मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह

वासिङ्टन डिसी – उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा  हाल संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा  रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले आज कमर्सका प्रतिनिधिहरुसंग भएको राउण्डटेवल बैठकमा उक्त आग्रह गरेका हुन् ।

नेपालमा अन्य मुलुकको तुलनामा लगानीकर्ताको लागि सस्तो र गुणस्तरीय सूचना प्रविधि सम्बद्ध जनशक्ति उपलब्ध रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले कानुनी र प्रक्रियागत सुधार गरी लगानीको वातावरण तयार गरिएकाले सो को लाभ उठाउन अमेरिकी व्यावसायिलाई आग्रह गरे ।

सूचना प्रवधिको क्षेत्रमा एक डलरमै कम्पनी स्थापना गर्न सक्ने र पांच वर्षसम्म आयकरमा पचास प्रतिशत छुट दिने सरकारको नीति बारे जानकारी दिँदै उपप्रधानमन्त्री पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी बढाउन आग्रह गरे ।

कार्यक्रममा युएस चेम्बर अफ कमर्स दक्षिण एसिया उपक्षेत्रका वरिष्ठ उपाध्यक्ष अतुल केशपले दर्जनौँ अमेरिकी कम्पनी नेपालमा लगानी गर्न चासो र उत्सुक रहेको बताएका थिए । उनले हालै नेपाल सरकारले गरेको लगानीसँग सम्बन्धित दर्जन हाराहारी कानुनको सुधार एवं परिमार्जन, सार्वभौम क्रेडिट रेटिङ र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठनले व्यावसायिक वातावरण बनाउनमा योगदान गरेको उल्लेख गर्दै नेपालले गरेको सुधार प्रयासको प्रशंसा पनि गरेका थिए । 

यसैबीच आजै उपप्रधानमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उप प्रबन्ध निर्देशक बो लिको भेटवार्ता भएको छ। भेटका क्रममा उपप्रधानमन्त्री पौडेलले सहुलियतपूर्ण कर्जा सुविधा, नीतिगत सल्लाह सुझाव र क्षमता विकास लगायतका विभिन्न कार्यक्रम मार्फत नेपालको आर्थिक विकासमा कोषले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा कोषले थप योगदान गर्ने अपेक्षा समेत राखेका थिए । 

भेटका क्रममा उपप्रधानमन्त्री पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता संस्थाको मूल्याङ्कनले नेपालको अर्थतन्त्रमा सुधार भइरहेको देखाएको तथ्य उल्लेख गर्दै आगामी दिनमा कोषका सुझावहरूलाई समेत ध्यानमा राखी आर्थिक सुधारका कार्य अगाडी बढाउने जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?