काठमाडौँ – बङ्गलादेशमा जारी यू–१९ दक्षिण एसियाली महिला साफ च्याम्पियनसिपमा नेपालले भुटानमाथि १–० को कठिन जित निकालेको छ ।
ढाकास्थित बिएसएस रङ्गशालामा भएको खेलमा नेपालको जितका लागि सेनु परियारको गोल निर्णायक बन्यो । योसँगै नेपालले महत्त्वपूर्ण ३ अङ्क जोडेको छ भने जितपछि नेपालको फाइनल सम्भावना जीवित रह्यो ।
नेपाल पहिलो खेलमा आयोजक बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो । यता भुटानको भने हारसँगै फाइनल पुग्ने आशा समाप्त भएको छ । भुटान एक खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।
भुटान पहिलो खेलमा भारतसँग १०–० को फराकिलो अन्तरले पराजित भएको थियो । भारत दोस्रो खेलमा उपाधि दाबेदार बङ्गलादेशसँग १–० ले पराजित भयो ।
प्रतियोगितामा लगातार दोस्रो जित निकालेको बङ्गलादेश ६ अङ्कसहित शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ अङ्क छ ।
अब, फाइनलमा स्थान बनाउन नेपालले समूहको अन्तिम खेलमा भारतलाई हराउनुपर्नेछ । हार र बराबरीले पनि नेपालको सम्भावना सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया