मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईसीसी विश्वकप टी २०

टी २० विश्वकपको फाइनलमा वर्षाको सम्भावना, ‘रिजर्भ डे’ मा पनि आँधीको डर; खेल नभए के होला ?

काठमाडौं- आईसीसी टी २० विश्वकपको फाइनल खेलमा आज भारत र दक्षिण अफ्रिका भिड्दैछन् । वेस्ट इण्डिजको बार्बाडोसस्थित ब्रिजटाउनमा रहेको केन्सिङटन ओभलमा हुने खेल नेपाली समयअनुसार सवा ८ बजे शुरु हुनेछ ।

फाइनलमा भिड्न लागेका दुबै टोलीले यो प्रतियोगितामा एउटा पनि खेल हारेका छैनन् । दुबै टिमले सात खेल खेल्दा दक्षिण अफ्रिकाले सबै खेल जितेको छ भने भारतले ६ खेल जितेको छ र उसको एउटा खेल वर्षाका कारण रद्द हुन पुगेको थियो ।

फाइनलमा पुग्न दक्षिण आफ्रिकाले समूह चरणमा नेदरल्याण्ड्स, श्रीलंका, बंगलादेश र नेपाललाई पराजित गरेको थियो । नेपालसँगको खेलमा दक्षिण अफ्रिका केबल १ रनले विजयी भएको थियो ।

सुपर ८ मा दक्षिण अफ्रिकाले वेस्ट इण्डिज, अमेरिका र इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । सेमिफाइनलमा भने दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो ।

भारतले भने समूह चरणमा आयरल्याण्ड, पाकिस्तान र अमेरिकालाई पराजित गरेको थियो भने क्यानाडासँगको खेल वर्षाका कारण रद्द भएको थियो । सुपर ८ मा भारतले अफगानिस्तान, अस्ट्रेलिया र बंगलादेशलाई पराजित गरेको थियो । सेमिफाइनलमा भने भाारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो ।

टी २० विश्वकपको फाइनलमा यी दुई टिम पहिलो पटक भिड्न लागेका हुन् । यसअघि सन् २०१३ को टी २० विश्वकपको सेमिफाइनलमा दुई टिमको भेट भएको थियो, जुन खेल भारतले ६ विकेटले जितेको थियो । दक्षिण अफ्रिका विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो ।

सन् १९९८ मा च्याम्पियन्स ट्रफीको उपाधि उचालेको दक्षिण अफ्रिका आईसीसीले आयोजना गरेको कुनै पनि विश्वकपको फाइनलमा पुग्न सकेको छैन । दक्षिण अफ्रिका सन् २००९ र २०१४ को टी २० विश्वकपको सेमिफाइनलबाटै घर फर्केको थियो ।

भारतले पनि सन् २०१४ पछि पहिलो पटक टी २० विश्वकपको फाइनलमा पुगेको हो । सन् २०१४ मा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा आयोजित टी २० विश्वकपको उपाधि उचालेको थियो । त्यसबेला भारतले फाइनलमा पाकिस्तानलाई ५ रनले पराजित गरेको थियो ।

फाइनल खेल हुने बेला वर्षा हुने चिन्ता पनि उत्तिकै रहेको छ । अल जजीराका अनुसार शनिबार बार्बाडोजमा छिटफुट वर्षा र मेघ गर्जनको सम्भावना छ । आइतबार भने समुद्री आँधी नै आउनसक्ने भन्दै त्यहाँको मौसम सेवाले चेतावनी नै जारी गरेको छ ।

ईएसपीएन क्रिकइन्फोका अनुसार यो खेलको नतिजा आउन दुबै टिमले कम्तीमा १० ओभर खेल्नुपर्नेछ । यदी त्यसो हुन नसकेको खण्डमा आइतबार ‘रिजर्भ डे’ राखिएको छ । शनिबार खेल बीचैमा अवरुद्ध भएको खण्डमा आइतबारका दिन जहाँबाट खेल अवरुद्ध भएको हो, त्यहीँबाट पुनः सुचारु हुनेछ ।

शनिबार वर्षा र आइतबार आँधीको सम्भावना देखिएकाले क्रिकेट फ्यानमाझ रिजर्भ डेमा पनि नतिजा नआउने हो कि भन्ने चिन्ता छ । फाइनलको नतिजा नै नआएको खण्डमा भने दुबै टिमलाई संयुक्त विजेताको उपाधि दिइने छ ।

रोहित शर्माको कप्तानीमा रहेको भारत र आइडन मर्क्रमको कप्तानीमा रहेको दक्षिण अफ्रिका दुबै टिमलाई यसपालीको विश्वकप जितेर इतिहास रच्ने ठूलो चुनौति रहेको छ ।

भारतीय टिममा कप्तान रोहित शर्मासँगै उपकप्तान हार्दिक पाण्ड्या, अर्शदिप सिंह, जसप्रित बुमराह, युजवेन्द्र चहल, शिवम दुबे, रवीन्द्र जडेजा, यशस्वी जयसवाल अटाएका छन् । त्यस्तै, विराट कोहली, कुलदीप यादव, कुलदीप यादव, मोहम्मद शिराज, ऋषव पन्त, अक्षर पटेल, सञ्जु सामसन, र सूर्यकुमार यादव पनि भारतीय टिममा समेटिएका छन् ।

दक्षिण अफ्रिकी टिममा भने कप्तन मर्क्रमसहित ओटनिल बार्टमान, जेराल्र्ड कोट्जी, क्विन्टन डीकक, ब्योर्न फार्टुइन, रिजा हेण्ड्रिक्स, मार्को जानसेन अटाएका छन् । त्यसैगरी दक्षिण अप्रिकी टिममा हाइनरिख क्लासन, केशव महाराज, डेभिड मिलर, एनरिख नोक्र्या, कागिसो रबाडा, रायन रिकेल्टन, ताब्रिज शाम्सी र त्रिस्तान स्टब्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?