मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ललितकला

‘राज्यले कला क्षेत्रका लागि के नै गरेको छ र ?’

रमेश खनाल भन्छन्– अहिलेका कलाकारमा अहमता देखिन्छ

खेलकुद क्षेत्रमा बडिबिल्डरका रुपमा चिनिएका कलाकार तथा समीक्षक रमेश खनालले यसै क्षेत्रबाट प्रतिनिधित्व गर्दै  ‘मिस्टर धरान–२०२७’ र ‘मिस्टर काठमाडौं–२०३०’ उपाधि हात पारे ।

त्यसपछिका दिनहरुमा भने उनी निरन्तर कला सिर्जनासँगै लेखनमा छन् । सिर्जना क्षेत्रका पाँच दशक र लेखनमा उनको चार दशकको अनुभव छ ।

उनले अरुपण आर्ट ग्यालरी मार्फत विगत १२ वर्षदेखि कला प्रदर्शनी, कला कार्यशाल, कला कला प्रशिक्षण जस्ता कला गतिविधिहरु अगाडि बढाउँदै आएका छन् । अहिलेको कला क्षेत्र, कला गतिविधि र सिर्जना क्षेत्रलाई नजिकबाट नियालिरहेका उनै कलाकार तथा समीक्षक खनालसँग जोय नेपालका लागि सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:

अहिलेको कला अवस्थालाई तपाईँले कसरी हेरिरहनुभएको छ ?

अहिलेको कला अवस्था पहिला भन्दा विकास भएको हो । पहिला हामी एउटै धार्मिक विधामा मात्र थियौं । अहिले धार्मिक मात्र नभएर सामाजिक, राजनीतिक, सांस्कृतिक जस्ता विषयहरुलाई समेटिएको छ । यसमा विषयगत र शैलीगत विविधता पनि आएको छ ।

कला क्षेत्रले यहाँसम्म फड्को मारेको छ । यसमा कलाकारहरु स्वयंको पहलमा खुलेका संस्था वा राज्य, कुन पक्षले भूमिका खेलेको छ ?

अहिले जति पनि उपलब्धि भएको छ, ती सबै व्यक्तिगत तवरमा भएका छन् । व्यक्ति नै देश बाहिर गएर पढेर नयाँ कुरा सिकेर आएर यो क्षेत्रका लागि योगदान दिए । राज्यले त के नै गरेको छ र ? वर्षमा एकपटक राष्ट्रिय कला प्रदर्शनी गरेर अवसर दिने मात्र काम गर्‍यो । कलाकारहरु आफै नै व्यक्तिगत र सामूहिक तहबाट उठेर कला क्षेत्र अगाडि बढेको छ ।

ललितकला क्षेत्रमा अहिले कला प्रदर्शनी, कार्यशाला जस्ता गतिविधि व्यापक रुपमा बढेको देखिन्छ, कला क्षेत्रको अझै विकासका लागि यो कला ट्रेण्डलाई यसरी अगाडि लैजाने कि बदल्नुपर्छ भन्नेमा, तपाईँको धारणा के छ ?

यसमा परिवर्तन हुनुपर्छ । हैन भने हिजो पनि त्यही चीज हाज पनि त्यही नै भयो भने परिर्वतन नै हुँदैन । परिवर्तन हुनका लागि अहिले नै हामीले बाटो खोज्नुपर्छ ।

हिजोभन्दा आज र आजभन्दा भोलि फरक हुने चीजहरु निकाल्नुपर्छ । यसमा हामीले आफै खोज्न जरुरी छ । जस्तो प्रकृतिमा गएर ल्याण्डस्केप सिर्जना गर्नु नराम्रो कुरा होइन । तर त्यसमा मौलिकता आउनुपर्छ ।

जोन कस्टेबल र टर्नर जस्ता कलाकारहरु त्यतिकै प्रसिद्ध भएका होइनन् । उहाँहरुले समुद्री ल्याण्डस्केप गर्दागर्दै यस्तो परिमार्जित गर्नुभयो कि, उहाँहरुको कलर, प्रस्तुति विश्व प्रशिद्ध भए ।

हाम्रो पनि सबै विधामा कलाकारहरु घोटिन र अध्ययन गरेर लाग्नुपर्छ । होइन भने हिजो जस्तो थियो आज पनि त्यसरी नै चल्दै जान्छ ।

चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकार, मनुजबाबु मिश्र, रामानान्द जोशी, लैनसिंह वाङ्देलहरुले कोरेको आधुनिक कला धारमै अहिलेका कलाकारहरु हिँडिरहनुभएको हो र ?

चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकारहरुले भारतरमा अध्ययन गरेर फर्कनुभएपछि नेपाली आधुनिक चित्रकलालाई नयाँपन दिनुभयो । रामानान्द जोशीले मेरो देश र कला भनेर वाटर कलरका माध्यममा जानुभयो । वाटर कलरमा उहाँको विशिष्ट शैली थियो ।

अहिले उहाँको शैलीलाई कसैले अनुसरण नै गरेको छैन । त्यस्तै मनुजबाबु मिश्रको यथार्थवादी सिर्जनाहरु थिए । उहाँले आफैलाई पोट्रेटमा उतार्नुभएको छ । लैनसिंह वाङ्देल शैलीका अमूर्त कलाहरु जीवन्त बाँचिरहेका छन् । लक्ष्मण श्रेष्ठजस्ता कलाकारहरुले नयाँपन दिनुभएको छ । अहिले त्यो भइरहेको देखिँदैन ।

कलामार्फत देशलाई अगाडि बढाउने हो भने अध्ययन, तथा अनुसन्धान हुनैपर्छ । नयाँ चिज खोतल्नैपर्छ । त्योबेलादेखि अहिलेसम्म विकास त भएको छ तर एकदमै उच्च गुणस्तरीय सिर्जनाहरु हुन सकेको छैन ।

कला क्षेत्रमा नयाँपन किन आउन सकेन ?

अहिलेका कलाकारहरुमा अहमता देखिन्छ । अहिले केही कलाकारहरुले केही प्रयास त गरिरहेका छन्, तर ती सबै अनुभवका आधारमा भइरहेका छन् । कलामा नयाँपनका लागि साहित्यको अध्ययन जरुरी छ । कला क्षेत्रमा साहित्य अध्ययन नै छैन ।

हामी कतिपटक पशुपतिमा गएर चित्र बनाउने ? प्रस्तुति नयाँ गर्नुछ भने यही गल्लीहरुमा बसेर पनि निकाल्न सकिन्छ । नयाँपन छ भने मान्छे खोजेर आउँछन् । हाम्रो थाङ्का, पौभा आफ्नै गहनता छन् । यसको आफ्नै मान्यताहरु छन् । यसमा पनि अहिले साधना कमी भएको देखिन्छ ।

कला सिर्जनामा साधनाको नियम कति लागु हुन्छ ?

कलामा साधना एकदमै आवश्यक छ । साधनामा अध्ययन, अनुशासन, धैर्यता, उत्पे्ररणा, त्याग, भाव सबै कुरा पर्छन् । कलाकारलाई चिन्ने मौलिक पहिचान हुनुपर्छ । जसरी शशी शाहको पहिचानलाई हामी घोडाबाट चिन्छौं । त्यसरी नै कलाकारलाई पकड्ने ठाउँ भएन । यसमा हाम्रो मौलिक चिजहरुको कमी छ । केही युवा पुस्ताहरुले दिन खोजिरहेका छन्, तर तपस्या छैन ।

कला क्षेत्रलाई अगाडि ल्याउनुपर्छ भन्ने हुटहुटीका साथ कलाकारहरुले व्यक्तिगत तवरमा प्रदर्शनी र कार्यशालालाई प्राथमिकता दिइरहेका छन्, यसले मात्र कला क्षेत्रमा टेवा पुग्ला र ?

यसले मात्र पक्कै पुग्दैन । यस्ता हुटहुटी कति गर्ने भन्ने हुन्छ । व्यक्तिगत तवरबाट मात्र कति गर्ने ? यसमा राज्यको साथ हुनुपर्छ । अहिलेको स्थानीय, प्रदेश र केन्द्रमा सरकारको साथ चाहिन्छ । एउटा कलाकारका लागि प्रदर्शनी गर्ने अन्र्तर्राष्ट्रिय स्तरको एउटा गतिलो ग्यालरी हामीसँग छैन ।

दुईजना विदेशी कलाकार आए भने हामीसँग देखाउने ठाउँ छैन । बालेन शाह जस्ता कलाप्रेमीले महानगरमार्फत कलाका लागि विशाल म्युजियम बनाउन सक्छन् । हामीले गर्नुपर्ने कुरा धेरै बाँकी छ ।

राज्यकै पहुँच रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा तपाई पनि यो भन्दा अघिल्लो कार्यकालमा प्राज्ञका रुपमा रहनुभयो, यसमा चाहिँ राज्यको भूमिका कस्तो देख्नुभयो ?

त्यहाँ बजेट एकदमै सीमित हुन्छ । निर्वाचन, कोरोनाको समयमा अझ बजेट घटेर आयो । हामी अस्थाथी टहरमा जेनतेन गरी बसेका थियौं । राज्यको पैसा भएपनि त्यहाँ बजेटकै कारण खुलेर काम गर्न सकिँदैन । एकेडेमीभन्दा बाहिर रहेर अझ धेरै काम गर्न सकिन्छ, तर यसमा आफ्नै गोजीको पैसाबाट गर्नुपर्छ ।

कलामा जागरण ल्याउन कलाकार स्वयम् अब आउनुपर्छ कि पर्दैन ?

पैसा जहाँ छ, त्यहाँसम्म हामी कलाकार पुग्न सकेनौं । हामीसँग भारतको जस्तो उद्योगहरु कम भएपनि बैंकहरु छन्, तर त्यहाँ हामी जान सकेनौं । हामीबाट पहलै भएन । ज–जसको लिङ्क छ, तिनिहरु फाट्टफुट्ट बाहिर आएका छन् । जसको छैन, थन्किएरै भित्र बसेका छन् । कहिलेकाहीँ बिक्री र कहिलेकाहीँ गर्ने प्रदर्शनीमै सीमित छन् ।

धेरै कलाकार फ्रस्टेसन भएर कला क्षेत्र नै छोडेका छन् । कलामा खर्च कति गर्ने र कतिवटा सिर्जना गरेर बस्ने भन्ने हुन्छ । एकजना कलाकारको एकजना किन्ने होलान्, त्यतिले पुग्दैन । हामीले किन्ने क्षेत्र नै बढाउन सकेनौं । यसमा हामीसँग साधना र अनुशासनकै कमी भयो । हामीले छुँदा हिरा फल्नुपर्छ ।

सबैले चलाउने उही कलर, उही ब्रस र क्यानभास होलान्, तर सबैका कला किन लक्ष्मण श्रेष्ठका जस्ता भएनन्, त्यो हामीले सोच्नुपर्छ । उहाँले पढेर नै १६ वर्ष बिताउनुभयो । त्यो साधना हामीमा पनि हुनुपर्छ ।

ललितकला क्षेत्र सोचेजस्तो आम मानिसको पहुँचमा किन पुग्न सकेन ?

आधुनिक र समकालीन कलाले नेपालको युगलाई बोकेर हिँड्ने हुनुपर्छ । हाम्रोमा खोइ त युग बोल्ने चित्र ? यो समयलाई प्रतिनिधित्व गर्ने कला हुनुपर्छ । हिमाल र पर्यावरणको विषयमा चित्र सिर्जना भएमा त्यसमा देखिरहेको हिमाल मात्र होइन, जलवायु परिवर्तनले हिमाल र पर्यावरणमा परेको असर, प्रकृति, जीवजन्तु तथा मानवमा परेका प्रभावहरु चित्रण भएको हुनुपर्छ । यसमा आयोजक र कलाकार दुवै चनाखो हुनुपर्छ । 

कला क्षेत्र नै मिडियाको मूलधारामा समेत आउन नसक्नुमा कलाकारको युगप्रति चेत नभएकै कारण भन्न सकिएला र ?

यो पनि एउटा कारण हो । लेख्नेहरुलाई पनि बेवास्ता गरिरहेको अवस्था छ । पत्रकारितालाई लेख्ने बेलामा मात्र खोजिरहेको छ । समीक्षकहरु जन्माउन के गर्ने भन्ने प्रतिष्ठानसँग पनि कुनै योजना छैन । समीक्षकहरुलाई लेखनको दायरा फराकिलो बनाउन अरु देशमा गएर केही समय पढ्न फेलोशिपको व्यवस्था गर्नए सकिन्छ । यसको पहल भइरहेको छैन ।

तपाईँको विचारमा प्रतिष्ठान मात्र नभएर अन्य नीजि कला संस्था र ग्यालरीहरुले पनि कला क्षेत्र, कला लेखन विकासका लागि पहल गर्नुपर्छ जस्तो लाग्छ कि लाग्दैन ?

निजी कला संस्था र ग्यालरीहरुले पनि सहकार्य गरेर यस्ता कामहरु गर्न सकिन्छ । राज्य तहबाट र विभिन्न संस्थाहरुबाट साथ भएमा कला क्षेत्रमा केही गर्न सकिन्छ । साहित्यमा जसरी हाम्रोमा सहकार्यको अभ्यास कमै छन् ।

यसमा प्रतिष्ठानले ग्यालरी, कला समीक्षा संस्थाहरु सबैसँग सहकार्य गर्नुपर्छ । कला क्षेत्रमा नभइ हुने लेखनलाई जोड दिनुपर्छ । साहित्य र सिनेमामा जसरी समालोचकहरु अगाडि छन् । त्यसरी नै कला क्षेत्रमा हुनु जरुरी छ ।

यस्तो अवस्थामा कला क्षेत्रले अब कसरी अगाडि बढ्नुपर्छ ?

यसमा हामीले हरेक कार्यमा सुनियोजित तरिकाले योजना बनाउनुपर्छ । यसमा सधैं संस्थाको मुख ताकेर पनि हुँदैन । निजी संस्थाले पनि सकेको पहल गर्नुपर्छ । कार्यशाला, कला छलफल गर्ने गर्नुपर्छ ।

निजी संस्था र कलाकारले पनि अनुशासन रहेर जहाँबाट जति सकिन्छ, त्यति गर्नुपर्छ । कला क्षेत्रमा सिर्जनादेखि लेखनमा लाग्ने सबैलाई उचित सम्मान र प्रोत्साहनका लागि पुरस्कारको व्यवस्था हुनुपर्छ । प्रतिष्ठानले सबैलाई पहुँचमा ल्याउने गरी सबै क्षेत्रसँग सहकार्यको वातावरण बनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?