मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूचना प्रविधि

क्लाउड सिडिङ के हो? यसले कसरी काम गर्छ?

काठमाडौँ– केही दिनअघि संयुक्त अरब इमिरेट्स(युएई)स्थित दुबईमा परेको भारी वर्षाले क्लाउड सिडिङका बारेमा विश्वभर बहस भयो । दुबईले क्लाउड सिडिङ (कृत्रिम वर्षा) गराएको हो कि भन्ने आशयका समाचारहरू प्रकाशित भए ।

यद्यपि दुबईमा आएको भीषण वर्षा क्लाउड सिडिङका कारण नभएको हुनसक्ने जनाइएको छ । मौसमविदहरूले त्यहाँ भारी मात्रामा पानी पर्ने सम्भावना रहेको २४ घण्टाअघि नै अनुमान गरेका थिए ।

उक्त वर्षा क्लाउड सिडिङका कारण नभएको भनिए पनि दुबईमा क्लाउड सिडिङमार्फत वर्षा गरिँदै आएको छ । त्यतिबेला पनि क्लाउड सिडिङका लागि विमानहरू तयारी गरेर राखिएको थियो ।

त्यो समयमा मरुभूमिको शहर भनेर चिनिने उयक्त क्षेत्रमा दुई वर्षमा हुनुपर्ने वर्षा एकै दिनमा भएको थियो । वर्षाका कारण शहरका ठूला एयरपोर्ट, मेट्रो स्टेशन, महल तथा सडक र व्यापारिक संस्थान डुबानमा परेका थिए ।

प्रविधिको विकाससँगै मानिसले प्रकृतिलाई आफू अनुकुल चलाउन खोजेपछि यो समस्या आएको धेरैले विश्लेषण समेत गरे ।

मानिसले आफ्नो खोज तथा अनुसन्धानको दायरा फराकिलो पारेकै कारण मौसमजस्ता प्राकृतिक कुराहरुमा समेत आफ्नो प्रभाव जमाउन थालेको छ ।

यसले गर्दा आफूलाई आवश्यकता परेको समयमा पानी पार्न सक्ने र नचाहिएको बेलामा वर्षाको सम्भावनालाई कम गर्न सक्ने क्लाउड सिडिङ (कृत्रिम वर्षा) जस्तो प्रविधिको विकास गरिसकेको छ ।

यो प्रविधिको विकासका लागि चीनजस्ता समृद्ध मुलुकहरुले त लाखौँ डलर खर्च गर्ने गरेका छन् ।

‘गल्फ स्टेट नेशनल सेन्टर अफ मेटरोलोजी’का अनुसार दुबईको अल–एन एयरपोर्ट क्लाउड सिडिङका लागि विमानहरु उडाइएको थियो । वैज्ञानिकहरुले दुबईमा देखिएको यो समस्या क्लाउड सिडिङमा कुनै समस्या भएका कारण यस्तो समस्या आएको बताएका छन् ।

तर, ब्लूमवर्गको एक रिपोर्टले भने क्लाउड सिडिङका लागि विमानहरू उडाउने तयारी गरिए पनि पानी परेकाले त्यसो नगरिएको जनाएको छ ।

के हो क्लाउड सिडिङ?

क्लाउड सिडिङ प्रविधिले कृत्रिम वर्षा गराउँछ । विमानमार्फत बादलमा पानी पार्ने तत्वको मिश्रण गराइदिन्छ । यसले कृत्रिम वर्षा गराउँछ । र, यो महङ्गो पनि हुन्छ । दुबई लगायतका विश्वका कैयन् देशले पहिलेदेखि नै यो प्रविधिको प्रयोग गरेर क्लाउड सिडिङमार्फत वर्षा गराउँदै आएका छन् ।

पृथ्वीमा रहेको तापक्रमका कारणले वाफ बनेर माथि वायुमण्डलमा जाँदै गर्दा चिसिएर बादल भई स–साना पानीका थोपामा बदलिन्छ ।

स–साना पानीका थोपाहरु एकअर्कामा मिसिने क्रममा थोपामा परिणत हुन्छन् । बिस्तारै यी थोपाहरु अझ उचाइमा जाँदै गर्दा हिउँमा परिणत हुन्छन् । आफ्नो तौलका कारण हावामा उड्न नसकेर पृथ्वीमा कतै वर्षाका रुपमा त कतै हिउँकै रुपमा वर्षिन्छन् ।

तर, कहिलेकाहीँ कारणवश पानी पर्न नसकेको अवस्थामा वा पानी परे पनि बादल पृथ्वीमा पुग्न नसकेको अवस्थामा विशेष प्रविधिको प्रयोग गरेर सोही बादलबाट वर्षा गराइने प्रक्रिया नै कृत्रिम वर्षा अर्थात ‘क्लाउड सिडिङ’ हो ।

यसमा वर्षा वा हिउँको निर्माणलाई प्रोत्साहित गर्न बादलमा विभिन्न यौगिकहरु मिलाउने गरिन्छ । जसको लागि वायुयानको मद्दतले बादलमा सिल्भर आयोडाइड, पोटासियम क्लोराइड र सोडियम क्लोराइड जस्ता पदार्थ छर्किने गरिन्छ ।

यो विधिले समान्यतया केही कारणले बादलमा वर्षा वा हिउँ उत्पादन गर्न नसकेको अवस्थामा पानीका थोपाहरू निर्माण गर्न केन्द्रबिन्दुको रूपमा काम गर्दछ । फलस्वरुप पृथ्वीमा पानी पर्छ ।

सामान्यतया खडेरी पर्दा वा बाढीको अवस्था सामना गर्नुका साथै जङ्गलमा लाग्ने भीषण आगलागी, असहनीय गर्मी, आँधी र प्रदूषणलाई कम गर्न पनि कृत्रिम वर्षा गर्ने गरेको पाइन्छ ।

प्राकृतिक रुपमा धेरै कम वर्षा हुने इजरायलले धेरै कृत्रिम वर्षा गराउने गर्छ । यता संयुक्त अरब इमिरेट्सले पनि विभिन्न खालका अनुसन्धान तथा बढ्दो गर्मीलाई कम गर्नका लागि पनि बेलाबेलामा कृत्रिम वर्षा गराउने गर्छ ।

सन् १९४० को दशकदेखि शुरु भएको मानिने ‘क्लाउड सिडिङ’ को अभ्यासमा केही मौसमविद् र वायुमण्डलीय वैज्ञानिकहरूले यसको प्रभावकारिता र प्रयोगमा धेरै प्रश्न समेत उठाएका छन् ।

कृत्रिम वर्षा गराउने प्रक्रिया

कृत्रिम वर्षा अर्थात् क्लाउड सिडिङ गर्न हाइग्रोस्कोपिक, डाइनामिक, र स्ट्याटिक गरी मुख्य तीन प्रविधिको प्रयोग गरिन्छ । यी सबै प्रविधिले अधिक पानी उत्पादन गर्न बादलहरूलाई प्रभाव पार्ने काम गर्छ ।

स्ट्याटिक क्लाउड सिडिङ

यो विधिमार्फत धेरै पानी भएको तर पर्न नसक्ने अवस्था भएको बादलमा सिल्भर आयोडाइड नामक यौगिक फैलाउने गरिन्छ । जसले बादलमा एक प्रकारको क्रिष्टल प्रदान गर्छ । क्रिष्टल बढ्दै गएपछि अन्तिममा पानी पर्छ ।

डाइनामिक क्लाउड सिडिङ

यो प्रविधिमा जलवाष्पयुक्त हावामा रहेको वर्षाको सम्भावनामा वृद्धि गर्नु हो । यो प्रविधिमा स्ट्याटिक प्रविधिभन्दा धेरै जटिल र विश्वसनीय तरिका भएको वैज्ञानिकहरुको भनाइ छ ।

कोलोराडो स्टेट युनिभर्सिटीका वायुमण्डलीय विज्ञानका एक प्रोफेसर तथा अन्य अनुसन्धानकर्ताहरुले केही समय पहिले पानी पार्न सक्ने यो प्रविधिको विभिन्न चरणहरुमा गरेको अध्ययन पश्चात् कुनै एक चरणमा पनि आउने अप्रत्याशित नतिजाले पूरै प्रक्रियालाई नकारात्मक असर गर्न सक्ने बताएका थिए ।

हाइग्रोस्कोपिक क्लाउड सिस्टम

यो प्रविधिअन्तर्गत बादलहरुको अध्ययन गरी तिनको तापक्रमको आधारमा ज्वाला वा विस्फोटक पदार्थ प्रयोग गरेर नुनजस्ता हाइग्रोस्कोपिक पदार्थका साना कणहरूको प्रयोग गर्ने गरिन्छ । यी कणहरूले क्लाउड कन्डेन्सेसन (पानीको थोपा बनाउने प्रक्रिया) का लागि काम गरेर बादलमा पानीको मात्रा र पानीका थोपाको आकार दुवै बढाउने गर्छन् । फलस्वरुप यसले बादलको स्थिरता र परावर्तन बढाई वर्षा गराउँछ ।

हालसम्म कुन कुन देशले गरे यो प्रविधिको प्रयोग ?

चीन

सन् १९५८ मा चिनियाँहरूले आफ्नो उत्तरी क्षेत्रमा सुख्खा अवस्थाको सामना गर्न मौसममा प्रयोगात्मक हेरफेर गरेको थियो । गोबी मरुभूमिबाट एक्कासी आएको तुफान तथा अनिकाललाई कम गर्नका लागि पनि चीनले क्लाउड सिडिङ गरेको थियो ।

चीनमा राष्ट्रिय मौसम परिमार्जन कार्यालयको लागि वार्षिक लाखौं डलर बजेट छुट्याउने गरिन्छ । यस्तै चीनले युनानमा भएको विश्व प्रदर्शनी, सांघाईमा एसियाली खेलकुद र सिचुआनको विशाल पाण्डा महोत्सव जस्ता राष्ट्रिय कार्यक्रमहरूमा मौसमको अवस्थालाई सकारात्मक रूपमा प्रभाव पारेको थियो ।

यस्तै सन् २००८ को ओलम्पिक चलिरहेको समयमा बेइजिङ स्थित ‘बर्डस् नेस्ट’ नाम दिइएको स्टेडियममा पानी रोक्नका लागि समेत यसको प्रयोग गरिएको थियो ।

रुस

रुसी सरकारले पनि सन २०१६ मा एउटा सार्वजनिक विदाका दिन हुनसक्ने सम्भावित वर्षालाई रोक्नका लागि करीब १० लाख अमेरिकी डलरभन्दा बढी खर्च गरेको थियो । विभिन्न मिडिया रिपोर्टका अनुसार त्यो दिन हलुका मात्र पानी परेको थियो ।

भारत

अमेरिकन मेट्रियोलोजिकल सोसाइटीमा प्रकाशित एक अध्ययनले भारतको महाराष्ट्रको सोलापुर क्षेत्रमा सन् २०१७ देखि २०१९ को बीचमा क्लाउड सिडिङ ट्रायल गरिएको थियो । जसका कारण सामान्य अवस्थाको तुलनामा १८ प्रतिशतले वर्षामा वृद्धि भएको थियो । यो प्रयोग हाइग्रोस्कोपिक क्लाउड सिडिङमा केन्द्रित रहेको पनि बताइएको थियो ।

संयुक्त अरब इमिरेट्स, दुबई

युएई सरकारले देशभित्र पानी अभाव अभाव कम गर्न र जलश्रोत बढाउनका लागि धेरैपटक यो प्रविधि अपनाएको छ । मानव निर्मित वर्षा वा कृत्रिम वर्षाका रूपमा पनि चिनिने यो प्रविधिले युएईको खाडी क्षेत्र अग्रणी देशको रुपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?