मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

जसलाई नेपालमा कलाको ‘ट्रेण्ड’ नै बदल्नु छ

‘इन आर्ट वर्ल्ड’ मार्फत नेपाललाई विश्वभर चिनाउन चाहने अनिता

काठमाडौँ– ‘कलाशाला’ शीर्षकमा भएको अन्तर्राष्ट्रिय कार्यशाला तथा कला प्रदर्शनी हालै समापन भएको छ ।

राजधानीको एयरपोर्टस्थित एयरपोर्ट होटलमा चैत्र २ गतेदेखि शुरु गरिएको प्रदर्शनी ५ गते समापन गरिएको थियो ।

फरक देश, फरक संस्कृति र फरक धारका मानिसहरुबीच एक–अर्कामा एकता, भावना कलाशैली साटासाट गर्ने उद्देश्यले सो प्रदर्शनीको आयोजना गरिएको थियो । प्रदर्शनीमा नेपालसहित भारत, ताइवान, बंगलादेश, इरान लगायतका देशबाट एक सयभन्दा बढी कलाकारहरु सहभागी भएका थिए । कार्यक्रममा सहभागी विदेशी कलाकारहरुले पाटन, पशुपति क्षेत्र लगायतका स्थानहरुमा गएर कला सम्पदाको अवलोकन तथा भ्रमण समेत गरे ।

कार्यक्रमलाई ‘इन आर्ट वर्ल्ड’को आयोजनामा ‘आकार आर्ट सेन्टर’ र ‘नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज’ले संयोजन गरेको थियो ।

कलाकार अनिता भट्टराई यीमध्ये आर्ट सेन्टरकी संस्थापक हुन् भने आर्ट वर्ल्डमा नेपालबाट उनले प्रतिनिधित्व समेत गरिरहेकी छिन् । कलालाई आयआर्जनसँगै जोडेर यसलाई कला, संस्कृति र पर्यटन क्षेत्रमा विस्तार गरी ललितकलालाई विश्वमाझ पुर्‍याउने उद्देश्यले ‘इन आर्ट वर्ल्ड’को कला समूह गठन भएको हो ।

विगत झण्डै आधा दशकदेखि सक्रिय भएर लागेको समूहमा भारतबाट प्रवीण कर्माकर, बंगलादेशबाट मोहम्मद कौशर हुसेन र नेपालबाट प्रतिनिधिका रुपमा भट्टराई छिन् । भट्टराईकै मुख्य संयोजनमा इन आर्टले नेपालमा गरेको यो पहिलो कार्यक्रम हो ।

कार्यक्रम समापनपछि भट्टराईले केही सन्तोषको सास फेरेकी छिन् । व्यक्तिगत प्रयास र आँटले पनि कला क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा समेत सहकार्य गर्न सकिन्छ भन्ने उदाहरण समेत उनले पेश गरेकी छिन् ।

उनले भनिन्, ‘यति धेरै कलाकार र कलाप्रेमीहरु सहभागी हुनुभएको कार्यक्रम निकै सफल रुपमा सकियो । सफल मात्र होइन, हामीले सहभागीलाई खुसी दिन सक्यौं । यसमा त झनै राम्रो भयो ।’

ललितकलामा नै स्नातकोत्तर गरेकी भट्टराई कला क्षेत्रमा विगत डेढ दशकदेखि सक्रिय छिन् । विगत एक दशकदेखि उनले ‘आकार आर्ट सेन्टर’लाई सञ्चालन गरिरहेकी छिन् ।

आकार मार्फत् नै उनले कला कार्यशाला, कला छलफल तथा प्रदर्शनी जस्ता क्रियाकलापहरुलाई अगाडि बढाइरहेकी छिन् ।

कुनै पनि कलाले कलाकार आर्थिक रुपमा बाँच्ने आधार बनोस् भन्ने उनी चाहन्छिन् । कला, कलाकार र बजारको सम्बन्ध नजिक होस् भन्ने वातावरण तय गर्न उनी आकार आर्ट मार्फत् नै पहल गरिरहेकी छिन् ।

यसरी बन्यो ‘इन आर्ट वर्ल्ड’ समूह

ललितकला क्षेत्रमा विधागत हिसाबमा कला समूहहरु थुप्रै छन् । कतै विधा, कतै माध्यम त कतै आफ्नै गुटबन्दीका हिसाबले समूहहरु छन् ।

यसरी समूहगत रुपमा जाँदा कुनै पनि गुटमा नभएकाहरु भने अलग्गै बस्नुपर्ने अवस्थालाई कलाकार भट्टराईले भोगेकी छिन् । कतिपय अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुमा समेत यस्ता समूहहरु देखिएपछि सबैलाई एकैठाउँमा ल्याउने उद्देश्यले ‘इन आर्ट वर्ल्ड’को जन्म भएको उनले सुनाइन् ।

उनका अनुसार शुरुमा भारत र बंगलादेशमात्र सहभागी भए पनि पछि उनकै नेतृत्वमा नेपालबाट पनि सहभागिता भएको थियो । शुरुमा यसमा उनी एक्लै सहभागी भएकी थिइन् ।

‘नेपालमा मैले समूह बनाउँछु भन्दा पनि कोही आउनुभएन, सदस्य बनाउन साह्रै गाह्रो भयो, म एक्लै गएर सदस्य बनेँ, उनले जोय नेपालको कुराकानीमा भनिन् ।

महिला नेतृत्व भएकै कारण समूहमा विश्वास नराख्ने परिपाटीप्रति उनले दुःख व्यक्त गरिन् । कला क्षेत्रमा भएको गुटबन्दीले कलाका स्रष्टाहरु माथि उक्लिनुभन्दा तल झर्दै गएको उनको बुझाइ छ ।

कुनै समूह, नातावाद, कृपावादबाट माथि उठेर सबै कलाका स्रष्टाहरु एकजुट भएर एकतामा बाँधिनुपर्ने उनको मत छ ।

आर्ट वर्ल्डको उद्देश्य अनुसार उनले नेपालमै कला ग्यालरीसँगै खाना तथा खाजाको व्यवस्था, आरम गर्ने स्थल र कलासँगै रमाउने वातावरण सिर्जना गर्ने कला हबको सपना बुनेकी छिन् ।

त्यसका लागि चाहिने आर्थिक तथा भौतिक पक्षको अभावले उनको सपना पूरा हुन कठिन छ । स–साना प्रयासहरुले गर्दा कुनै दिन सम्भव होला भन्ने आशामा उनी छिन् ।

नेपालमा कला ट्रेण्ड बदल्ने प्रयास

कला र कलाकार भन्ने बित्तिकै एउटा ग्यालरी, क्यानभास, रङ्ग, कुची या यस्तै यावत् पक्षमात्र बुझिने साँघुरो दायराबाट कला क्षेत्र माथि उठ्नुपर्ने भट्टराई बताउँछिन् । उनलाई नेपालमा हालसम्म भइरहेको कला ट्रेण्ड बदल्नुपर्छ भन्ने लाग्छ ।

सामान्य रुपमा भइरहेका कला प्रदर्शनी, कला सिर्जनाको माहोल र कलाकारहरुबीच सीमित रहेको कला गतिविधिहरुलाई आम जनमानसमा तत्काल पुर्‍याउनुपर्ने अवस्था आएको उनी सुनाउँछिन् । कलाकार र कलाप्रेमीबीच जति घनिष्टता ल्याउन सकियो, त्यति कलाको माहोल सिर्जना गर्न सकिने धुनमा उनी छिन् ।

कलाकार र कलालाई साक्षात्कार गर्न आउने कलाप्रेमीलाई खुशी बनाउनु कला क्षेत्रको धर्मको रुपमा उनी लिन्छिन् ।

‘कलाकार र कला भनेर कलाप्रेमीहरु कोही आउनुहुन्छ भने उहाँहरुलाई खुशी र मनबाट अघाउने पारेर पठाउने हाम्रो पनि कर्तव्य हो,’ उनी भन्छिन् ।

हुन त कला बेचेर नै कलाकार बाँच्ने स्थिति नेपालमा बनिसकेको छैन । एकाध कलाकारहरु बाँचे पनि अधिकांशले अन्य पेसा अपाउनुपर्ने बाध्यता अझै छ । कलालाई व्यवसायसँग जोडेर माथि लैजाने संस्थागत तथा व्यक्तिगत पहल अझै नभएको उनको बुझाइ छ ।

कलालाई केवल सजावट सामग्री मात्र नभएर समाज र जीवनसँग जोड्ने वस्तुका रुपमा कला जगतले नै बुझाउन नसकेको उनको ठम्याइ छ । कला क्षेत्रसँग जोडिने कला लेखक होस् या सञ्चार माध्यमको सम्बन्ध नै दिगो रुपमा नगएको भन्ने उनलाई लाग्छ ।

कलाको विस्तारका लागि लेखन र पत्रकारिताको माध्यम अझै बलियो भएमा कलासँगै  कलाकारको फैलावट हुने उनको तर्क छ ।

उनले भनिन्, ‘हाम्रो कला क्षेत्रमा लेख्ने जति हुनुहुन्छ, उहाँहरुलाई इंगेज गराउन सकिएको छैन, लेख्ने भनेको उहाँहरुको काम मात्र हो भन्ने परिपाटीले कला क्षेत्रले लिइरहेको छ ।’

कला क्षेत्रले लेखनलाई समेत सँगसँगै लिएर जान सकेमा यो व्यवसाय र उद्योगकै रुपमा अगाडि बढ्ने उनको धारणा छ ।

अर्कातिर कला पारखीहरुलाई कला माहोल दिने वातावरण समेत नेपालमा छैन । उनका अनुसार यसले गर्दा एकाध कलाकारहरु मात्र कला क्षेत्रमा अगाडि देखिएका छन् ।

सबै कलाकार एकै ठाउँमा देखिए मात्र आवाज बुलन्द हुने भएकोले सबै एक हुनुपर्ने उनको राय छ । यसका लागि परम्परागत सोचबाट कला क्षेत्र नै माथि उठ्नुपर्ने उनको मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?