काठमाडौँ – बंगलादेशसँग २१ रनले पराजित हुँदै नेपालले आईसीसी विश्वकप टी २० को अन्त्य गरेको छ ।
अन्तिम खेलमा बंगलादेशले दिएको १ सय ७ रनको झिनो लक्ष्य भेट्टाउन नसक्दा नेपालले हारको मुख देख्नुपर्यो । यो खेल हार्नुको कारण फेरि पनि नेपालको कमजोर ब्याटिङ नै रह्यो ।
सेन्ट भिन्सेन्ट एण्ड द ग्रानेडिन्सको किङ्ग्सटाउनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले १९ ओभर ३ बलमा अल आउट हुँदै १ सय ६ रन बनायो ।
नेपालका कप्तान रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान दुई विकेट लिएपछि बंगलादेश सस्तैमा समेटियो । यससँगै सन्दिपले आफ्नो टी २० अन्तर्राष्ट्रिय करिअरको १०० औँ विकेट लिन सफल भए ।
बंगलादेशका एक जना पनि ब्याटरले २० रनसम्म बनाउन सकेनन् । बंगलादेशका भेट्रान खेलाडी शकिब अल हसनले सर्वाधिक १७ रन बनाए । त्यसैगरी, रिशद होसेन र महमदुल्लाहले समान १३ रन जोडे । तस्किन अहमदले नट आउट १२ र जाकेर अलिले पनि समान १२ रन बनाए ।
१ सय ७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको नेपाल ८५ रनमै समेटियो । नेपालका लागि कुशल मल्लले ४० बलमा २७ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २५ रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरे । बंगलादेशका तन्जिम हसन शकिब एक्लैले ४ विकेट लिए । त्यस्तै, मुस्तफिजुर रहमानले ३ र शकिब अल हसनले दुई विकेट लिए ।
यो खेलको नतिजासँगै बंगालदेश प्रतियोगिताको सुपर ८ मा पुगेको छ । नेपाल यो खेलअघि नै विश्वकपबाट बाहिरिसकेको थियो । नेपाल र बंगलादेशसँगै समूह डीमा रहेको दक्षिण अफ्रिका पनि सुपर ८ मा पुगेको छ । यो समूहबाट नेपालसँगै श्रीलंका र नेदरल्याण्ड्स पनि समूह चरणबाटै बाहिरिए ।
यो प्रतियोगितामा नेपालले एउटा पनि खेल जित्न सकेन । पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको श्रीलंकाविरुद्ध नेपालको दोस्रो खेल भने वर्षाका कारण अवरुद्ध भएको थियो ।
तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले हार व्यहोरेको नेपाल अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया