मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

काठमाडौँ- अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहर व्यवस्थापन गरेका हुन् ।

कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर व्यवस्थापन गरिएको कार्यक्रमको अगुवाइ गरेका एसई प्रोडक्सनका सञ्चालक सुरेन गुरुङले जानकारी दिए । गत कात्तिक २७ गते आधार शिविर पुगेको टोलीले सङ्कलन गरेर ल्याएको तीन बोरा सिसाजन्य फोहर शुक्रबार गाउँपालिकामा बुझाएको थियो ।

मौरिस हर्जोग पदमार्गको हुमखोला, फुतफुते झरना र आधार शिविरमा जानकारी दिने सूचना बोर्ड राखिएको छ । सरसफाइ र सूचना बोर्ड राख्न अन्नपूर्ण गाउँपालिका–७ घराम्दी घर भई हाल बेलायतमा रहेका धनकुमार पाइजाले रु एक लाखभन्दा बढी सहयोग गरेका छन् । “पदमार्ग र आधार शिविरमा प्लास्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहर भएको थियो”, उनले भने, “यहाँको सुन्दरतालाई असर पर्न नदिन कुहिने फोहरलाई खाडलमा गाड्ने र नकुहिनेलाई बोकेर तल झारेका छौँ ।”

रेखा मेमोरियल ट्रष्टको सहयोगमा फुतफुते झरना र आधार शिविरमा दुई थान डस्टबिन पनि राखिएको गुरुङले जानकारी दिए । यसअघि पाइजाको सहयोगमा घराम्दीको पेरीभारानी युवा क्लबको १९ जनाको टोलीले गत असोजको तेस्रो साता र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडासदस्य श्याम पुर्जाको अगुवाइमा कात्तिक पहिलो हप्ता सरसफाइ गरिएको थियो ।

अष्ट्रेलियामा रहेकी रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?