मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

अनुहारको चाउरीपन हटाउने बोटोक्स विधि के हो ?

मानिसलाई सुन्दर र जवान देखिन मन लाग्छ । मानिसको अनुहारले धेरैलाई आकर्षित गर्ने भएकाले कतिपयले सुन्दर देखिन विभिन्न उपायहरू अपनाइरहेका हुन्छन् ।

उमेर बढ्दै जाँदा अनुहारमा चाउरीपन आउने कारणले यसले धेरैलाई समस्या पारेको हुन्छ । यो एक प्राकृतिक समस्या पनि हो । तर, कतिपयमा भने उमेर नपुग्दै चाउरीपनको समस्या देखिने गर्छ । पछिल्लो समय आम मानिसहरु अनुहारको चाउरीपना हटाउन अनेक उपायहरूको खोजी गर्न थालेका छन् ।

पछिल्लो समयका पुस्ताहरुले अनुहारको चाउरीपन हटाउन बोटोक्स विधिको प्रयोग गर्न थालेका छन् । के बोटोक्स विधिले अनुहारको चाउरीपना सबै हटाउँछ ? यसको उपचार विधि, खर्च, उपचार पक्रियाका सम्बन्धमा रिजेनरेटिभ एस्थेटिक मेडिसिन प्रोभिन्डर डा. शारदा काफ्ले त्रिपाठीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

अनुहारमा उमेर अगावै चाउरीपना आउनुको कारण के हो ?

अनुहारमा चाउरीपना आउनुको कारण भनेको मुख्य त हाम्रो खानपान नै हो । हामीले समयमा खाना खाएर, समयमै सुत्यौं भने उमेर अगावै चाउरीपना आउने समस्याबाट केही हदसम्म राहत मिल्छ । अर्को मुख्य कुरा भनेको स्ट्रेस लिनुभएन । तपार्इं धेरै स्ट्रेस (तनाव) लिनुहुन्छ भने चाउरीपनाको समस्या छिटो देखिने सम्भावना रहन्छ । साथै छिर्टै चाउरीपन देखिने समस्या जिन अर्थात् वंशाणुगत कुरामा पनि भर पर्छ । अर्को कुरा भनेको तपाईं आफ्नो स्किन हेरचाह कत्तिको गर्नुहुन्छ भन्नाले पनि तपार्इंको चाउरीपनामा प्रभाव पार्छ ।

उमेर अगावै आएको चाउरीपन रोक्ने बोटोक्स विधि के हो ?

बोटक्स तपाईंको अनुहारको चाउरीपना हटाउने कस्मेटिक उपचार पद्धति हो । बोटक्स छाला सम्बन्धि गरिने एक किसिमको उपचार नै हो । बोटोक्स एक प्रकारको सुई हो । यसले अनुहारमा भएका रेखाहरू ल्याउने मांसपेशीलाई आराम दिने काम गर्छ । बोटोक्स छालामा मात्र नभई छालाभित्रको मासुमा लगाइन्छ । बोटोक्स एउटा साधारण शल्यक्रियारहित प्रक्रिया हो । छाला रोग विशेषज्ञले औषधीको प्रयोग गरी आँखीभौं बीच, आँखा वरिपरि र निधारको छालामा आउने चाउरीपनालाई हटाउने काम गर्छ । यो बोटोक्स विधि तपार्इंले जति छिटो कम चाउरीपन हुँदै गर्नुभयो त्यति नै प्रभावकारी र सुलभ हुन्छ ।

यसले कसरी काम गर्छ ? 

उमेर बढ्दै जाँदा अनुहारमा रेखाहरु देखा पर्न थाल्छन् । त्यसमा पनि महिलाहरुको छाला बढी नरम हुने भएकाले पनि यो समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । यसले लगाएको तीन दिनदेखि सात दिनभित्र नै काम गर्न शुरु गर्ने र बिस्तारै चाउरीपना हराउँदै जाने भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको छ । तुरुन्त रिजल्ट चाहिनेलाई भने सबैभन्दा बढी प्रभावकारी बोटक्स विधि नै हो ।

बोटोक्सको असर कति लामो समयसम्म रहन्छ ?

बोटक्स एक किसिमको केमिकल हो । यसले रेखाहरु खुम्चाउने वा चलाउने मांसपेशीलाई आराम दिने काम गर्छ । त्यसैले बोटक्स लगाएको भागको छाला खुम्चिन पाउँदैन । जसले गर्दा लाइन वा रिंकल बस्न पाउँदैन । कुन भागमा बोटक्स लगाउने हो, त्यसको सही पोइन्ट पत्ता लगाएर इन्जेक्सन दिइन्छ । लगाएको ४ देखि ६ महिनासम्म यसको असर रहिरहन्छ ।

बोटोक्सको प्रयोग गर्ने उपयुक्त उमेर कति हो ?

