काठमाडौँ – घरेलु मैदानमा भएको टि–ट्वान्टी खेलमा श्रीलंका भारतसंग ४३ रनले पराजित भएको छ । श्रीलंकाको पाल्लिखेमा शनिबार राति भएको खेलमा पाहुना टोलीले भारतले जित निकालेको हो ।
भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय ७० रन मात्र बनायो। श्रीलङ्काका लागि ओपनर पथुम निशंकाले सर्वाधिक ७९ रन बनाए भने अर्का ओपनर कुशल मेन्डिसले ४५ रन बनाए।
यसका लागि निशंकाले ४८ बलमा ७ चौका र ४ छक्का तथा मेन्डिसले २७ बलमा ७ चौका र १ छक्काको प्रहार गरेका थिए । पहिलो विकेटका लागि निशंका र मेन्डिसले ८४ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए पनि लगातार विकेट गुमाउँदा श्रीलंकाले हार टार्न सकेन।
कुशल परेराले २०, कमान्डु मेन्डिसले १२ र मथिशा पथिरानाले ६ रन जोडे । भारतका लागि रियान परागले ३, अर्शदिप सिंह र अक्षर पटेलले समान २ तथा मोहम्मद सिराज र रवि बिष्नोईले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो। भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ५८ रन बनाए। उनले २६ बलमा ८ चौका र २ छक्का प्रहार गरे।
रिषभ पन्तले ३३ बलमा ४९ रन बनाउँदा ओपनर यशस्वी जैसवालले २१ बलमा ४० रन बनाए । शुभमन गिलले ३४, अक्षर पटेलले अविजित १० तथा हार्दिक पान्ड्याले ९ रन बनाए।
श्रीलंकाका लागि मथिशा पथिरानाले ४ ओभरमा ४० रन खर्चिएर ४ विकेट लिए । दिल्शान मधुशंका, आसिथा फर्नान्डो र वानिन्दु हसरंगाले समान १ विकेट लिए। दोस्रो टी ट्वान्टी आज हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया