काठमाडौँ– चलचित्र विकास बोर्डले बक्स अफिस प्रणालीलाई बेवास्ता गर्ने हललाई छानबिन गरी कारबाही गर्ने भएको छ । बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै बक्स अफिस प्रणालीलाई बेवास्ता गरी म्यानुअल टिकट वितरण गरी चलचित्र चलाउने चलचित्र हलहरूलाई छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने जनाउको हो ।
बोर्डले यस्ता गतिविधि आर्थिक ऐन, २०८१, चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ र सो को नियमावली चलचित्र नियमावली, २०५७ मा रहेको प्रावधान विपरीत रहेको स्पष्ट पारेको हो ।
ईजाजतपत्र नवीकरण तथा नयाँ ईजाजतपत्र लिई बक्स अफिस सिस्टम जडान गरी चलचित्र प्रदर्शन गर्ने, गराउने सम्बन्धमा बोर्डबाट यस अघि नै लिखित एवं मौखिक जानकारी गराई कडा सचेतना गराईएको तथ्य स्मरण गराएको बोर्डले जनाएको छ । बोर्डले भनेको छ, ‘तर, ती चलचित्रघरहरूले प्रचलित कानुनको उल्लङ्घन गर्दै लुकिछिपी चलचित्र प्रदर्शन गर्ने र गराउने, बक्स अफिस प्रणालीलाई बेवास्ता गरी म्यानुअल टिकट वितरण गरी आर्थिक ऐन, २०८१, चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ र सो को नियमावली चलचित्र नियमावली, २०५७ मा रहेको प्रावधान विपरीत गतिविधि सञ्चालन गरिरहेको बुझिन आएको छ ।’
बोर्डको तर्फबाट यस प्रकारका गैरकानुनी क्रियाकलापमा संलग्न चलचित्रघरहरुलाई तत्काल छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउने जानकारी गराइएको छ । यस्ता गतिविधि नेपाली चलचित्र क्षेत्रको अनुशासन र विश्वसनीयता कायम राख्न गम्भीर चुनौती भएको बोर्डको भनाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया