मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि

काठमाडौँ – १७ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधी भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले टी–२० विश्वकप २०२४ को उपाधि जितेको हो ।

यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । दक्षिण अफ्रिकाले भने पहिलो पटक विश्वकपको उपाधि चुम्ने मौका गुमाएको छ ।

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ मात्र रन बनाउन सक्यो ।

उसलाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएकोमा त्यसलाई प्राप्त गर्न सकेनन् । सूर्यकुमार यादवले २१ रन बनाएका डेविड मिलरको उत्कृष्ट क्याच लिएपछि भारतीय जितको आधार तयार भएको थियो ।

त्यस्तै हेनरिक क्लासेनले अर्धशतक प्रहार गरेपनि त्यसले पनि हार टार्न सकेन । २७ बलको सामना गरेका उनले २ चौका र ५ छक्कासहित ५२ रन बनाए । उनलाई १७ औं ओभरको पहिलो बलमा हार्दिक पाण्ड्याले ऋषभ पन्तको हातबाट क्याच आउट गराएका थिए ।

त्यस्तै क्विन्टन डे ककले ३९ रनको योगदान दिए । ३१ बल खेलेका उनले ४ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै ट्रिस्टन स्टब्सले २१ बलमा ३ चौका र एक छक्कासहित ३१ रन बनाए ।

भारतका लागि हार्दिक पाण्ड्यले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनले २० रन खर्चिए । त्यस्तै जसप्रित बुमराह र अर्शदीप सिंहले दुईदुई विकेट लिँदा अक्षर पटेलको नाममा एकविकेट रह्यो ।

यसअघि केन्सिङ्टन ओभल बार्बाडोस स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै अक्षर पटेलले ३१ बलमा ४ छक्का र १ चौकासहित ४७ रन बनाए । शिवम दुवेले १६ बलमा २७ रन बनाउँदा हार्दिक पाण्ड्या ५ रनमा नटआउट रहे ।

भारतले खेलको दोस्रो ओभरमा नै दुई विकेट गुमाएको थियो । ओपनिङ गर्न आएका कप्तान रोहित शर्मा ५ बलमा दुई चौकासहित ९ रन बनाएर आउट भए । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ भने दुई बलमा रनको खाता नै नखोली आउट भएका थिए ।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले दुई-दुई विकेट लिए । ३।२ ओभर बलिङ गरेको एन्रिचले २० रन खर्चिए, भने चार ओभर बलिङ गरेका महाराजले ४९ रन खर्चिए । त्यस्तै कागिसो रवाडा र मार्को जेन्सेनको नाममा एकरएक विकेट रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?