मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यानाडामा निराशाजनक प्रदर्शन गर्दै नेपाल, लिग २ मा के होला ?

काठमाडौँ– क्यानाडामा जारी त्रिदेशीय क्रिकेट सिरिजमा नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी सिरिजमा नेपाल र आयोजक क्यानाडासहित ओमनको पनि सहभागिता छ । नेपालले अहिलेसम्म खेलेका दुबै खेलमा पराजय व्यहोरेको छ ।

आफ्नो पहिलो खेलमा नेपाले घरेलु टोली क्यानाडासँग १ सय ३ रनको विशाल अन्तरले पराजित भएको थियो । सोमबार सम्पन्न खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । टस हार्दै ब्याटिङमा उत्रेको क्यानाडाले निधारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५३ रन बनायो ।

क्यानाडाका निकोलस किर्टोनले सर्वाधिक ७३ रन बनाएका थिए । ४४ बलको सामना गरेका उनले ३ चौका र ६ छक्का प्रहार गरे । त्यसैगरी, नवनीत धलिवालले ४८ रन जोडे । नेपालका ललीत राजवंशी र सोमपाल कामीले समान २ विकेट लिए ।

२ सय ५४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको नेपालको ब्याटिङ नै चल्न सकेन । नेपाल ४० ओभर १ बलमा १ सय ५० रनमै समेटियो । नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाए भने सन्दीप लामिछानेले २२ रन जोडे । क्यानाडाका डिलोन हेइलिगरले सर्वाधिक ५ विकेट लिए ।

त्रिदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा पनि नेपालले जित हासिल गर्न सकेन । ओमनविरुद्ध नेपाल १ विकेटको झिनो अन्तरले पराजित हुन पुग्यो । खेलमा ओमनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । शुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए । ७२ बलको सामना गरेका पौडेलले २ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यसैगरी, नेपालका गुलशन झाले ५३ रनको अर्धशतकीय पारी खेले । ओमनले २ सय २१ रनको लक्ष्य खेल सकिन १ बल बाँकी छँदै ९ विकेट गुमाएर भेट्टायो । ओमनका लागि जतिन्दर सिंहले सर्वाधिक ४१ रन बनाए ।

४९ बलको सामना गरका सिंहले ३ चौका र १ छक्का प्रहार गरेका थिए । त्यसैगरी, ओमनका कश्यप प्रजापतिले ३६ रनको योगदान गरे । खेलमा नेपालका गुलशन झा एक्लैले ५ विकेट लिए । यससँगै गुल्शन एउटै एक दिवसीय खेलमा अर्धशतक प्रहार गरी ५ विकेट लिने पहिलो नेपाली खेलाडी समेत बन्न सफल भए ।

अब नेपालले यस सिरिजअन्तर्गत आगामी आइतबार पुनः क्यानाडा र मंगलबार ओमनसँग खेल्दैछ । त्यसबाहेक क्यानाडा भ्रमणका क्रममा नेपाली टोलीले त्रिदेशीय टी–२० सिरिज पनि खेल्ने तालिका छ ।

विश्वकप लिग २ का थप खेल खेल्न नेपालले अक्टोबर महिनाको अन्त्यमा अमेरिका भ्रमण गर्दैछ । अमेरिका भ्रमणका क्रममा नेपालले अमेरिकासहित स्कटल्याण्डसँग त्रिदेशीय एक दिवसीय सिरिज खेल्नेछ ।

यसअघि नेपालले गत फेब्रुअरी महिनामा घरेलु मैदानमा यसै लिगअन्तर्गत नेदरल्याण्ड्स र नामिबियाविरुद्ध त्रिदेशीय सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपालले कुुल ४ खेल खेलेको थियो ।

तीमध्ये नेपालले केबल एक खेलमा जित हासिल गरेको थियो । हालसम्म खेलेका ६ खेलमध्ये केबल एउटा मात्र जित हासिल गरेको नेपालका लागि आगामी दिन थप चुनौतीपूर्ण हुने देखिन्छ ।

लिग २ को अंक तालिकामा ८ टिममध्ये नेपाल केबल २ अंकका साथ सातौँ स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको ८ खेलबाट १२ अंक छ । त्यसैगरी, क्यानाडा, स्कटल्याण्ड, अमेरिका, नामिबिया, ओमन क्रमशः दोस्रो, तेस्रो, चौथो, पाचौँ र छैठौँ स्थानमा रहेका छन् । ४ खेलबाट कुनै अंक जोड्न नसकेको यूएई भने तालिकाको पुछारमा छ ।

जारी लिगमा हरेक टिमले ३६ खेल खेल्नेछन् । यो लिगका शीर्ष ४ टिमले सीधै सन् २०२७ मा आयोजना हुने विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछन् भने पुछारका ४ टिमले प्लेअफ खेल्नुपर्ने छ ।

सन् २०१९ देखि सन् २०२३ सम्म चलेको अघिल्लो चरणको लिगमा नेपाल चौथो हुँदै विश्वकप छनोटमा प्रवेश गरेको थियो । यद्यपि जिम्बाब्वेमा आयोजित विश्वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?