काठमाडौँ– नेवार समुदायमा भोज भतेर खानु कुनै नौलो कुरो होइन । हरेक शुभ कार्य तथा समारोहको मौका पर्ने बित्तिकै आफन्तलाई भेला गरी आर्थिक क्षमता अनुरुपको भोज भतेर गरिन्छ ।
नेवार समुदायले आफन्तलाई मात्रै नभई भ्यागुतोलाई पनि भोज खुवाउने गर्छन् । हरेक वर्षको गुन्हुपून्हि अर्थात् जनैपूर्णिमाको दिन यस समुदायले भ्यागुतोलाई भोज खुवाउने प्रचलन रहेको छ ।
हरेक वर्षको साउन शुक्ल पूर्णिमाको दिन नेवार समुदायमा बिहानै नुवाइधुवाई गरी पकाएका खानेकुराहरु भ्यागुतोलाई खुवाउने प्रचलन रहेको छ । उनीहरुले लप्ते वा पातमा क्वाँटी, रोटी, भात, चिउरा लगायतको परिकार राखेर खेतको डिलमा लगेर चढाउने गर्छन् । जुन भ्यागुतो आएर खान्छन् भन्ने मान्यता रहेको छ ।
विशेष गरी खेतमा पानी खोल्नको लागि बनाइएको समाहमा राखेर पुजाआजा गरी भ्यागुतोलाई सो परिकार चढाउने परम्परा रहेको छ । आफ्नो खेत भएको सबै स्थानमा गएर सो चढाउनु पर्ने बताउँछन्, भक्तपुरकी सीता सुवाल । यसरी चढाएको खानेकुरा आफूहरु खेतबाट फर्केपछि भ्यागुतो आएर खाने मान्यता रहेको उनी सुनाउँछिन् । उनका अनुसार भ्यागुतोको लागि मुलाको चानालाई सिन्काले घोचेर राख्ने, ऐना, काइँयो लगायतका सामग्री समेत राख्ने प्रचलन छ ।
साउन शुक्ल पूर्णिमाको दिन खेतका भ्यागुतोलाई नखुवाएसम्म आफूहरुले खान नहुने मान्यता रहेको भक्तपुरको श्यामकृष्ण श्रेष्ठ बताउँछन् । खेतमा चढाइसकेपछि मात्रै आफूहरुले खान हुने उनी सुनाउँछन् ।
रोपाइँको समयमा भ्यागुतो कराएपछि पानी पर्ने भएकोले वर्षा गराउने दूत तथा प्राकृतिक देवताको रुपमा लिएर पुजाआजा गर्ने र भोज गर्ने प्रचलन रहेको उनले सुनाए ।
संस्कृतविद् ओम धौँभडेलका अनुसार भ्यागुतो भनेको गुणकारी प्राणी भएकोले नेवार समुदायमा भोज खुवाउने प्रचलन रहेको सुनाउँछन् । उनका अनुसार यो दिन नेवार समुदायको यो चाड ठूलो हो, जुन साउन शुक्ल पूर्णिमाको दिन मनाइने गरिन्छ ।
भ्यागुतोलाई प्राकृतिक देवताको रुपमा मानेर पनि पूजाआजासहित भोज खुवाउने प्रचलन रहेको उनले जोय नेपाललाई सुनाए ।
‘गोठेमंगल पर्वदेखि नै लामखुट्टे लगायत किरा फट्याग्राले दुःख दिएको हुन्छ । बालीनाली बिगार्नुको साथै रोग व्याधी ल्याएको हुन्छ,’ उनले भने, ‘यस्ता किरा फट्याङ्ग्राहरु, बालीनालीलाई बिगार्ने तथा रोगव्याधी ल्याउने किरालाई खाने काम भ्यागुतोले गर्छ ।’
रोपाइँको क्रममा खेत खन्ने, जोत्ने लगायतको काम गर्दा भ्यागुताको फूल, शरीर लगायतमा असर पर्ने तथा केही भ्यागुतो मर्ने भएकाले प्रायश्चित स्वरुप गुण तिर्नको लागि भोज खुवाउनु पर्ने मान्यता रहेको उनी सुनाउँछन् । जसलाई नेपाल भाषामा ‘व्यान्चा नकेगु’ भन्ने गरिने उनको भनाइ छ ।
यस्तै गरी गुरुकुलको शिक्षा भ्यागुतोबाट मान्छेहरुले सिकेको भन्ने मान्यता रहेको छ । ‘एउटा भ्याउतो करायो भने अन्य पनि सँगसँगै कराउने मान्यता रहेको छ,’ उनी भन्छन्, ‘यसैगरी शिक्षकले ‘क’ भनेपछि विद्यार्थीले पनि उच्चारण गर्दै आएको पाइन्छ । जुन भ्यागुतोबाट सिकेको भन्ने मान्यता रहेको छ ।’
यसरी भ्यागुतोलाई पूजा गर्दा भ्यागुतो फूल, भ्यागुतको ऐना, भ्यागुतो पात, ऐना देखाउनका लागि मूलालाई सिन्काले घोचेर चढाउने, क्वाँटी, भात रोटी खुवाउने परम्परा रहेको छ । क्वाँटीमा मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाइएको हुन्छ ।
खेतीपाती गर्ने व्यक्तिले खेतको डिलमा गएर भ्यागुतोलाई चढाउने र खेत नभएकाले नभएका व्यक्तिले पानी हुने ठाउँ जस्तै खोला, पोखरीलगायत क्षेत्रमा गएर पूजा गर्ने उनको भनाइ छ ।
मल्लकालका तत्कालीन राजाहरुले यो सम्बन्धी गीतहरु लेखेको पाइन्छ ।
‘भ्यागुतोलाई किन भात खुवाउने भन्ने विषयमा गीत लेखेको छ,’ उनले भने, ‘यस्ता प्रमाणका आधारमा पनि परापूर्वक कालदेखि चल्दै आएको संस्कृतिको रुपमा लिन सकिन्छ ।’
जनैपूर्णिमा एकैदिन सबै समुदायले मनाउने भए पनि शैली फरक रहेको उनी बताउँछन् । उनका अनुसार यस दिन तागाधारीहरुले मन्त्रसहित जनै फेर्ने गर्छन् । यसैगरी बाहुन, क्षेत्री र अन्य समुदायमा दाजुभाइलाई राखी बाध्ने र डोरो बाँध्ने प्रचलन रहेको उनी सुनाउँछन् ।
तर, नेवार समुदायले पछिल्लो समय डोरो बाँध्ने र राखी बाँध्न थालेको छ । जसलाई आयातित संस्कृतिको रुपमा लिन सकिने उनको मत छ ।
यस दिन भक्तपुरको महादेव पोखरी, कालदह लगायतका पोखरीमा मेला लाग्ने गर्दछ । यसैगरी गोसाईकुण्ड, पाँचपोखरीलगायतको क्षेत्रमा पनि मेला लाग्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया