काठमाडौँ– दक्षिण अफ्रिकालाई हराउँदै भारतले यसपालीको टी २० विश्वकपको उपाधि उचालेको छ । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनायो ।
भारतका लागि विराट कोहलीले ७६ रन बनाए । ५९ बलको सामना गरेका उनले ६ चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी, अक्षर पटेलले ४७ र शिवम दुबेले २७ रन बनाए । दक्षिण अफ्रिकाका लागि एनरिख नोर्क्या र केशव महाराजले समान दुई विकेट लिए ।
वेस्ट इण्डिजको बार्बाडोसमा रहेको केन्सिङ्टन ओभलमा १ सय ७७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै केबल १ सय ६९ रनमात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि हेनरिख क्लासनले सर्वाधिक ५२ रन बनाए । २७ बलको सामना गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे । त्यसैगरी, दक्षिण अफ्रिकाका क्विन्टन डिककले ३९ र त्रिस्तान स्टब्सले ३१ रन जोडे । भारतका लागि हार्दिक पाण्ड्याले तीन विकेट लिए भने अर्शिदीप सिंह र जसप्रित बुमराहले समान दुई विकेट लिए ।
यससँगै भारतले दोस्रो पटक टी २० विश्वकपको उपाधि उचाल्यो । त्यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा आयोजित टी २० विश्वकपको उपाधि जितेको थियो । त्यसैगरी, सन् २०११ मा एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेयता भारतले पहिलो पटक आईसीसीले आयोजना गरेको विश्वकपको उपाधि जितेको हो ।
भारतले एउटा पनि खेल नहारी यो प्रतियोगिता जितेको हो । यो प्रतियोगिताभर भारतले ८ वटा खेल खेल्दा ७ मा जित र एक खेल वर्षाका कारण रद्द भएको थियो ।
भारतले समूह चरणमा आयरल्याण्ड, पाकिस्तान र अमेरिकालाई पराजित गरेको थियो भने क्यानाडासँगको खेल वर्षाका कारण रद्द भएको थियो । सुपर ८ मा भारतले अफगानिस्तान, अस्ट्रेलिया र बंगलादेशलाई पराजित गरेको थियो । सेमिफाइनलमा भने भाारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो ।
इतिहासमै पहिलो पटक विश्वकप टी २० को फाइनलमा पुगेको दक्षिण अफ्रिकाको पहिलो पटक उपाधि चुम्ने सपना तुहियो । बारम्बार अभागी टिमको ‘ट्याग’ लाग्दै आएको दक्षिण अफ्रिकाको भाग्य यस पटक पनि चम्किएन ।
भारतले विश्वकप जितेसँगै भारतका कप्तान रोहित शर्मा र स्टार ब्याटर विराट कोहलीले टी २० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २०११ मा भारतले एक दिवसीय विश्वकपको उपाधि जित्दा कोहली पनि भारतीय टिमका सदस्य थिए भने सन् २००७ मा टी २० विश्वकपको उपाधि जित्दा रोहित शर्मा पनि टिममा परेका थिए ।
‘हाम्रा लागि आईसीसीले आयोजना गरेको प्रतियोगिताको उपाधि जित्न हामीलाई धेरै समय कुर्नुपर्यो । यो मेरो लागि मात्रै होइन, रोहित शर्मालाई नै हेर्नुहोस् न, उसले ९ वटा टी २० विश्वकप खेलेको छ । मैले छ वटामात्रै खेलेको छु ।’ खेलपछि पत्रकार सम्मेलनमा विराट कोहलीले भने ।
विराट कोहलीजस्तै, रोहित शर्माले पनि विश्वकपको फाइनल आफ्नो लागि पनि अन्तिम खेल भएको बताए । ‘अब मैले यो शैलीको क्रिकेटलाई विदा गर्ने समय भयो । मैले शुरुमा यही शैलीको क्रिकेटबाट भारतीय टिममा खेल्न शुरु गरेको थिएँ । मलाई यही चाहिएको थियो, म यही कप जित्न चाहन्थेँ । यो धेरै भावुक समय हो ।’ रोहित शर्माले भने ।
भारतका कप्तान रोहित शर्माले यो प्रतियोगितामा दोस्रो सबैभन्दा धेरै रन बनाए । ८ इनिङ ब्याटिङ गरेका उनले कुल २ सय ५७ रन बनाए । यस प्रतियोगितामा सबैभन्दा धेरै रन भने अफगानिस्ताका रहमनुल्लाह गुर्बजले बनाए ।
८ इनिङ ब्याटिङ गरेका उनले २ सय ८१ रन बनाएका थिए । त्यसैगरी, अस्ट्रेलियाका बायाँहाते ब्याटर ट्राभिस हेडले तेस्रो सबैभन्दा धेरै रन जोड्न सफल भए । ७ इनिङमा उनले २ सय ५५ रन जोड्न सफल भए ।
भारतका अर्शिदीप सिंह र अफगानिस्तानका फजलहक फरुकीले समान १७ विकेट लिँदै प्रतियोगिताको सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा पर्न सफल भए । भारतकै तीव्र गतिका बलर जसप्रित बुमराहले १५ विकेट लिए ।
आफ्नो टिमले उपाधि जितेकोमा भारतीय समर्थकमात्र नभएर प्रधानमन्त्री नरेन्द्र मोदी पनि प्रसन्न भएका छन् । आइतबार भारतीय टिमलाई टेलिफोन सम्पर्क गरी प्रधानमन्त्री मोदीले बधाइ दिएका हुन् । उनले रोहित शर्माको कप्तानीको सह्राना गर्दै प्रशिक्षक राहुल द्रविडप्रति पनि आभार व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया