काठमाडौँ – जारी टी–२० विश्वकपको सुपर ८ अन्तर्गत अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि क्रिकेट जगत तरंगित बनेको छ ।
शानदार जित हासिल गरेपछि अफगानिस्तानका कप्तान राशिद खानले यो जित आफुहरुको लागि अहिलेसम्मको ठुलो जित भएको टिप्पणी गरेका छन् ।
उनले खेलपछि भने, ‘यो टोली र देशका रूपमा ठूलो जित हो । हामीले पछिल्लो दुई वर्षमा यस्तो जितलाई धेरै पटक गुमायौं । हामी २०२२ र २०२३ को विश्वकपमा केहि रनले जितबाट बन्चित भयौं ।’ कप्तान राशिदले यस खेलमा खेलाडीको खेलप्रति आफुलाई गर्व रहेको बताए ।
उनले भने, ‘हामीले उत्कृष्ट प्रदर्शन गरेका छौं । हामीले यस खेलका लागि १४० रनको राम्रो स्कोर हो भन्ने सोचेका थियौं, तर हामीले चाहेको जस्तो इनिङ्स पूरा गर्न सकेनौं । यो यस्तो विकेट हो जहाँ तपाइँ कहिलेकाहीं संघर्ष गर्नुहुनेछ र हामीले अन्त्यमा संघर्ष गर्यौं ।’
उनले यस खेलमा सबैभन्दा महत्त्वपूर्ण ओपनरहरूले राम्रो सुरुवात दिएको बताए । अस्ट्रेलिया विरुद्ध अफगानिस्तानका ओपनर रह्मतुल्लाह गुरबाज र इब्राहिम जद्रानले ११८ रनको साझेदारी गरेका थिए । उनले आफुहरु यस खेलमा १३० भन्दा माथिको जुनसुकै स्कोरलाई सजिलै रक्षा गर्न सक्षम हुनेमा विश्वस्त रहेको बताए । उनले भने, ‘हाम्रो लागि यो सुरुवात मात्र हो, अगाडि ठूलो खेल छ । र हामी सेमिफाइनल पुग्ने पूरा आशा राख्छौं ।’
विश्वकपको सुपर आठमा अब अफगानिस्तानले मंगलबार बिहान बंगलादेशको सामना गर्दै छ । सो खेलमा जित हासिल गरेमा अफगानिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना बढी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया