काठमाडौँ – साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौँमा शुरु हुँदै छ । आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, मालदिभ्स र बङ्गलादेशले यो प्रतियोगितामा भाग लिँदै छन् ।
नेपाल समूह बी मा श्रीलंका, मालदिभ्स र भुटानसँग रहेको छ भने समूह ए मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।
प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबीच हुँदै छ । यो खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि दशरथ रङ्गशालामा हुँदै छ ।
नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दै छ । नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन ।
नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बङ्गलादेशले उपाधि जितेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले २३ सदस्यीय टिमको घोषणा गरेको छ ।
एन्फाले घोषणा गरेको टिम:
गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ ।
डिफेन्डर: गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।
मिडफिल्डर: रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।
फरवार्ड: रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया