मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

बुद्धि बङ्गारा पलाउँदा दुखाइ किन हुन्छ?

काठमाडौँ– बुद्धि बङ्गारा पलाउने बेला प्राय: सबैले दुखाइ महसूस गरेकै हुन्छन् । कतिपय अवस्थामा बुद्धि बङ्गारा पलाउँदा गिजा सुन्निने र खाना खाँदा पनि समस्या हुने हुन्छ ।

बुद्धि बङ्गारा सामान्यतया वयस्क अवस्थामा आउने गर्छ । त्यस्तै गिजा छेडेर टुसा जस्तो आकारमा पलाउने बुद्धि बङ्गारा एकैपटक पनि आउँदैन । बुद्धि बङ्गारा कस्तो दाँत हो यो किन पलाउँछ र पलाउँदा दुख्ने कारण के हो ?  बुद्धि बङ्गारा पलाउँदा किन गाला सुन्निने र गिजा सुन्निने समस्या हुन्छ लगायतका विषयमा डा. कुशल बिम्बसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ता:

बुद्धि बङ्गारा कस्तो दाँत हो?

मानव जीवनमा दुई सेट दाँत हुन्छ । एक भनेको दूधे दाँत हो । जुन तीन वर्षसम्म आउने  बच्चाहरुको दाँत हो । र अर्को भनेको ठूलो मान्छेको स्थायी दाँत हो जुन ६ वर्षपछि पलाउने दाँतहरु हुन् । दूधे दाँत २० वटा हुन्छन् र स्थायी दाँत ३२ वटा हुन्छन् । र, तेस्रो भनेको ती ३२ वटा दाँतमा सबैभन्दा पछि आउने तेस्रो बङ्गारा दाँत नै बुद्धि बङ्गारा हो । यो दाँत १८ वर्षदेखि २३ वर्षको उमेर अवधि भित्र आइसक्छ । १८ देखि २३ वर्षको परिपक्क अर्थात् बुद्धि विकास हुने समयमा आउने दाँत भएकाले यसलाई बुद्धि बङ्गारा भनिएको हो ।

बुद्धि बङ्गारा दाँत कतिवटा हुन्छ ?

बुद्धि बङ्गारा दाँत तल दुई वटा र माथि दुईवटा गरी जम्मा चारवटा हुन्छन् ।

बुद्धि बङ्गारा किन पलाउँछ ? बुद्धि बङ्गारा पलाउँदा दुख्ने कारण के हो ?

बुद्धि बङ्गारा पलाउँदा गिजालाई छेडेर पलाउँछ । यो प्रक्रियामा गिजाहरु फाटिँदै आउँछन् र हामीले खाएको खानाहरु त्यही गिजामा गएर जम्मा हुन्छ । यसकारण हामीले दाँत राम्ररी सफा गरेनौं भने गिजाहरु सुनिन्छन् र त्यो सुन्निएको गिजाको कारण दुखाइ शुरु हुन्छ ।

हामीले झट्ट हेर्दा किराले खाएको छैन तर दाँत दुखिरहेको हुन्छ । हामीले खाना खाएपछि राम्ररी सफा गरेनौं भने त्यही खानाले गर्दा इन्फेक्सन हुन्छ र इन्फेक्सनले गर्दा गिजा सुन्निन्छ । कहिलेकाहीँ गिजा सुन्निएको इन्फेक्सन भएको ठाउँमा पिप जम्छ र पूरै गाला सुन्निने घाँटीसम्म सुन्निने समस्याहरु पनि आउन सक्छ ।

बुद्धि बङ्गारा पूर्ण रुपमा पलाइसक्न कति समय लाग्छ ?

सामान्यतया दाँत निस्कने प्रक्रिया भनेको दुई तिहाइ जरा बन्न थालेपछि गिजा फाटेर दाँतहरु पलाउँदै जाने हो । बुद्धि बङ्गारा दुई/तीन महिनाको अन्तरालमा पूर्ण रुपमा पलाइ सक्छ ।

कतिपयले बुद्धि बङ्गारा पलाउँदाको दुखाइ असह्य हुने भएकोले पलाउँदै गरेको बुद्धि बङ्गारा नै उखेलिदिने गर्दछन् । यो दन्त स्वास्थ्यको लागि कतिको स्वस्थकर हो ?

सामान्यतया शुरुको प्रक्रियामा गिजाहरु फाटेर दुखेको हो भने औषधि दिएर निको बनाइन्छ । तर लगातार दुई वा दुईभन्दा बढी पटक यसरी दुखिरहेको अवस्था छ भने उखेलेर फ्याँक्नुपर्ने हुन्छ । र, अर्को भनेको यदि बुद्धि बङ्गारा सीधा नआएर बाङ्गो आएको छ भने अगाडिको दाँतहरुलाई यसले चाप दिन्छ र यही प्रक्रियामा अगाडिको दाँतहरु खियाउने, किरा लाग्ने समस्या भयो भने पनि अगाडिको चपाउने दाँत बचाउनका लागि बुद्धि बङ्गारा निकाल्नुपर्छ ।

अर्को भनेको बुद्धि बङ्गारा भित्रै अड्किएर बस्यो तर भित्र अड्किने प्रक्रियामा भित्रै सिस्टहरु ट्युमरहरु बनाउन र हड्डीहरु खियाउन थाले भने पनि दाँत झ्क्निुपर्ने अवस्था आउँछ । बुद्धि बङ्गाराले चपाउन त्यति सहयोग गदैन । यस कारण बुद्धि बङ्गारा निकाल्दा स्वास्थ्यमा असर गर्दैन ।

बुद्धि बङ्गारा पलाउँदाको दुखाइ कम गर्ने घरेलु उपायहरु के –कस्ता रहेका छन् ?

मुख्य कुरा दुखाइ हुने भनेको खानाहरु अड्किएर गिजा सुन्निने हो । यस कारण राम्रोसँग ब्रस गर्ने र कहिलेकाहीँ ब्रस गर्दा पनि खानाहरु अड्किएरै बसेको हुनसक्छ । यस्तो अवस्थामा मज्जाले कुल्ला गर्नुपर्दछ । नुन पानीले कुल्ला गर्ने र पेनकिलर र एन्टिबायोटिकको सेवनले पनि दुखाइ कम हुन्छ ।

बुद्धि बङ्गारा पलाएर गिजा सुन्निएको अवस्थामा के गर्नु हुँदैन?

ल्वाङको तेल फिटकिरी पानीहरु हामीले मुखमा राख्नु हुँदैन । किनकि हाम्रो मुखभित्रको छाला निकै नरम र सफ्ट हुन्छ । ल्वाङको तेल फिटकिरी पानी सेवनले हाम्रो नरम छालालाई जलाउँछ ।

अन्त्यमा, पाठकलाई के सुझाव दिन चाहनुहुन्छ ?

मुख स्वास्थ्य भनेको मानव प्राणीको रोगको उद्गम स्थल हो । यसकारण मुख स्वास्थ्यको ध्यान दिएमा ९० प्रतिशत रोग लाग्नबाट बच्न सकिन्छ । साँझ बिहान ब्रश गर्ने, कम्तिमा वर्षमा एकपटक दन्त परीक्षण गराउनुपर्छ । दाँतमा किरा लागेको छ भने हेलचेक्र्याइँ गरेर बस्नु हुँदैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?