मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साहसिक र धार्मिक पर्यटकीय गन्तव्य ‘शिवधारा’,कसरी पुग्न सकिन्छ ? 

काठमाडाैँ– हिमाली जिल्ला संखुवासभाको उत्तरी भूक्षेत्रमा अवस्थित वरुण उपत्यका जैविक विविधताका लागि विश्व प्रसिद्ध भौगोलिक क्षेत्र हो ।

मनोरम प्राकृतिक दृश्य,हिमाली हावापानी र रहनसहनले यो क्षेत्रलाई पर्यटकको रोजाइको गन्तव्य बनाएको छ । यस क्षेत्रमा रहेको वरुण धार्मिक तथा पर्यटकीय स्थल हो भने यही क्षेत्रमा रहेको शिवधारा हिन्दु, किराँत तथा बौद्धमार्गीको आस्थाका कारण अहिले धार्मिक तीर्थस्थल तथा पर्यटकीय गन्तव्य बनेको छ।

मकालु हिमाल जाने बाटोमै भएको शिवधारा धाम एक विशाल पहरामा छ। याङ्ले खर्क अगाडिको भित्ता ढाकेर उभिएका दुई गुफा छन्, जसलाई शिव गुफा र पार्वती गुफा भनिन्छ ।

शिव र पार्वतीले वास गरेको स्थानका रुपमा रहेको यो स्थानमा धार्मिक आस्थाका रूपमा संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ सहितका हिन्दु, किराँत तथा बौद्धमार्गी भक्तजनहरू दर्शनका लागि जाने गरेका छन्।

सदरमुकाम खाँदवारिबाट करिब १ सय किलोमिटर उत्तरी क्षेत्रमा रहेको अवस्थित शिवधारा–४ हजार ६ सय मिटर उचाइमा रहेको छ । शिव गुफा करिब ३० मिटर उचाइ र २० मिटर लम्बाइ तथा चौडाइ रहेको छ ।

गुफाभित्र ३० मिटरको उचाइ पहराको बिचबाट निरन्तर पानीको धारा झरिरहन्छ। त्यस धारालाई शिवजीको जटाबाट पानी गरेको भन्ने धार्मिक विश्वास छ भने चारैतिर घुमिरहेको यही धारामा नुहाएर गुफामा शिवको पूजा गर्ने चलन छ।
 

धारा चारैतिर अविरल घुमिरहने हुँदा नुहाउँदा धर्मात्मा मानिसको जिउँमा मात्र पानीको धारा पर्छ भन्ने विश्वास गरिन्छ।। जनैपूणिमामा खास भिड हुने यो स्थानमा मौसम अनुकूल भएको सामान्य बेला नि आगन्तुकहरूले यात्रा गर्छन् । 

कसरी पुगिन्छ शिवधारा ?

काठमाडौँबाट यात्रा गर्नेहरूका लागि तुम्लिङटारसम्म हवाई या स्थल मार्ग बाट खाँदारीसम्मको यात्रा । दुवैको सुविधा छ । सदरमुकाम खाँदवारिबाट ३८ किलोमिटरको दूरीमा रहेको मकालुको नुम बजारसम्म यातायातको सुविधा उपलब्ध भए पनि त्यहाँबाट थप २ दिनको पैदल यात्रा गर्नुपर्ने हुन्छ ।

मकालुको नुम बजारबाट करिब १ दिन पैदल हिँडेर मकालुकै सेदुवा गाउँमा बास बस्न पुगिन्छ । खान र बस्नका लागि उक्त स्थानमा होम–स्टे र होटलहरूको राम्रो व्यवस्था रहेको छ र त्यहाँबाट भोलिपल्ट सबेरै उठेर उकाली–ओराली हुँदै मकालु हिमालको दृश्यावलोकन गर्दै बेलुकीको बास खुङ्मामा बस्नुपर्ने हुन्छ ।

भोलिपल्ट बिहानको खाना खाने स्थान ठूलो डाँडामा रहेको ठूलो पोखरी पनि पर्यटकका लागि अत्यन्तै आकर्षणको केन्द्रका रूपमा रहेको छ ।

ठूलो पोखरी अवलोकन गर्दै रात्रीको बास शेर्पा संस्कृतिले भरिपूर्ण मानिएको दोबाटे गाउँमा बस्न सकिन्छ । यहाँबाट फेमाताङ हुँदै याङ्ले खर्क भएर यो धाम पुग्न सकिन्छ ।

यो यात्रामा ध्यान दिनुपर्ने विषय के हो  ?

दोबाटेदेखि याङलेखर्कको मध्य भागमा पर्ने ठुलो पहिरोमा पानी पर्नासाथ माथिबाट ढुङ्गा झर्न सुरु गर्दछ। फलतः करिब दुई घण्टा पहिरै पहिरो हिँड्नुपर्ने यो भागमा पानी परेको समयमा यात्रा गर्न अनुचित मानिन्छ। 

मकालु राष्ट्रिय निकुञ्ज र मकालु गाउँपालिकाले ठुलो पहिरो नियन्त्रणको प्रयास गरे पनि सफल नभएको यो भागमा बाटो परिवर्तन गर्न ठाउँसमेत नभएपछि जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?