बोटक्स जुनसुकै उमेरमा पनि लगाउन सकिन्छ । तर विशेष गरी उमेरसँगै आउने चाउरीपना हटाउनका लागि यसको प्रयोग हुने हुँदा ३० वर्ष पछि नै लगाउने चलन बढी छ । तर १८ वर्ष पुगेकाले यो बोटक्स लगाउन मिल्छ । अहिले नेपालका साथै विदेशमा बस्नेहरु नेपाल आउँदा यो उपचार गरेर जाने धेरै छन् । बोटक्स बाहिर निकै महङ्गो पर्ने भएकाले पनि बाहिर जानेहरुले यहाँ गरेर जान्छन् ।

एकपटक बोटोक्स गरेपछि कतिसमयसम्म यसले काम गर्छ ? कति समयको अन्तरालमा लगाइरहनुपर्छ ?

बोटक्सको असर ६ महिनापछि बिस्तारै कम हुँदै जान्छ । त्यसैले यो ६ महिनामा पुनः लगाउँदा राम्रो हुन्छ । यो पनि तपार्इंको अनुहारमा कतिको चाउरीपना छ भन्ने कुराले म्याटर गर्छ । थोरैमात्र चाउरीपना भर्खर शुरु भएको अवस्थामा हो भने सामान्यतया ५/६ महिनामा एकपटक अर्थात् वर्षमा दुईपटक बोटोक्स गर्दा हुन्छ । तर चाउरीपना धेरै मात्रामा छ भने सोही अनुरुप इन्जेकसन दिनुपर्ने हुन्छ ।

यस्तो विधि कुन उमेर समूहदेखिका व्यक्तिहरुले प्रयोग गरिरहेका छन् ?

मेरो उपचार अनुभवमा भन्नुपर्दा १८ वर्ष कटेका व्यक्तिहरुदेखि ८९ उमेरसमूहका व्यक्तिहरु सम्मले बोटोक्स गर्न आउनुभएको छ । वास्तवमा यसको उमेर हद छैन । राम्रो र जवान देखिन चाहने जो–कोहीलाई मनपर्छ । तर १८ पनि नकटेका बालबालिकाहरुले भने यो प्रयोग गर्न मिल्दैन । १८ वर्ष उमेर कटेका जो–कोहीले पनि बोटोक्स गर्न मिल्छ ।

यो शरीरको कुन–कुन भागमा लगाउन मिल्छ ?

यो विधिले निधारको रेखी, आँखा वरपर, नाकको चाउरी, डण्डिफोरका मसिना दाग, चिउँडो स्लिम बनाउन र घाँटीको चाउरी लगायत विभिन्न मेडिकल उपचारमा पनि यसको प्रयोग हुन्छ । यो चाउरीपनाका लागि मात्र प्रयोग नभएर माइग्रेनजस्तो टाउको दुखाइ, अत्यधिक पसिना आउने, हत्केला, काखी पैतलाबाट पसिना आउने, आँखा झिम्क्याउने रोगका लागि पनि बोटक्सको प्रयोग गरिन्छ ।

यसमा कति खर्च लाग्छ ?

लागतको कुरा गर्नुपर्दा तपाईंको अनुहारमा कत्तिको चाउरीपना छ त्यहि अनुरुप खर्च लाग्छ । सामान्यतया १० हजारदेखि एक लाख रुपैयाँसम्म पनि लाग्ने हुन्छ ।

यसका के–कस्ता जटिलताहरु छन् ?

हरेक कुराको सकारात्मक पाटो र साइड इफेक्टहरु हुन्छन् । यस्तै बोटोक्स पनि एक टक्सिन हो । सबैलाई सुट नहुनपनि सक्छ । रुघा लागेजस्तो, टाउको दुख्ने जस्ता इरिटेसन कहिलेकाहीँ हुनसक्छ । कहिलेकाहीँ नसाहरुमा पर्‍यो भने ब्लडहरु आउन पनि सक्छ ।

अन्त्यमा, के सुझाव दिन चाहनुहुन्छ ?

आफ्नौ छालाको समयमै ख्याल गर्नुभयो भने बुढ्यौलीपन चाउरीपनाको समस्याबाट धेर–थोर राहत मिल्छ । घाममा हिँड्दा सधै सन ग्लास सनस्क्रिन लगाएर हिँड्ने गर्नुपर्छ । टन्न पानी खाएर हाइड्रेट रहने प्रयास गर्नुहोस् । ब्यालेन्स डाइट शरीरलाई चाहिने पोषक तत्वयुक्त खानेकुराहरु खानुहोस् जसले अनुहारमा चमक ल्याउन सहयोग गर्छ । घर बस्दा वा राती सुत्नुभन्दा अगाडी मोस्चराइजर, भ्यासलिन लगाउने गर्नुहोस् । मुख्यकुरा तपाईंको सुन्दरता भनेकै तपाईंको आत्मविश्वास हो । यसकारण अनुहारको सुन्दरताको अझ धेरै ख्याल गर्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?