मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरिसिद्धिमा सम्पन्न अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिपले बढायो दुई देशबीचको मित्रता

काठमाडौँ। नेपाल र बंगलादेशबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा दुई देशका खेलाडीहरूबीच भाइचाराको भावना विकास गर्ने उद्देश्यका साथ आयोजित ‘अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटसल च्याम्पियनसिप २०२६’ ललितपुरको हरिसिद्धिमा भव्य रूपमा सम्पन्न भएको छ।

‘युनाइटेड बाइ प्यासन, इन्स्पायर्ड बाइ फुटसल’ (United by Passion, Inspired by Futsal) भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिताले दुई छिमेकी राष्ट्रबीच खेलकुद स्तर अभिवृद्धि गर्नुका साथै सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्‍याएको आयोजकले जनाएको छ। प्रतियोगिताले खेलकुदमार्फत दुई देशका नागरिकलाई नजिक ल्याउने र आपसी समझदारीलाई सुदृढ गर्ने महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ।

यस प्रतियोगिताले केवल प्रतिस्पर्धात्मक भावना मात्र नभई दुई देशका खेलप्रेमीहरूलाई एकताबद्ध गर्ने कार्य गरेको आयोजक त्रिशक्ति स्पोर्ट्स एकेडेमीले जनाएको छ। एकेडेमीका अनुसार खेलकुद कूटनीतिका क्षेत्रमा यस्ता कार्यक्रमहरू कोशेढुंगा सावित हुनेछन्। साथै, यसले ग्रासरुट तहबाट फुटसलको विकासमा टेवा पुर्‍याउनुका साथै दुई देशका खेलाडीहरूबीच व्यावसायिक सञ्जाल विस्तार गर्न पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

मैत्रीपूर्ण प्रतियोगितामा नेपालले बंगलादेशलाई ७–४ गोलअन्तरले पराजित गरेको थियो। प्रतियोगितामा सहभागी सबै खेलाडीहरूलाई प्रमुख अतिथि तथा विशेष अतिथिहरूद्वारा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट खेलाडीहरूलाई ट्रफी प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्री बिनोद महर्जनले यस्ता प्रतियोगिताहरूले युवा खेलाडीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै खेलकुदमार्फत दुई देशबीचको कूटनीतिक र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए।

त्यसैगरी, नेपाल उसु महासंघका उपमहासचिव तथा मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले खेलकुद केवल मैदानको प्रतिस्पर्धा मात्र नभई दुई देशका नागरिकबीचको भावनात्मक सेतु भएको उल्लेख गरे। उनले नेपाल र बंगलादेश दुवै खेलप्रेमी राष्ट्र भएकाले यस्ता मैत्रीपूर्ण प्रतियोगिताले दुई देशबीचको मित्रता, विश्वास र भाइचारालाई अझ मजबुत बनाउने धारणा व्यक्त गर्दै खेलाडीहरूलाई हौसला प्रदान गरे।

बंगलादेशी टोलीका प्रशिक्षकले आगामी दिनमा विजेता नेपाली टोलीलाई पूर्ण प्रायोजनमा (फुल स्पोन्सर) बंगलादेश आमन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगितामा सहभागी खेलाडीहरूको जोश, जाँगर तथा अनुशासित प्रदर्शनले फुटसल खेलको भविष्य उज्ज्वल रहेको सन्देश दिएको आयोजकको भनाइ छ। आयोजक त्रिशक्ति स्पोर्ट्स एकेडेमीका उमेश महर्जनले भविष्यमा पनि यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?