काठमाडौं- अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी आबद्ध क्लब इन्टर मियामी अहिले विश्व यात्रामा छ । केही समयअघि यस क्लबले पोर्चुगिज स्टार रोनाल्डो आबद्ध साउदी क्लब अल नासेरविरुद्ध खेलेको थियो ।
साउदी अरबमा अल नासेरसँग ६–० को हार व्यहोरेपछि इन्टर मियामी हङकङ पुग्यो । यस क्लबले हङकङमा हङकङ ११ विरुद्ध खेल्ने तय थियो ।
खेलअघि इन्टर मियामीको टिमले त्यहाँ अभ्यास पनि गरेको थियो । इन्टर मियामीको अभ्यासमा मेसीलाई हेर्न हजारौँ समर्थक स्टेडियम पुगेका थिए । तर, खेलमा मेसी मैदानमा उत्रेनन् ।
मेसी मात्रै होइन, उरुग्वेका स्टार खेलाडी लुइस स्वरेज पनि मैदानमा उत्रेनन् । हङकङ ११ विरुद्ध भएको खेलमा मेसी मैदान नउत्रेपछि हङकङका मेसी फ्यान आक्रोशित बनेका छन् ।
हङकङ ११ विरुद्ध आइतबार भएको मैत्रिपूर्ण खेलमा मेसी मैदान नउत्रिएपछि हङकङका हजारौं फुटबल फ्यानहरू क्रुद्ध बनेका हुन् । यस खेलका लागि ४० हजार टिकट बिक्री भएको थियो ।
गत डिसेम्बरमा नै यस खेलका लागि टिकट बेच्न थालिएको थियो । टिकटको मूल्य पनि १ सय १३ देखि ६ सय २४ डलरसम्म तोकिएको थियो ।
तर यस खेलमा मेसी नखेलेपछि मैदान पुगेका फ्यानहरुले आफ्नो टिकटको पैसा फिर्ता गर्नुपर्ने माग गरेका छन् । खेलको अन्त्यतिर फ्यानहरुले हल्लाखल्ला गर्दै आफ्नो टिकटको पैसा फिर्ता गर्न माग गरेका थिए ।
फ्यानको आक्रोशबीच स्पष्टीकरण दिँदै आयोजकले भने मेसी र स्वरेजले नखेल्ने विषयमा आफूलाई पूर्वजानकारी नभएको बताएको छ । यता इन्टर मियामीका प्रशिक्षक जेरार्डो मार्टिनोले भने अन्तिम समयमा मेडिकल स्टाफको सुझावमा मेसी र स्वरेजलाई नखेलाएको जनाएका छन् ।
खेलमा इन्टर मियामीले हङकङ ११ लाई ४–१ ले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया