मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ: विश्व सम्पदा दिवस

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका सांस्कृतिक तथा प्राकृतिक सम्पदा जोगाउनै मुस्किल

काठमाडौँ– ‘सम्पदाहरुको विरासत कायम राखौँ’ भन्ने नाराका साथ आज विश्वभरि नै विभिन्न कार्यक्रमहरु गरी ‘विश्व सम्पदा दिवस’ मनाइँदैछ ।

विश्वभरि रहेका विभिन्न सम्पदाहरूको संरक्षण र सम्बर्धन गराउने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले हरेक वर्षको अप्रिल १८ तारिखमा दिवस मनाउने गरिएको छ ।

हरेक वर्ष देशभरि नै विभिन्न कार्यक्रमका साथ दिवस मनाइने विश्व सम्पदा दिवस नेपालमा पनि मनाइँदै आएको संस्कृति प्रर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागका सूचना अधिकारी रमेशराज पौडेलले बताए ।

यस वर्ष पनि आफ्नो तर्फबाट विभिन्न सरोकारवाला निकाय तथा संस्थाहरुसँग अन्तर्क्रिया तथा छलफल गरी यो कार्यक्रम मनाइने उनले सुनाए ।

सन् १९८२ मा इन्टरनेशनल काउन्सिल अन मनुमेन्ट एण्ड साइटस (आइकमस) ले अप्रिल १८ लाई ‘विश्व सम्पदा दिवस’का रुपमा स्थापना गर्‍यो ।

जसलाई युनेस्कोले पनि आफ्नो २२ औं साधारण सभाबाट यसलाई दिवसका रुपमा मान्यता दिइएपछि यो दिवस मनाउन शुरु गरिएको हो । 

युनेस्कोको अन्तर्राष्ट्रिय सम्मेलनद्धारा तथा युनेस्कोको कानुनले सुरक्षित गरिएको क्षेत्र विश्व सम्पदा क्षेत्र हुन् । जसमा सांस्कृतिक, ऐतिहासिक, वैज्ञानिक वा अन्य प्रकारका महत्व सहित र मानवताको लागि अमूल्य मानिने क्षेत्रहरु पर्छन् ।

हाल युनेस्कोमा विश्वका १ सय ९४ देश सदस्य छन् । भने युनेस्कोको विश्व सम्पदा सूचीमा हालसम्म विश्वका १ हजार १ सय ५४ स्थानहरु सूचीकृत भएका छन् ।

यसमध्ये नेपालमा १० वटा प्राकृतिक र सांस्कृतिक सम्पदा स्थलहरू विश्व सम्पदा सूचीमा समेटिएका छन् ।

युनेस्कोको विश्व सम्पदा सूचीमा नेपालका सांस्कृतिक सम्पदा अन्तर्गत, काठमाडौँ उपत्यकाभित्रका सात स्मारक क्षेत्र र लुम्बिनी क्षेत्र सँगै प्राकृतिक सम्पदा अन्तर्गत, चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।

यी सम्पदा क्षेत्रको संरक्षणमा भने पछिल्लो समयमा चुनौती देखिएको सरोकारवालाहरुले सुनाउँदै आएका छन् ।

नेपाल सांस्कृतिक र प्राकृतिक विविधताले धनी भएकै कारणले हाम्रा धेरै क्षेत्रहरु युनेस्कोले विश्व सम्पदामा समेटिन पुगेको सूचना अधिकारी पौडेलको भनाइ छ । जोय नेपालसँग कुराकानी गर्दै नेपालका धेरै सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि काम भइरहेको बताए ।

‘नेपालका १५ भन्दा बढी प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा समावेश गराउनका लागि पहल भैरहेको छ, त्यसमध्ये कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर काम भैरहेको छ,’ उनले भने ।

योसँगै भएका सम्पदाको संरक्षण र सम्बर्धनमा पनि निकै चुनौती रहेको उनको भनाइ छ ।

उनले भने, ‘अहिले विकासको नाममा प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुमा हुने अतिक्रमण सम्पदाहरुको जीर्णोद्धारसँगै आम सर्वसाधारणमा जनचेतनाको कमी लगायतका तमाम समस्याहरू मुख्य चुनौतीका रुपमा छन् ।’

नेपाल सरकारको प्रचलित नीति नियम तथा कानुनको अधिनमा रही पुरातत्व विभागसँगै अन्य सरोकारवाला निकायहरुले पनि सम्पदा संरक्षणको क्षेत्रमा काम गरी नै रहेको सूचना अधिकारी उनको भनाइ छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका सांस्कृतिक सम्पदाहरु

सांस्कृतिक सम्पदाको रुपमा काठमाडौं उपत्यकाका सात क्षेत्रलाई काठमाडौँ उपत्यका विश्व सम्पदा स्थलका रुपमा सूचीकृत गरेको थियो ।

यसपछि नेपाल सरकारले उपत्यकाभित्र रहेका यस्ता सम्पदाहरुको प्रभावकारी संरक्षण, तथा संवद्र्धन लागि वि.सं. २०३६ स्वयम्भूनाथ क्षेत्र, तथा वि.सं. २०४१ मा हनुमानढोका दरवारक्षेत्र, पाटन दरवार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर क्षेत्र र बौद्धनाथ स्तुपालाई र वि.सं. २०५५ पशुपतिनाथ क्षेत्रलाई अलग–अलग संरक्षित क्षेत्र भनी घोषणा गर्‍यो ।

काठमाडौँ दरबार क्षेत्र

काठमाडौँ महानगरको मध्यभागमा रहेको काठमाडौँ दरवार क्षेत्रमा महत्वपूर्ण स्मारकमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिव पार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारी घर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप लगायत मुख्य आकर्षणका स्मारक रहेका छन् ।

पाटन दरबार क्षेत्र

कलाको शहरका रूपमा परिचित पाटन दरवार क्षेत्र काठमाडौं उपत्यका सम्पदा क्षेत्रभित्र सूचीकृत गरिएको क्षेत्र हो । पाटन दरबार क्षेत्रमा १६ औँ देखि १८ औँ शताब्दीतिर निर्माण गरिएका स्मारकहरु छन् । मूलचोक, सुन्दरी चोक, मणिकेशवनारायण चोक, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वर लगायतका मुख्य यो क्षेत्रका मुख्य सम्पदाहरु हुन् ।

भक्तपुर दरवार क्षेत्र

गोपालराज वंशावलीमा उल्लेख भएअनुसार राजा आनन्द देवले स्थापना गर्न लगाएको भक्तपुर दरवार क्षेत्र पनि काठमाडौँ सम्पदा क्षेत्रअन्तर्गत सूचीकृत भएको विश्व सम्पदा हो । सिंहद्वार, स्वर्णद्वार, चारधाम, ५५ झ्याले दरवार, तौमडी, न्यातपोल मन्दिर, दत्तात्रेय मन्दिर, पूजारीमठ आदि यस क्षेत्रका मुख्य सम्पदाहरु हुन् ।

पशुपतिनाथको मन्दिर

हिन्दु धर्मालम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर पनि विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्र हो । यहाँ भारत लगायत विश्वका विभिन्न देशबाट दर्शनार्थीहरू दर्शन गर्नका लागि आउने गर्छन् ।

स्वयम्भूनाथ

काठमाडौँ उपत्यकाको पश्चिमतर्फको पद्मकण्ठ गिरि पहाडको थुम्कोमा रहेको प्रसिद्ध बौद्ध मन्दिर स्वयम्भूनाथ पनि काठमाडौँ उपत्यका सम्पदाभित्र सूचीकृत विश्व सम्पदा हो ।

लिच्छवि कालमा निर्माण गरिएको भनिने स्वयम्भू क्षेत्रमा थुप्रै स्तुप रहेका छन् ।

बौद्धनाथ

दक्षिण एसियाकै ठूला स्तूपमध्ये एक मानिने ३६ मिटर अग्लो बौद्धनाथ स्तूप पनि विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हो । मण्डल आकारमा रहेको बौद्धनाथ स्तुपको निर्माण पाँचौं शताब्दीमा भएको विश्वास गरिन्छ ।

चाँगुनारायण मन्दिर

भगवान विष्णुको मन्दिरका रूपमा रहेको चाँगुनारायण पनि विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हो । चाँगुनारायण मन्दिर निर्माणका बारेमा आजसम्म यकिन तथ्य फेला नपरे पनि यो उपत्यकाका पुराना मन्दिर मध्येमा पर्छ ।

लुम्बिनी क्षेत्र

भगवान बुद्धको जन्मस्थलका रुपमा रहेको लुम्बिनी पनि युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्र हो ।

लुम्बिनी क्षेत्रलाई सन् १९९६ मा मात्र विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि युनेस्को विश्व सम्पदा समितिमा अनुरोध गरेकोमा सन् १९९७ मा सूचीकृत भएको थियो ।

लुम्बिनीका प्रमुख सम्पदामा मायादेवी मन्दिर, अशोक स्तम्भ, शाक्य पुष्करिणी तलाउ आदि पर्छन् । यहाँ विभिन्न मित्रराष्ट्रले बौद्ध स्तूपा निर्माण गरेका छन् ।

विश्व सम्पदा सूचीमा सुचीकृत नेपालका प्राकृतिक सम्पदा

चितवन राष्ट्रिय निकुञ्ज

चितवन, मकवानपुर, पर्सा र नवलपरासी गरि नेपालका ४ जिल्लाका केही भू–भागहरूमा फैलिएको यो विश्व सम्पदा सूचीमा सूचीकृत तथा नेपालको पहिलो राष्ट्रिय निकुञ्ज पनि हो ।

यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।

यसै गरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गीजस्ता प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा यो निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज

पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जलाई सन् १९७९ मा विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यहाँ ६,००० मिटर भन्दा अग्ला सातवटा हिमश्रुङ्खलाहरु रहेका छन् ।

यस निकुञ्जभित्र रहेका केही तालहरुलाई सन २००७ मा रामसार सूचीमा समेत समावेश गरिएको छ ।

उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा विभिन्न किसिमका रुख, धेरै प्रकारका वन्यजन्तुसँगै १ सय ९३ प्रजातिका चराहरू पनि पाइन्छन् । यो क्षेत्र सांस्कृतिक महत्वको क्षेत्र पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?