मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टिन ठटाएर र आगो बालेर तर्साए पनि भागेन हात्ती

काठमाडौँ- रात नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा छिरेर पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पुर्याउन थालेको छ ।

“विगतमा हात्ती आगो देखाएर, टिन ठटाएर र होहल्ला गरेर भाग्ने गरेको थियो”, शुक्लाफाँटा–५ का वडा सदस्य जीतबहादुर साउदले भने, “हात्ती छिर्ने बाटोमै काठका मुढा सल्काएर आगो बालेका थियौँ, हात्ती कुनै पर्वाह नगरी खेतबारीमै छिर्यो ।” साइरन बजाएर भगाउन खोजियो, पटाका पड्काइयो तैपनि हात्ती नभागेको उनले बताए ।

“पेट टन्न हुनेगरी खेतबारीमा पसेर गहुँबाली खाएपछि बल्ल निकुञ्जतिर लाग्यो”, उनले भने, प्रत्येक वर्ष हात्तीले धानबाली र गहुँबाली पाक्नै लागेका बेला छिरेर नोक्सानी गर्दै आएको उनले गुनासो गरे । “पाक्नै लागेको गहुँबालीमा हात्तीले पसेर नोक्सानी गर्न लागेका बेला भगाउन जानैपर्छ”, स्थानीय केशरबहादुर साउदले भने, “गहुँबाली आफ्नै आँखा अगाडि खाएको हेर्नै सक्दैनौँ, भगाउन जाँदा हात्तीले लखेट्न आउने भएकाले मानवीय क्षति हुने सम्भावना पनि बढेर गएको छ ।”

हात्ती छिर्ने ठाउँमा विद्युतीय मेसवायर लगाउन एक दशक अघिदेखि माग गर्दै आए पनि पूरा नभएको उनले बताए । तीन दिनको अवधिमै हात्तीले वडा नं ५ गर्जमुनिका भीमबहादुर साउद, केशरबहादुर साउद, जीतबहादुर साउद, सागर बोहरा, उत्तम भण्डारी, जयबहादुर साउद, विनोद कुवँर, भानदेव पन्त, लक्ष्मी पन्त, पूजा पाल, लोकेन्द्र खत्री, अर्जुन पन्त, मालती पाल र धनबहादुर साउदको गरी झण्डै चार बिघा खेतमा लगाएको गहुँबाली हात्तीले सखाप पारेको छ । किसानको न्यूनतम दुई कठ्ठादेखि १० कठ्ठासम्म जग्गाको गहुँबाली हात्तीको बथानले नोक्सानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?