काठमाडौँ– जर्मनीमा जारी युरोकपको सेमिफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलको पछिल्लो खेलमा नेदरल्याण्ड्सले टर्किएलाई २–१ गोल अन्तरले पारजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
क्वार्टरफाइनलका अन्य खेलहरुमा इङ्ग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी शुटआउटमा पराजित गरेको थियो । त्यसैगरी, फ्रान्सले पोर्चुगललाई पनि पेनाल्टी शुटआउटमा हराएको थियो भने स्पेनले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
यससँगै युरोकपको सेमिफाइनलमा स्पेन र फ्रान्स तथा नेदरल्याण्ड्स र इङ्ग्ल्याण्ड भिड्ने भएका छन् । स्पेन समूह बीको विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको थियो । समूह चरणमा स्पेनले इटाली, क्रोएशिया र अल्बानियालाई पराजित गरेको थियो । त्यसैगरी, राउण्ड अफ १६ मा स्पेनले जर्जियालाई पाखा लगाएको थियो ।
उता फ्रान्स भने समूह डीको उपविजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको थियो । समूह चरणमा फ्रान्सले अस्ट्रियालाई पराजित गरेको थियो भने नेदरल्याण्ड्स रर पोल्याण्डसँग बराबरी खेलेको थियो । नक आउटमा भने फ्रान्सले बेल्जियमलाई हराएको थियो ।
स्पेन र फ्रान्सबीचको खेल नेपाली समयअनुसार आगामी बुधबार सबेरै पौने १ बजे शुरु हुनेछ । यो खेल जर्मनीको म्युनिखमा रहेको आलियान्ज एरिनामा आयोजना हुनेछ ।
त्यसैगरी सेमिफाइनल पुगेको अर्को टोली नेदरल्याण्ड्स भने समूह डीमा तेस्रो भएको टोली हो । समूह चरणमा नेदरल्याण्ड्सले पोल्याण्डलाई पराजित गरेको थियो भने अस्ट्रियासँग पराजित भएको थियो । फ्रान्ससँग भने नेदरल्याण्ड्सले गोलरहित बराबरी खेलेको थियो । राउण्ड अफ १६ मा नेदरल्याण्ड्सले रोमानियालाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।
उता, इङ्ग्ल्याण्ड भने समूह सीको शीर्ष स्थानमा रहेको टिम हो । समूह चरणमा उसले सर्बियालाई पराजित गरेको थियो भने डेनमार्क र स्लोभिनियासँग बराबरी खेलेको थियो । राउण्ड अफ १६ मा इङ्ग्ल्याण्डले स्लोभाकियालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
नेदरल्याण्ड्स र इङ्ग्ल्याण्डबीचको खेल नेपाली समयअनुसार बिहीबार सबेरै पौने १ बजे शुरु हुनेछ । यो खेल ड्रटमण्डमा रहेको सिग्नल इडुना पार्कमा आयोजना हुँदैछ ।
दुबै सेमिफाइनलका विजेताबीच आगामी जुलाई १५ का दिन सबेरै पौने १ बजे बर्लिनमा रहेको ओलम्पियास्टाडियोनमा फाइनल खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया