भन्न चाहनुहुन्छ ?

यसमा हामीले मञ्च, संगीत, चरित्रहरुको जीवनशैलीको तर्फबाट हाम्रो नेपाली रैथाने सौन्दर्यशास्त्र भन्न खोजेका छौं । त्यसले गर्दा नयाँ फ्रेमबाट हेर्न सकून् भन्ने हाम्रो प्रयत्न छ । अर्को कुरा यसलाई हेरिनुपर्छ । कथा, कैरन भन्ने कुरा हामीसँग अथाह छन् । तर यसरी बनाउँदा पनि हुने रहेछ भन्ने कुरा कम्तिमा यही क्षेत्रमा लागेका मानिसहरुलाई ज्ञात हुन्छ । सुनेको, जानेको कुरा भनेर जोडिने एउटा समुदायको पाटो छुट्टै हो ।

समुदायभन्दा गैरसमुदायले त्यो समुदायमा यस्तो हुने रहेछ भनेर जानकारी प्राप्त गर्न अझ बढी जरुरी छ भन्ने लाग्छ । राई समुदायकै लागि कथा नौलो नलाग्न सक्छ, तर मुन्दुमका कथाहरु मञ्चमा कसरी उतारेछन् त भन्ने नयाँ ज्ञान हुन सक्छ । किरण चाम्लिङसँग यो मेरो तेस्रो काम हो । जोखाना, खुवालुङमा हामीले किराँती जीवनशैली, कथा र सभ्यतासम्मका कुरा भन्यौं । जसलाई किराँती लगायत समुदायले अत्यन्तै राम्रो मानिदिनुभयो । अहिले हामीले सृष्टिको कथा भनेका छौं । साल्पासिलिचुङ क्षेत्रमा सृष्टिको समयमा जेजे संघर्षहरु भए, त्यसलाई देखाइएको छ । यसलाई हेर्नुपर्छ भन्ने लाग्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?