काठमाडौँ- इङ्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा पुगेको छ । गएराति बेल्जियन क्लब बुर्गविरुद्ध ३-१ को जित निकाल्दै सिटीले प्लेअफमा स्थान पक्का गरेको हो ।
च्याम्पियन्स लिगको नयाँ संरचना अनुसार अंक तालिकाको शीर्ष ८ मा रहने टोली सिधै अन्तिम १६ मा प्रवेश गर्छन् । अन्तिम १६ का बाँकी ८ टोलीका लागि अंक तालिकाको नवौंदेखि २४ स्थानमा रहेका टोलीबिच ‘प्लेअफ’ खेल हुन्छ । त्यसको विजेता अन्तिम १६ मा प्रवेश गर्नेछ ।
सिटी अन्तिम खेलअघि अंक तालिकाको २५ औं स्थानमा थियो । प्लेअफको सम्भावनालाई जीवित राख्न सिटीलाई जित आवश्यक थियो । खेलमा सिटी पहिलो हाफमा १-० ले पछि परेको थियो । दोस्रो हाफमा सिटी नतिजा उल्टाउन सफल भयो ।
पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीको गोलमा क्लब बुर्गले खेलमा अग्रता बनाएको थियो । दोस्रो हाफको शुरुवातमा बराबरी गोल गर्दै सिटी खेलमा फर्केको थियो । ५३ औं मिनेटमा मातेओ कोभाचिचले बाराबरी गोल गरे।
६२ औं मिनेटमा साभिन्होको क्रसलाई जोगाउने ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएपछि सिटीले अग्रता लिएको थियो । साभिन्होले ७७ औं मिनेटमा गोल गरेपछि सिटी विजयी भएको थियो ।
८ खेलमा ३ जितसहित ११ अंक बनाएर २२ औं स्थानमा रहँदै सिटी प्लेअफमा पुगेको हो । समान ११ अंक जोडेको क्लब बुर्ग २४ औं स्थानमा रहेर प्ले अफमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया