मार्फा– मुस्ताङ जिल्लाको मार्फा बस्तीको मौलिक सौन्दर्य स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षण केन्द्र हो । परम्परागत शैलीमा निर्माण भएका घरको संरचना र त्यहाँका गल्लीहरुले पर्यटकको मन लोभ्याउँछ ।
त्यहाँको सौन्दर्यलाई कायम राख्न मुखियाहरुको भूमिका महत्त्वपूर्ण रहेको मार्फाका पूर्व मुखिया ७६ वर्षीय हरि प्रसाद लालचनले बताए । उनका अनुसार मार्फामा लालचन, हिराचन, ज्वारचन र पन्नाचन गरि चारवटा समुदायका थकालीहरु बसोबास गर्छन् ।
यी चारैवटा समुदायका आ-आफ्नै मुखिया नियुक्त भएको पूर्व मुखिया लालचनले बताए ।
‘हामी वडाको अध्यक्षसँगै बस्तीको मुखियालाई पनि मान्छौं,’ उनले भने, ‘मुखियाले बस्तीको रेखदेख, सरसफाइ र सुरक्षा समेत गर्छ ।’
स्थानीय सरकारका कामकारबाही वा राज्य नियम कानुनी हिसाबमै गर्नुपर्ने काम मात्र वडा अध्यक्ष मार्फत गरिने गरेको उनले सुनाए ।
बस्तीको अधिकांश कार्यहरु भने मुखिया मार्फत नै गरिने ज्वारचन समुदायका हालका मुखिया कविन ज्वारचनले बताए । उनका अनुसार एक वर्षका लागि मुखिया नियुक्त भएपछि बस्तीको कुलोदेखि सुरक्षा प्रणालीमा विशेष रेखदेख जिम्मेवारी लिनुपर्ने हुन्छ ।
बस्तीमा कसैले चोरी गर्यो वा आपराधिक गतिविधि भएमा मुखियाहरुले नै हेर्नुपर्ने लालचनले बताए । यसरी नै मार्फाको सौन्दर्यलाई बचाइ राखेको उनको भनाइ छ ।
उनका अनुसार मार्फा समुदाय विशेष त कृषि प्रणालीमा नै आधारित भएपनि पछिल्लो समय व्यापारमा समेत अगाडि छन् । अहिलेको स्याउ बगानमा खेतैखेत भएको स्मरण गर्दै उनले भने, ‘पहिला त स्याउका बुट्यानहरु भएको ठाँउमा पूरै खेतैखेत थियो ।
आलु, उवा, जौ, मकै बेस्सरी फल्थ्यो। यता बन्दा तरकारी पनि गजबको हुन्छ ।’ अहिले भने स्याउ फलाउन तिर नै आकर्षण बढेको उनले सुनाए ।
स्थानीयका अनुसार मार्फामा मुस्ताङको मुक्तिनाथका साथै जोमसोम र हिमालको दृश्य अवलोकन गर्न आउने पर्यटकहरु बस्तीमा आउने गरेका छन् । विशेष गरी भदौ र असोजतिर पर्यटनकहरुको भिड बढ्ने लालचनले बताए । उनका अनुसार त्यतिबेला स्याउ बगानमा फलेका स्याउको सुगन्धले पर्यटक लोभिने गर्छन् ।
त्यहाँको बस्ती र व्यवसाय व्यवस्थापनका लागि मार्फा होटल व्यवसाय संघ समेत गठित रहेको उनले बताए । पछिल्लो समय भने मार्फाबाट थकालीहरु पोखरा, बागलुङ, काठमाडौंसम्म बसाइँ सरेर पुगेका छन् ।
रोजगारीका लागि मगर, थापा, बिक लगायतका जातका मानिसहरू मार्फामा आएर अस्थायी रूपमा बसोबास गरिरहेको लालचनले सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया