काठमाडौँ– विश्वप्रसिद्ध लेखकहरुको सूचीमा टोनी मोरिसनको नाम अग्र स्थानमा आउँछ । साहित्यतर्फ उनले नाटक, उपन्यास तथा बालसाहित्य सिर्जनामा कलम चलाएकी छिन् । नोबेल पुरस्कार विजेता लेखक मोरिसनका साहित्य सिर्जनाहरुमा अफ्रिकी-अमेरिकी समाजको ऐतिहासिक र सांस्कृतिक पक्ष, शैली, संरचना र स्वरहरु अन्तरघुलित भएको पाइन्छ । जसले आख्यानमार्फत नै अफ्रिकी-अमेरिकी समाजले भोगेको पीडा, उत्पीडन र विभेदलाई उजागर गरिन् । उनको साहित्यमा महिला र काला जातिमाथि भएको दमन, विभेदविरुद्धको बुलन्द आवाज थियो ।
१९९३ मा उनले विश्व साहित्यमा सम्मानित नोबेल पुरस्कार पाएकी थिइन् । उनले साहित्यमा नोबेल पुरस्कार जित्ने पहिलो अश्वेत महिलाको रुपमा इतिहास रचिन् । जुन सम्पूर्ण अफ्रिकी–अमेरिकी महिला तथा युवा पुस्ताका लागि प्रेरणाको स्रोत बन्यो । उनीपछिका पुस्ताले उनकै पदछापलाई पछ्याउँदै लेखनलाई अगाडि बढाएका छन् ।
सन् १९७० मा मोरिसनको पहिलो उपन्यास ‘द ब्लूस्ट आई’ प्रकाशित भएको थियो । त्यसपछि १९८७ मा प्रकाशित अफ्रिकी–अमेरिकी दास महिलाको सत्य कथामा आधारित उपन्यास ‘बिलभ्ड’ मार्फत उनले पुलित्जर पुरस्कार सहित अन्य थुप्रै पुरस्कारहरू हात पारिन् । त्यतिबेला बेस्ट सेलरमा रहेको उक्त उपन्यासले नै उनलाई चर्चाको शिखरमा पुर्याएको थियो ।
मोरिसनको जन्म फेब्रुअरी १८, १९३१ मा लोरेन, ओहायोमा चारमध्ये दोस्रो सन्तानका रुपमा भएको थियो । उनको वास्तविक नाम क्लो एन्थोनी वोफोर्ड हो । पछि १२ वर्षको उमेरमा क्याथोलिक धर्म अनुसरण गरेकी उनले सेन्ट एन्थोनीको नामबाट ‘टोनी’ उपनाम राखिन् ।
जातीय र वर्गीय विभेदको खाडल रहेको समाजमा जन्मिएकी उनले बाल्यकालमै विभेदपूर्ण समाज र अभावलाई भोगिन् । उनी दुई वर्षकी हुँदा उनको परिवार बस्ने घरमा घर मालिकले आगो लगाइदिएका थिए । घरभाडा तिर्न नसकेकै कारण मालिकले सबै सामानसहित नै आगो लगाइदिएका थिए ।
यी अभाव र चुनौतीहरुका बाबजुत पनि उनले आफ्नो पढाइलाई निरन्तरता दिइन् । विद्यालयमा हरेक बहस तथा कार्यक्रमहरुमा समेत उनले सक्रियता जनाउँथिन् । फलस्वरुप उनले सार्वजनिक पुस्तकालयको प्रमुख पुस्तकालयको सचिवका रुपमा अझै आफूलाई फराकिलो बनाइन् ।
१९४९मा उच्च शिक्षाको लागि उनी वाशिंगटन डी.सी.स्थित होवार्ड विश्वविद्यालयमा पुगिन् । त्यही यात्रामै उनले जातीय विभेदको खाडललाई अझै नजिकबाट देखिन् । होवार्डमै उनी नाट्य समूहमा जोडिएपछि उनले यसैमार्फत जातीय विभेदको पर्खाल, छालाको रङ्गकै आधारमा कसरी मानिसहरु विभाजित छन् भन्ने कुरामा जोड दिइन् ।
होवार्ड अध्ययनकै क्रममा उनले लेखक, कलाकार तथा अन्य व्यक्तिहरुसँग सम्पर्क र सहकार्य गर्ने मौका पाइन् । जसले गर्दा उनको कार्य र सोचनीय क्षमतालाई अझै फराकिलो बनाउन सघाउ पुर्यायो । अंग्रेजीमा स्नातक डिग्री हासिल गरेपछि, मोरिसनले अंग्रेजीमा मास्टर अफ आर्ट्स प्राप्त गर्न कोर्नेल विश्वविद्यालयमा भर्ना भइन् । १९५५ मा स्नातक गरेपछि उनले टेक्सास दक्षिणी विश्वविद्यालयमा अंग्रेजी पढाउन थालिन् र प्रोफेसरको रूपमा होवार्ड विश्वविद्यालयमा फर्किइन् ।
होवार्डमा सात वर्ष अध्यापन गरेपछि उनी न्यूयोर्कमा र्यान्डम हाउस प्रकाशनको पाठ्यपुस्तक विभागको सम्पादक बनिन् । त्यस अवधिमा कम्पनीको न्यूयोर्क शहर शाखामा सरुवा भएकी उनले अफ्रिकी–अमेरिकी लेखकहरूको कथा र पुस्तकहरूको समेत सम्पादन गर्न थालिन् । त्यही अवधिमा उनले आफ्नो लेखनलाई अगाडि बढाएकी थिइन् ।
मोरिसनको लेखनमा महिला, रङ्गविभेद जस्ता सीमान्त सुमदायका आवाजहरु नै मुखरित भएका छन् । उनको उपन्यास सुरा(१९७३)मा पनि अफ्रिकन समुदायमा महिलाको सम्बन्धकाबारेमा लेखिएको छ । त्यस्तै, उनको अर्को उपन्यास ‘सङ्ग अफ सोलोमन(१९७७)’मा पनि जाति, वर्ग, लिङ्ग र द्वन्द्वको पक्षलाई समेटिएको छ ।
उनले उपन्यास ‘बिलभ्ड’मा भने १९ औं शताब्दीमा यथावत रहेको सत्य घटनामा आधारित कथालाई लेखेकी छिन् । तत्कालीन समयको दास प्रथा र त्यसमा पिल्सिएकी एक युवतीको कारुणिक कथा यसमा लेखिएको छ । १९९२ मा आएको उनको अर्को कृति ‘ज्याज’ प्रकाशित भयो । सन् १९२० ताका न्यूयोर्क शहरको हार्लेममा हुने हिंसाका कथा यसमा समेटिएको छ । उनको यो कृति आएको एक वर्षपछि नै उनले नोबेल पुरस्कार पाएकी थिइन् ।
मोरिसनले लेखनको माध्यमबाट अफ्रिकी अमेरिकी जीवन, समाज र जातिमा गहिरो प्रभाव छोड्ने काम गरिन् ।
१९९८मा ओप्रा विन्फ्रेले मोरिसनको कृति ‘बिलभ्ड’ आधारित रहेर फिल्म निर्माण तथा अभिनय नै गरिन् । उक्त फिल्ममा ड्यानी ग्लोभर, थान्डी न्युटन र किम्बर्ली एलिस जस्ता हलिउडका प्रमुख कलाकारहरूले पनि अभिनय गरेका थिए ।
मोरिसनले जीवनको अन्तिम समयसम्म पनि विभिन्न पुस्तकहरू लेखिरहिन् । २०१९, जुनमा निर्देशक टिमोथी ग्रीनफिल्ड–स्यान्डर्सले ‘टोनी मोरिसन : द पिसेस आई एम’ नामक मोरिसनको जीवनमा आधारित वृत्तचित्र निर्माण गरेर सार्वजनिक गरे । त्यसको दुई महिनापछि निमोनियाका कारण ८८ वर्षको उमेरमा मोरिसन सधैंका लागि अस्ताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया