काठमाडौँ- सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २७ देखि २९ गते सम्म हुने भएको छ । सिद्धार्थनगर नगरपालिकाले प्रतियोगिताका बारेमा शुक्रबार पत्रकार सम्मेलन गरि सबै तयारी पूरा भएको जानकारी गराएको छ ।
सम्मेलनमा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सर्वाङिण विकासलाई लक्षित गरेर प्रतियोगिता गर्न लागिएको बताए । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्य रनिङ शिल्डको रहेको उनले जानकारी दिए ।
प्रतियोगिता सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा, पक्लिहवा कृषी क्याम्पस र वडा नं ५ स्थित भैरहवा नमुना उच्च माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथलेटिक्स, कबड्डी, भलिबल खेल हुनेछन् ।
भलिबल तर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टिमको सहभागिता रहने छ । त्यस्तै कवड्डी तर्फ १३ विद्यालयका छात्रहरुको ११ टिम र छात्राहरुको १० टिमको सहभागिता रहने छ ।
तेक्वान्दो तर्फ १५ विद्यालयका छात्र तर्फ १० र छात्रा तर्फ १२ टिमको सहभागिता रहने छ । एथेलेटिक्स तर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० को सहभागिता रहने छ । प्रतियोगिता अवधिभर ४२ बटा ईभेन्टमा खेल हुने छन् । प्रतियोगितामा कुल २७ विद्यालयका ६५० छात्र र ६३९ छात्रा गरी कुल १ हजार दुई सय ८९ विद्यार्थीहरूको सहभागिता रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया